पूर्ण सरसफाइसम्बन्धी रणनीतिक कार्ययोजना सार्वजनिक गरिने



नेपाल समाचारपत्र, भक्तपुर
जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति भक्तपुरले आगामी असोज ५ गते भक्तपुरको ‘पूर्ण सरसफाई सम्बन्धी जिल्लाको रणनीतिक कार्ययोजना २०७५’ सार्वजनिक गर्ने निर्णय गरेको छ । असोज ५ गते एक बिशेष कार्यक्रमको आयोजना गरि जिल्लाको रणनीतिक कार्ययोजना सार्वजनिक गरिने भएको हो ।समितिको बैठकले सो निर्णय गरेको हो ।

रणनीति सार्वजनिक गर्नका लागि खानेपानी तथा सरसफाई डिभीजन कार्यालयका प्रमुख शिबेन्द्र झाको नेतृत्वमा तयारी समिति गठन गरिएको छ ।
कार्ययोजनाले ‘कला संस्कृति र बिश्व सम्पदाले भरिपुर्ण ,भक्तपुर हाम्रो चिनारी,सफा र स्वच्छ जिल्ला बनाउने ,हाम्रो साझा जिम्मेवारी ’भन्ने नारा समेत तय गरेको छ । कार्ययोजनाले जिल्लामा रहेको स्रोतहरुको एकिकृत परिचालन गरी ५ बर्षभित्र यो अभियानलाई मुर्त रुप दिने परिकल्पना गरेको युन ह्याबिट्याटका भक्तपुर संयोजक पार्वती दंगालले बताउनुभयो ।

भक्तपुर जिल्ला यस अघि नै खुल्ला दिसा मुक्त घोषणा भैसकेको छ । अभियान अन्तर्गत हनुमन्ते सरसफाई अभियान सुरु भैसकेको छ भने जिल्ला तह हुँदै नगर ,वडा र टोलटोलमा समेत खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति गठन भै सरसफाईका काम समेत सुरु भईरहेका छन् ।

यसैबीच विश्व सरसफाइ दिवसका अवसरमा आईतबारबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ । ‘नेपाल स्वच्छ वातावरण महाअभियान २०७५’ भन्ने नाराका साथ समितले जिल्लाका भक्तपुर,मध्यपुरथिमि,सुर्यबिनायक र चाँगुनारायण ४ वटै नगरपालिकासँग समन्वय गर्दै सप्ताहव्यापी सरसफाइ अभियान सुरु गरेको जनाएको छ ।

वन तथा वातावरण मन्त्रालयको कार्यतालिका अनुसार समितिले सप्ताहव्यापी सरसफाइ अभियान थाल्ने निर्णय गरेको थियो ।सोमबार शैक्षिक संस्था, मङ्गलबार सार्वजनिक संस्था तथा पार्क, बुधबार धार्मिकस्थल, बिहीबार नदीनाला तथा जलाशय, शुक्रबार सहायक सडक र शनिबार मुख्य सडक क्षेत्र सरसफाइ गरी दिवस मनाईएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले सो अभियान अन्तर्गत साताव्यापी कार्यक्रम गरिएको र यसमा जिल्लामा रहेका सरकारी कार्यालय,विभिन्न सङ्घ, संस्था, टोल विकास संस्था, क्लब, सरसफाइ क्षेत्रमा क्रियाशील सङ्घ संस्था, आमा समूह र आम नागरिक समाज सहभागी भएको बताउनुभयो ।

सरसफाई सम्बन्धी अभियान र रणनीतिक कार्ययोजना कार्यान्वयन गरि सफल पार्न जिल्लाका चारवटै नगरपालिकाको महत्वपूर्ण भूमिका रहने बताउँदै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले स्थानीय जनताको सहयोग र आवश्यकता अनुसार कार्ययोजनालाई ढाल्नुपर्ने बताउँदै नमुनाका रुपमा वडा वडामा यो अभियान सुरु गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्