विद्यालय परिसरमै कुटिएका शिक्षक बेपत्ता



धनवीर दाहाल, रुकुम
रुकुम पुर्वका एक शिक्षक बेपत्ता भएका छन् । गत साउन ३१ गते कुटपिट पछि घाइते बनाइएका शिक्षकको फोटो सार्वजनिक गरिएको छ तर उनी हाल सम्म बेपत्ता भएको परिवारले जनाएको छ । रुकुम पुर्वको पुथा उत्तरगंगा गाँउपालिका २ आधारभुत बिद्यालय पेल्मा मैकोेटमा अध्यापन गराइरहेका शिक्षक मखन के.सी बेपत्ता भएपछि परिवारमा रुवाबासी चलेको छ ।

खोजी गरिदिन प्रशासन तथा अन्य सरोकारवालाहरुलाई परिवारले आग्रह गरेका छन् । के.सीका दार्ई मोहन बहादुरले दाईलाई कुटपिट गरी बेपत्ता पारिएको बताए । गत साउन ३१ गते उनलाई कुटपिट पछि स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागी ल्याइएको बेला खिचिएको फोटो सार्वजनिक भएपनि हाल उनको अवस्था अज्ञात छ ।

उनका दाई मोहनबहादुरले भने “गत ३१ गते कुटपिट गरि भदौ १२ गते देखि बेपत्ता पारीएको घटनाले हाम्रो परिवारलाई मर्माहत बनाएको छ । सम्बन्धीत स्थानीय सरकार र बिद्यालयले हामीलाई वास्तविक बताउनुपर्छ ।” “२४ बर्ष सोहि बिद्यालयमा अध्यापनरत शिक्षक माथि मर्नासन्न हुनेगरी कुटिँदा र बेपत्ता पारिँदा सम्म वडा सरकार र बिद्यालयको उदासिनता मौनता किन ? तुरुन्त घटनाको छानबिन गरि अपराधिहरुलाई कार्बाहिको माग गर्दछु ” उनले भने ।

रुकुम पुर्वको सिस्ने गाँउपालिका ६ स्थायी घर भई पुथाउत्तरगंगा गाँउपालिकाको आधारभुत विद्यालय पेल्मा मैकोटमा कार्यरत मखन के.सीलाई बिद्यालय परिसरमा गत साउन ३१ गते कुटपिट गरिएको र भदौ १२ गतेदेखी बेपत्ता भएको परिवारको दावी छ । घटना घटेको यति समय बित्दा समेत स्थानिय प्रशासनले तदारुकता नदेखाएकोमा परिवारको दुखेसो छ ।

प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बेपत्ता शिक्षकको खोजी कार्य तिब्र बनाइएको बताए । उनले “भने हामी शिक्षक मखनको खोजी कार्यलाई तिब्र रुपमा गरिरहेका छौं । उहाँलाई कुटपिट गरेको भन्नेबारेमा पनि अनुसन्धान भइरहेको छ ।” शिक्षक मखनलाई कुटपिट गर्दा समेत बिद्यालय परिवार मुखदर्शक बनेको प्रति परिवारको आक्रोश छ ।

प्रतिक्रिया दिनुहोस्