केवल जय भगवती छात्रवृत्ति पुरस्कार वितरण



नेपाल समाचारपत्र, काठमाडौं
हात्तिवन सामाजिक सेवा केन्द्रको आयोजनामा दक्षिणकाली नगरपालिकाका विभिन्न विद्यालयबाट एसइइ परीक्षामा सफलता प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ ।

केन्द्रका अध्यक्ष प्रमी श्रेष्ठको अध्यक्षतामा दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेतको प्रमुख आतिथ्यमा सो पुरस्कार वितरण कार्यक्रम गरिएको हो । केवल जय भवगती कोषको सहयोगमा हात्तिवन सामाजिक सेवा केन्द्रको सहयोग प्राप्त विभिन्न विद्यालयका २८ विद्यार्थी तथा दक्षिणकाली नगर क्षेत्रका सामुदायिक, संस्थागत तथा निजी विद्यालयबाट उत्कृष्ट ५ जना विद्यार्थीलाई सम्मान पत्र तथा नगदबाट पुरस्कृत गरिएको थियो ।

विगत ८ वर्षदेखि फर्पिङ क्षेत्रलाई आधार मानी केन्द्रले उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्दै आएको छ । २०७४ सालको एसइइ उत्तीर्ण विद्यार्थीलाई त्रिभुवन आदर्श माविको कमन हलमा भएको कार्यक्रममा सम्मान गरिएको थियो ।

कार्यक्रममा विशेष अतिथिका रुपमा दक्षिणकाली नगरपालिकाका उपप्रमुख वसन्ती तामाड, अतिथिहरु शिखरापुर सामुदायिक क्याम्पसका प्रमुख निरोज श्रेष्ठ, गुठीका संस्थापक योजना आयोगका प्रथम महिला सदस्य डा. पुष्पा श्रेष्ठ, फर्पिङ क्षेत्रका विभिन्न विद्यालयका प्रधानाध्यापक, संस्थाका प्रतिनिधि, पत्रकार, अभिभावक, तथा विद्यार्थीहरुको सहभागिता थियो ।

केन्द्रले सेतीदेवी मावि सोखेल, खोकना जन मावि, कामधेनु मावि, त्रिभुवन आदर्श मावि, फर्पिङ मावि, पञ्चकन्या मावि, श्रीकृष्ण मावि, सेतीदेवी मावि टल्कु गरी ८ वटा विद्यालयका छात्रवृत्ति प्राप्त विद्यार्थीहरुलाई पुरस्कार दिएको थियो । साथै उत्कृष्ट अंक जिपिए ४ ल्याउने ग्रीन हिल स्कुलका नवदिपसिंह बस्नेतलगायत सामुदायिक विद्यालयका तर्फबाट शिखरापुर सामुदायिक विद्यालयका प्रनिता श्रेष्ठ, त्रिभुवन आदर्श माविका रितिका मानन्धर, सरकारी विद्यालयका तर्फबाट खोकना जन माविका दीक्षा केसी तथा अरुणोदय माविका सुसन लामालाई सम्मान गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्