केयूका रजिस्ट्रार भोला थापाद्वारा राजीनामा



भगवती तिमल्सिना
मोतीराम तिमल्सिना
काभ्रे
काठमाडौ विश्व विद्यालय (केयू) का रजिष्टार डा. भोला थापाले राजीनामा दिनुभएको छ । बिहीबार बसेको विश्वविद्यालयको कार्यकारी परिषद् बैठकमै उपकुलपति प्रा.डा.रामकण्ठ माकजु र रजिष्ट्रार थापाबीच भनाभन भएपछि रजिष्टार थापाले तत्कालै पदबाट राजीनामा दिएर बाहिरिनुभएको बुझिएको छ ।

कानून संकायका डीन डा. विपिन अधिकारीको प्रोफेसरमा बढुवा गर्ने बिषय रजिष्टार.थापाले अघि सार्नुभएको र उपकुलपति माकजुले प्रकृया पुरा भइनसकेको भने लगत्तै उहाँहरुबीच भनाभनको स्थिति सृजना भएको स्रोतले जनाएको छ ।
बैठकमा भनाभनको स्थिति बढ्दै गएपछि रजिष्टारले उपकुलपतिको योजना अनुरुप काम नगरेको लगायतका आक्षेपहरु लगाउने काम भए भने रजिष्टारले पनि आफुले अघि सारेका प्रस्ताव स्वीकृती नगर्ने भए अझै पनि काम हुँदैन भने लगत्तै उपकुलपति डा. माकजूले रजिष्टार थापालाई योजना अनुरुप काम गर्न नसक्ने भए राजीनामा दिनुस भने लगत्तै डा. थापा राजिनामा दिएर बैठकबाट बाहिरिनुभयो ।

केयूमा दोस्रो कार्यकालका लागि एकबर्ष अघि उपकुलपतिमा डा. माकजू नियुक्त भययता उपकुलपति र रजिष्टारका बीच एकआपसमा कामको तालमेल नमिलेको गुनासो आईरहेको समेत स्रोतले जनाएको छ ।

केयूमा कार्यकारी परिषद् बैठकमा उपकुलपति, रजिष्टार, विभिन्न संकायका डिनहरु, शिक्षक प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । बैठक नियमित जस्तै मध्यान्ह शुरु भए लगत्तै प्रस्ताव पढेर सुनाइयो । प्रस्तावमा शिक्षक बढुवा, तलब भत्ता बृद्धि, विद्यार्थी भर्ना, शैक्षिक कार्यक्रम, छात्रावास र यातायातको साधनको व्यवस्थापन, शैक्षिक गुणस्तर लगायतका बिषय अघि सारिएको थियो । बिषय प्रवेश लगत्तै विवाद शुरु भै रजिष्टारले राजीनामा दिएर पछि बैठकका अन्य एजेण्डा भने स्थगित भएको स्रोतले जनाएको छ ।

डा.थापाले दिनुभएको राजीनमा अब स्वीकृतिका लागि प्रकृयामा अघि बढाउनका लागि विहिवार कुलपति तथा प्रधानमन्त्र समक्ष पुगी सकेको बुझीएको छ । यता डा. थापाले पनि आफुले राजीनामा दिए लगत्तै काठमाडौ विश्वविद्यालय कार्यकारी परिषद्मा रहेका सबै पदाधिकारीहरुलाई आफु रजिष्टार रहुन्जेल सहयोग पुर्याउनुभएकोमा धन्यवाद दिँदै इमेल पठाईसक्नुभएको बुझिएको छ ।

विगतमा उपकुलपति डा.माकजुले नै डा.थापालाई रजिष्टारका लागि सरकार समक्ष सिफारिस गर्नुभएको थियो । शिक्षक बढुवा, तलब भत्ता बृद्धि, बिद्यार्थी भर्नामा कमी आउनु विश्व विद्यालयको लागि निकै ठूलो चुनौतिको बिषय भएको भन्दै शिक्षकहरुले कडा रुपमा प्रस्तुत भए लगत्तै उपकुलपति माकजूले आफुलाई रजिष्टारले आफ्नो योजना अनुरुप असहयोग गरेकै कारण यस्तो अवस्थाको सृजना भएकाले असहयोग गर्ने भए राजीनामा दिनु उचित हुने धारणा अघि सार्नुभएको स्रोतले जनाएको छ ।
रजिष्टारको राजीनमा पत्र विहिवारै उपकुलपति डा.माकजुले कुलपति तथा प्रधानमन्त्री केपी ओली र सहकुलपति शिक्षा मन्त्री गिरीराजमणी पोखरेल समक्ष पेश गरिसक्नुभएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्