कञ्चनपुर घटनाको कांग्रेस र राप्रपाद्वारा निन्दा



नेपाल समाचारपत्र, काठमाडौं
कञ्चनपुरमा बिहीबार भएको घटना र यसको पृष्ठभूमि सम्बन्धमा नेपाली कांग्रेसले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
अबोध बालिकाको बलात्कार पश्चातको हत्या जस्तो जघन्य अपराधको गहिरो र गम्भीर छानविन गरेर अपराधीलाई कडा सजाय दिनुपर्ने दायित्व सरकारको भएको उसले विज्ञप्तिमार्फत् जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘जनप्रदर्शन पछिल्तिरका भावनालाई सरकारले संयमितपूर्वक आत्मसात गर्नुपर्नेमा उल्टै बल प्रयोग गर्ने, गोली चलाउने, दर्जनभन्दा बढीलाई घाइते बनाउने र कफ्र्युकै अवस्था सृजना गर्ने कर्मको हामी घोर निन्दा एवं भत्र्सना गर्दछौं ।’

गठित उच्चस्तरीय छानविन समिति मार्फत समग्र घटनाको गहन र निष्पक्ष छानविन गर्न नेपाली कांग्रेसले माग गरेको छ ।
त्यसै गरी शान्तिपूर्ण प्रदर्शन गर्न पाउने संवैधानिक अधिकारको उपभोग गरिरहेका सर्वसाधारण नागरिक माथि कञ्चनपुरमा भएको प्रहरी दमनप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण भएको भन्दै राप्रपाले निन्दा एवं भत्र्सना गरेको छ । देशमा केही समय यता दिनहुँ जसो भइरहेको बलात्कारको घटनाको राप्रपाको महिला संगठनले निरन्तर विरोध गरिरहेको राप्रपाले जनाएको छ ।

कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको सत्यतथ्य छानबिन गर्न, अपराधीलाई लुकाउने काम नहोस् भन्दै खबरदारी गर्न, घटनाको दोषीलाई कानुनबमोजिम कारबाही गर्न र महिला सुरक्षाको प्रत्याभूति दिलाउन माग गर्दै प्रदर्शनमा उत्रिएका महिला र सर्वसाधारण नागरिक माथि लाठीचार्ज र गोली प्रहारसम्मको घटना निन्दनीय भएको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्