हिमालको पानी बेचेर आम्दानी बढाउन जापानको सुझाव



नेपाल समाचारपत्र, काठमाडौं
नेपालको पानी विदेश निर्यात गरेर आम्दानी बढाउन जापानले नेपाललाई सुझाव दिएको छ । हिमाली भेगको पानीलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सके नेपालले राम्रो आम्दानी गर्न सक्ने जापानी टोलीले सुझाएको हो ।

जापानको सत्तारुढ दल डेमोक्रेटिक पार्टीका नेता, सांसद र व्यवसायी सम्मिलित प्रतिनिधिमण्डलका सदस्यहरुले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग यस्तो प्रस्ताव गरेका हुन् । ‘विश्वभर पानीको संकट आउने निश्चित छ, यस्तो अवस्थामा नेपालको हिमालय क्षेत्रमा भएको पर्याप्त पानी निर्यात गर्न सकिन्छ’–टोलीका सदस्य एवं जापानी पूर्वसांसद माचुदाले भन्नुभयो ।

जवाफमा मन्त्री बस्नेतले पानीको महत्व बुझेर सरकारले खानेपानी मन्त्रालय बताएको जानकारी गराउँदै अन्य संभाव्य पक्षबारे अध्ययन भइरहेको बताउनुभयो । बढ्दो सहरीकरणसँगै फोहोर मैला व्यवस्थापन जटिल र चुनौतीपूर्ण बनेकाले दीर्घकालिन समाधानका लागि जापानी विधीबारे नेपालले चासो लिएको उहाँले अवगत गराउनुभयो ।

वन क्षेत्रलाई आर्थिक विकासको माध्यम बनाएर मुलुकका सबै स्थानीय तहमा वनमा आधारित उद्योग स्थापना गर्ने तयारी भएको बस्नेतले जापानी टोलीलाई बताउनु भएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

विश्वव्यापी रुपमा बढ्दो वातावरणीय प्रदूषण गराउन नेपालको भूमिका ज्यादै न्यून भएपनि प्रभावित मुलुकको अग्र सूचिमा नेपाल आएकाले अन्तर्राष्ट्रिय समुदायलाई यस विषयमा ध्यानाकर्षण गराउने मन्त्री बस्नेतको भनाई छ ।

जापानी प्रतिनिधिमण्डलका टोली नेता एवं जापानी डेमोक्रेटिक पार्टीका नेता यसुहिरो नाकाइले नेपालको फोहोर व्यवस्थापनमा सहयोग गर्न आफ्नो सरकार तयार रहेको बताउनु भएको थियो । यस्तै पूर्वसांसद गो सिनोहराले वातावरण प्रदूषण नेपालको मात्र नभई विश्वकै साझा समस्या भएकाले यो समस्या समाधान गर्न सबै मुलुक वीच हातेमाले औल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्