किन चलेन सीसीटीभी, थपियो सुरक्षा चुनौती



शालिकराम चालिसे, नुवाकोट
नुवाकोटको सदरमुकाम विदुर बजार आसपासमा झण्डै ३ वर्षअघि जडान गरिएका सिसी क्यामरा प्रयोगविहीन भएका हुन् । सीसी टीभी क्यामेराले काम गर्न छाडेसँगै जिल्लाको सदरमुकाम आसपास क्षेत्रमा सुरक्षा चुनौती समेत बढेको सरोकारवालाहरु बताउँछन ।

शान्तिसुरक्षा कायम गराउन,चोरीलगायत आपराधिक क्रियाकलाप नियन्त्रण गर्न, दुर्घटना न्यूनीकरण गर्न र दुर्घटना भएमा संलग्नलाई नियन्त्रणमा लिएर कारबाही गर्न सहज बनाउने उदेश्यले क्यामेरा जडान गरिएको थियो । तर सिसी क्यामरा प्रयोगविहीन भएपछि अहिले कुनैपनि घटना घटेमा संलग्नलाई पक्राउ गर्न कठिनाई भएको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक बसन्त कुवरले बताउनुभयो ।

उहाँले सिसिटिभी जडान गर्न स्थानियको घरबाट पावर सप्लाई गर्नुपर्ने भएकोले त्यहाँबाट समस्या उत्पन्न भएको बताउनुभयो । सदरमुकामका मुख्य बजार मानिने गंगटे, बट्टार, विदुर, ढुङ्गे र त्रिशूलीमा जडान गरिएका २५ थान सिसी क्यामरामध्ये २० प्रयोगविहीन भएका छन ।

नुवाकोट उद्योग वाणिज्य संघको पहलमा ३ वर्षअघि वर्षअघि जडान गरिएका ५ बटा क्यामराले मात्र अहिले काम गरिरहेको छ । सदरमुकाम आसपास क्षेत्रको सुरक्षा संवेदनशीलासँग जोडिएको सिसिटीभी नचल्नुमा विद्युत्त आपुर्ति गरिएको घरबाट ग्राहक पैसा लिन नआउनु मुख्य समस्या देखिएको नुवाकोट उद्योग वाणिज्य संघकी कोषाध्यक्ष गीता अमात्यले बताउनुभयो ।

संघकी कोषाध्यक्ष अमात्यले सिसिटिभी निर्माणका लागि बैंक, सहकारी र ईट्टा व्यवसायीबाट सहयोग रकम आइसकेको भन्दै अहिले बिग्रीएको सिसिटिभी निर्माणको अन्तिम चरणमा पुगेको बताउनुभयो । बिग्रीएको सिसिटिभी क्यामरा बनाउन जडानकर्ता काठमाण्डौबाट कम्प्युटर एसोसियसन नेपाल (क्यान) को अनुगमन टोलीले अनुगमन गरेर गइसकेको अमात्यले बताउनुभयो । अमात्यका अनुसार अहिले प्रयोगविहिन भएको सिसिटिभी निर्माणको जिम्मा लिडर अल सोलुसनलाई दिईएको छ ।

स्थानीयले विद्युत् जडान गर्न नदिँदा क्यामेरा नबिग्रीए पनि संचालन भने हुन सकेको छैन । स्तानीयबासीलाई विद्युत्त पैसा लिन बारम्बार बोलाउँदा समेत नआएको अहिले सिसिटीभी निर्माणको जिम्मा पाएको लिडर अल सोलुसनका प्रोपाइटर लिडर श्रेष्ठले बताए ।

बिग्रीएको सिसिटीभीलाई मर्मत तथा आवश्यक व्यवस्थापन गरी विदुर नगरपालिकालाई स्वामित्व हस्तान्तरण गर्ने तयारी नुवाकोट उद्योग वाणिज्य संघले जनाएको छ । बिग्रीएको सिसिटिभी मर्मत गर्न ६ लाख ३५ हजार रुपैयाँ लाग्ने बताइएको छ । विदुर नगरपालिका भने बिग्रीएको सिसिटीभीमर्मतको लागि भने त्यति जिम्मेवार देखिएको छैन । नगरपालिका अहिले कार्यलय सरेर डिभीजन सहकारीको भवनमा सर्ने तयारीमा रहेकोले सिसिटीभी जडान कार्यपालिकाको कार्यलय सरेपछि गर्ने विदुर नगरपालिकाले जनाएको छ ।

करिव ३ वर्षअघि सिसी क्यामरा जडानका लागि एउटा निजी कम्पनीसँग ३२ लाख रुपैैयाँको सम्झौतामा सिसिसटभी जडान भएको थियो । तर त्यस समयमा पनि निर्माणकर्ता कम्पनीलाई समयमा नै पैसा भुत्तानी नगर्दा बारम्बार सिसिटिभी संचालनमा आउन सकेको छैन । जिल्ला समन्वय समिति, विदुर नगरपालिका, बैंक तथा वित्तीय संस्थासँग समन्वय नहुँदा सुरक्षा व्यवस्थापनका लागि भरपर्दो माध्यम बनेका सिसी क्यामरा प्रयोगमा नआएको स्थानीय बताउँछन ।

क्यामरा सञ्चालन गर्न विद्युतको व्यवस्था गर्नुपर्ने, रातका समयमा सडक प्रस्टसँग देखिने गरी थप बत्तीको व्यवस्था गरी नगर क्षेत्रको सुरक्षा व्यवस्था मजबुत बनाउन सबै सरोकार राख्ने पक्ष जिम्मेवार हुनुपर्ने प्रहरी प्रमुख कुँवरको भनाइ छ ।

मुख्य चोक र बढी संवेदनशील क्षेत्रकै क्यामेरा बिग्रिएपछि प्रहरीलाई आपराधिक गतिविधी नियन्त्रणमा असहज भएको प्रहरीको भनाई छ’ । उद्योग वाणिज्य संघको पहलमा क्यामरा जडान भए पनि सबैले अपनत्व नलिँदा सिसिटिभी क्यामरामा गरिएको लागानी खेर जाने संभावना बढेको छ ।

जडान गरिएको सिसिटीभीको क्यामेराले काम नगर्दा केही महिना अघि विदुर नगरपालिकाको कार्यलयमा तोडफोड गर्नेको समेत पहिचान हुन सकेको थिएन । जसले गर्दा दोषीले उन्मुत्ति पाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्