‘इँटाभट्टाले प्रदूषण निम्त्यायो’, पूर्ण सरसफाइ रणनीतिक योजना सार्वजनिक



पुष्कर बुढाथोकी, भक्तपुर
चाँगुनारायण नगरपालिकाले बिहीबार पूर्ण सरसफाइ रणनीतिक योजना २०७५ सार्वजनिक गरेको छ । नगरस्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले चाँगुनारायण नगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले योजनाको पुस्तक सार्वजनिक गर्दै भक्तपुरमा इँटा भट्टाले व्यापक रुपमा वातावरण प्रदुषण गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो–“भक्तपुर कसैको पेवा होईन, कसैले दाईजो ल्याएको जिल्ला पनि होईन, खबरदार भक्तपुरको विकास अब कसैले रोक्न सक्दैन, भक्तपुरको विकास अब हुन्छ, रंगशाला पनि बन्छ ।”

उहाँले भक्तपुरमा स्मार्ट सिटी र अन्तर्राष्ट्रिय रंगशाला बनाउँन खोज्दा बिकास विरोधी तत्वहरुले अबरोध गर्न खोजेको बताउनुभयो ।बस्नेतले भन्नुभयो–“भक्तपुरमा स्मार्ट सिटी बनाउँन लाग्दा भट्टा हट्ने डरले भक्तपुर नगरपालिका रोईलो गर्दैछ, यता गोपनीयताको हक भंग गर्न पाईदैन भन्दा विरोधीहरु रोईलो गरिरहेका छन्, बिरोधका नाममा हुने रोईलोले कुनै असर गर्दैन ।”

कार्यक्रममा ३ नं. प्रदेशका प्रदेश सदस्यहरु डा. राजेन्द्रमान श्रेष्ठ, शशीजंग थापा र सरस्वती बाटीले संघियता असफल पार्ने तत्व सक्रिय भएको बताउँदै करको नाममा भ्रम फैलाउँदै फेरी सरकार माथि प्रहार गर्न विरोधी सक्रिय रहेको बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, नेकपाका जिल्ला अध्यक्ष बचन देउजा, सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा लगायतले भक्तपुरको विकासमा भक्तपुर नगरपालिका बाहेक अरु तीन नगरपालिका एक भएर अगाडि बढेको बताउनुभयो ।

कार्यक्रमका सभापति एवं चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले ०७८ पुस महिना भित्र चाँगुनारायणलाई पूर्ण सरसफाईयुक्त नगरपालिका घोषणा गर्ने बताउँदै ३ नम्बर प्रदेश मै पहिलो पटक यस नगरपालिकाले सरसफाई योजना सार्वजनिक गरेको दाबी गर्नुभयो । नगरपालिकाले कुनै पनि शिर्षकमा कर बृद्धि नगरेको दाबी गर्दै उहाँले सिंहदरबार भित्र कै बिभिन्न मन्त्रालयका सचिव सहसचिवहरु संघीय सरकारको अधिकार खोस्नका लागि सरकार माथि करको बाहनामा प्रहरा गरिरहेको र त्यसलाई विपक्षी पार्टीले मलजल गरिरहेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्