न्यायपुर्ण ढंगले सरकार संचालन गर्न कांग्रेसको माग



भक्तपुर, (नेस)। नेपाली कांग्रेस जिल्ला कार्य समिति भक्तपुरले सरकारलाई विसंगतीपूर्ण क्रियाकलाप यथाशीघ्र बन्द गरी जनताको अभिमत बमोजिम न्यायपुर्ण किसिमले सरकार संचालन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

जिल्ला प्रशासन कार्यालय, भक्तपुर मार्फत नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयलाई आज ज्ञापन पत्र बुझाउँदै नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले बर्तमान सरकार संचालनको छ महिना यता मुलुक झन् झन् जर जर बन्दै गइरहेको बताउनुभयो ।

उहाँले अहिले हत्या हिंसा बलात्कारले प्रशय पाईरहेको र शान्ति सुरक्षा दिनानु दिन कमजोर भईरहेको भन्दै न्यायालयमाथि समेत नाङ्गो हस्तक्षेप भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो–बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा न्यायलायको गरीमा र मर्यादालाई कमजोर बनाउने ,नागरिकका हक र अधिकारहरmलाई कुण्ठित पार्ने र प्रेस स्वतन्त्रता माथि धावा बोल्दै पत्रकारहरुलाई धरपकड गर्ने काम शुरु भएको छ ,यस विषयहरु प्रति हामी गम्भिर भएकाले तत्काल सरकारलाई सच्याउन ध्यानाकर्षण गराउँदछौ ।’

 

नेपाली काँग्रेस जिल्ला कार्य समितिका सभापति थापाले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट मार्फत सरकारलाई बुझाईएको ज्ञापन पत्रमा कम्युनिष्ट गठवन्धनकोे दुइ तिहाई सहितको ओली सरकारले छ महिनाको अवधि पुरा गर्दा जनतामा चरम निराशा र बेथिति उत्पन्न भएको र सरकार वहुलठ्ठीपन र हावादारी पाराले चलेको उल्लेख गरिएको छ ।

जनताको अभिमत बमोजिम वाच डगको रुपमा रहेको जिम्मेवार प्रमूख प्रतिपक्षी दल नेपाली काँग्रेस विसंगतिपूर्ण यस्तो अवस्थालाई टुलु–टुलु हेरेर बस्न नसक्ने भन्दै वर्तमान सर्वसत्तावादी सोचमा रहेका प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई अभिलम्व विसंगतीपूर्ण क्रियाकलापहरुलाई यथाशिघ्र बन्द गरी जनताको अभिमत बमोजिम सरकार संचालन गर्न नेपाली काँग्रेस जिल्ला कार्य समिति भक्तपुरले ध्यानाकर्षण गराएको छ ।

कञ्चनपुरको निर्मला पन्त बलात्कार तथा हत्या काण्डमा सरकार अत्यन्तै गैर जिम्मेवार ढङ्गले प्रस्तुत भएको बताउँदै सभापति थापाले पन्त बलात्कार तथा हत्याकाण्डको दोषी पत्ता लगाई कारवाही गर्नुको सट्टा घटनाका प्रमाणहरु नष्ट गरी सरकार सकेसम्म छल–छाम गरेर वास्तविक दोषिलाई उन्मुक्ति दिने प्रयासमा लागेकोले काँग्रेसले सरकारलाई ध्यानाकर्षण गराएको बताउनुभयो ।

जनजीविका सँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुमा संस्थागत भ्रष्टाचार बढेको तथा चरम महगीं, कालो बजारी तथा शान्ति सु–व्यवस्था कायम गर्ने विषयमा सरकार नराम्रो सँग चुकेको ज्ञापनपत्रमा उल्लेख छ ।ज्ञापनपत्रमा पटक–पटक पेट्रोलियम पदार्थ तथा ग्यासमा गरिएको मूल्य वृद्धिले गरीव तथा निमुखा जनताको ढाड सेक्ने काम भएकोले कांग्रेसले मुल्य बृद्घितत्काल फिर्ता लिन सरकार संग जोडदार माग गर्दछ भनिएको छ ।

सिण्डीकेट हटाउने नाउँमा यातायात क्षेत्रलाई अस्तव्यस्त बनाइएको भन्दै दशैं , तिहार तथा छठ लगायतका पर्वहरmको मूखमा यात्रुहरुलाई समस्यामा पार्ने काम भैरहेको र यातायात व्यबसायी सँग सरकारका मन्त्रीहरु दलाली तथा मोलमोलाई गरिरहेको कांग्रेसले आरोप लगाएको छ ।सभापति थापाद्धारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ,‘निर्धारित समयमानै कार्य सम्पादन गर्न नसक्ने आयोजनाका ठेकेदारहरुलाई कारवाही गर्नुको सट्टा उल्टै राजनैतीक संरक्षण दिइएको प्रति नेपाली काँग्रेस भक्तपुरको गम्भीर आपत्ती रहेकोले सरकारको ध्यानाकर्षण गराउँदछौं ।’

सो अवसरमा शाखाका उपसभापति हरिप्रसाद नेपाल,सचिब उद्धब सिलवाल,पुर्व सभापति लगायत कांग्रेसका अधिकांश जिल्ला नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भट्टले ज्ञापन पत्र सरकारसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस अघि दुधपाटीबाट सुरु भएको कांग्रेसको करिब ५ सय नेता कार्यकर्ता सहितको बिरोध र्याली बिभिन्न नारा सहित नगरका बिभिन्न भाग परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्