बस दुर्घटनामा २ को मृत्यु, २३ घाइते



सोम दियाली, सर्लाही
सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–२ मा बस दुर्घटना हुदाँ दुई जनाको घट्नास्थलमै मृत्यु भएको छ, भने २३ जना घाइते भएका छन ।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा ईश्वरपुर नगरपालिका–९ का नथुनी राय यादव र सोही ठाउँकी १९ वर्षीया अन्जु साह रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मलंगवाबाट ईश्वरपुरका लागि छुटेको ना२ख ८००३ नम्बरको बस ब्रहम्पुरी–२ महादेव पोखरी नजिक अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बसको पट्टा भाँचिएर दुर्घटना भएको अनुमान गरिएको छ । पट्टा भाँचिदा यात्रुले बस रोक्न भन्दा चालकले बस नरोकेपछि दुर्घटना भएको घाइते भएका मनोज साहले बताए । ‘भनेको समयमा बस रोकेको भए दुर्घटना हुने थिएन, घाइते साहले विष्फोटलाई भने– ‘चालकको लापरबाहीले दुर्घटना भयो ।’ मृतक दुबै जनाको शव सर्लाही अस्पताल मलंगवामा राखिएको छ ।

घाईते हुनेहरुमा इश्वरपुर नगरपालिका–११ की उर्मिला देवी, सोही ठाउँकी शान्ति देवी, चन्द्रनगर गाउँपालिका–२वाजुल लहेरी, ब्रह्म्पुरी गाउँपालिका मोहनपुरका सलिमा खातुन, ईश्वरपुर नगरपालिका–९ की देवकी साह, ब्रह्म्पुरी गाउँपालिका मोहनपुरका जुलेखा खातुन, चन्द्रनगर गाउँपालिकाकी जलेसिया बैठा, हरिपुर नगरपालिकाकी जनजलिया मण्डल, ब्रह्म्पुरीका रबिया खातुन, ईश्वरपुर न.पा रामनगरकी उर्मिला साह, अंशु कुमारी मिश्र, निभा ठाकुर, अमिता हजाम रहेका छन ।

घाइतेहरुको उपचार सर्लाही अस्पतालमा भइरहेको छ, भने केहीको मलंगवाका निजी अस्पतालमा उपचार भइरहेको घाईतेका आफन्तहरुले जानकारी दिएको छ । यस अघि हिजै हरिपुर नगरपालिका ६ लक्ष्मीपुर कोद्राहामा पनि यात्रुवाहक वसले किचेर हरिपुर ५ निवासी वर्ष ४८ का अवास मन्सुरको पनि मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्