‘प्रकाण्ड’ फेरि समातिए, सर्वोच्च छोड्छ, प्रहरी पक्रन्छ



काठमाडौं, (नेस)
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ तीन पटक पक्राउ पर्नुभएको छ । सर्वोच्चले पटकपटक रिहा गर्न आदेश दिए पनि प्रहरीले अहिलेसम्म तीनपटक पक्राउ गरी सकेको छ ।
प्रहरीले सर्वोच्च परिसरबाट दुईपटक र काठमाडौं टौदहबाट एकपटक पक्राउ गरेको अखिल क्रान्तिकारीका महासचिब प्रकाश शाहीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

न्यायाधीशद्धय केदारप्रसाद चालीसे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशले बिहीबार प्रकाण्डलाई साधारण तारीखमा रिहा गर्न आदेश दिएको हो ।

प्रकाण्डका छोरा वीरेन्द्र बिश्वकर्माले बन्दी प्रत्यक्षीकरणको निवेदन दिएपछि सो माथी छलफल पश्चात् रिहा गर्न आदेश दिएको हो । यस अघि प्रकाण्डलाई रिहा गर्न सर्वोच्चले आदेश दिएपनि प्रहरीले काभ्रेमा प्रकाण्ड बिरुद्ध उजुरी परेको भन्दै सर्वोच्च परिसरबाटै पक्राउ गरेको थियो ।

थुनामा राखेर पर्याप्य आधार र कारण नखोली म्याद थप भएको भन्दै निवेदकको मागअनुसार बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुने न्यायाधीशद्वको संयुक्त इजलासले ठहर गरेको छ ।

प्रकाण्डलाई काभ्रे सदरमुकामस्थित क्रसरमा आगजनी गरेको अभियोगमा धुलिखेल प्रहरीले हिरासतमा राखेको थियो । प्रहरीले प्रकाण्डलाई गत भदौ १ गते सर्वाेच्च अदालत परिसरबाटै दोस्रो पटक गीरफ्तार गरेको थियो । ततश्चात् पुनः प्रकाण्डका छोरा विकले रिहाइको मागसहित आइतबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दर्ता गराउनुभएको थियो ।

दर्ता भएको रिटमाथी सुनुवाइ गर्दै सोमबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले गिरफ्तार गर्नुको लिखित कारणसहित बन्दीलाई उपस्थित गराउन विपक्षीको नाममा आदेश जारी गरेको थियो ।
सर्वोच्चको आदेशपछि प्रकाण्डलाइ अस्ति बुधबार सर्वोच्चमा पेस गरिएको थियो । गत साउन २२ गते काठमाडौंको टौ दहबाट प्रहरीले पहिलो पटक पक्राउ गरेको थियो । पक्राउ पश्चात् प्रकाण्डका छोरा नरेन्द्रबहादुर विकले सर्वोच्चमा निवेदन दर्ता गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्