मृगौला प्रत्यारोपणको १० औ बर्ष

0
Shares

काठमाडौं
त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपणको १० औ बर्ष भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले चिकित्सा शिक्षा र स्वास्थ्य नीतिमा ठूलो परिवर्तन र सुधारको खाँचो छ भन्नुभयो ।

उहाँले सरकारले नै संचालन गरेको अस्पतालहरुमा अस्तव्यस्त र अराजक स्थितिमा समेत डटेर चिकित्कहरुले सेवालाई निरन्तरता दिनुभएको छ यो प्रशसनीय काय हो । तर ८५ प्रतिशत जनता गाउँमा बस्छन ९० प्रतिशत चिकित्सक शहरमा मात्र सिमीत छन् । क्षेत्रिय र जिल्ला अस्प्तालमा बिरामीले विशेषज्ञ सेवा पाउन सकेकै छैनन् । जहाँ राज्यको ठूलो लगानी छ त्यहाँ डाक्टरको उपस्थिति नै कम छ । यसलाई कसरी अन्त्य गर्ने र जनतालाई सुविधा दिने ?

अंचल अस्पतालमा सर्जन भए एनेस्थेसिया छैन यस्ता कमजोरीलाई सरकारले कसरी सुधार्ने ? सरकार त्रि वि शिक्षण अस्पताललाई सक्दो सहयोग गरेर नेपाललाई मेडिकल हव बनाउने सोचमा छ । दक्ष चिकित्सक उत्पादन गरि विदेशी विरामीलाई समेत नेपालमा आकर्षित गर्ने वातावरण बनाउन सबै मिलेर लागे सम्भव छ । केही समयदेखि नेपालको काठमाडौमा प्रदुषण बढ्दो छ तर काठमाडौ आधा घण्टा बाहिर जाँदा नेपालको जस्तो वातावरण कहि पाउन सकिन्न । चिकित्सा शिक्षा र स्वास्थ्यको लागि नेपाल अत्यन्तै उपयोगी पर्यटकीय हब बन्न सक्छ ।
एउटै कम्पनीको एमआरआई प्राइभेटमा बर्षौ सम्म चल्छ सरकारीमा ल्याउन नपाई विग्रीन्छ कारण के हो मन्त्री यादवले प्रश्न गर्नुभयो ।

स्वास्थ्य क्षेत्रको योजनामा नै सुधारको खाँचो छ । नेपालमै गुणस्तरिय चिकित्सा शिक्षा दिएर ती जनशक्ति नेपालमै प्रयोग गरौं भन्नुभयो ।
सोही अवसरमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा तीर्थ खनियाले त्रिवि शिक्षण अस्पतालका राम्रा काम भन्दा एउटा सुतेको मान्छेको समाचारमा पत्रकारहरु पछिलागेका छन् भन्दै प्रा.डा.गोविन्द केसीको अनसनलाई लक्षित गर्दै खनिएका थिए । ‘त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण हुन्छ, कलेजो प्रत्यारोपण हुँदैछ, अरु पनि धेरै राम्रा गतिविधिहरु भइरहेका छन् । पत्रकारहरुले यता तर्फ कलम चलाउन परयो । खाली त्यो अर्को कुरामा मात्रै चर्चा गर्न भएन,’ उनले भने ।

सोही अवसरमा चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन प्रा.डा.जगदीश प्रसाद अग्रवालले नेपाल सरकार र त्रिविका उपकुलपतिले वातावरण बनाई दिनुस् देशको कुना काप्चा सम्म विशेषज्ञ सेवा पुर्याउन सकिन्छ । पहिलो कुरो शहरमा भन्दा दुर्गममा बढी सेवा सुविधा दिनोस चिकित्सक त्यहि पुग्छन् । यस बिषयमा ७ वटै प्रदेशमा स्वास्थ्य सेवा प्रदान गर्न हामी तयार छौ मात्र सरकारले वातावरण तयार पारिदिनुपर्यो भन्नुभयो ।

कार्यक्रममा त्रिवि शिक्षण अस्पतालले सन् २००८ अगष्ट ८ का दिन पहिलो पटक मृगौला प्रत्यारोपण शुरु गर्दा विशेषज्ञिय सेवामा महत्वपूर्ण सहयोग गर्नुहुने अष्ट्रेलियन प्रा.डा.डेविट फ्रान्सिसले कार्यक्रममालाई सम्बोधन गर्दै भन्नुभयो–मृगौला प्रत्यारोपणका क्षेत्रमा नेपालले अन्तर्राष्ट्रिय मापदण्ड भन्दा राम्रो काम गरेको छ । जतिबेला आफुले नेपालमा पहिलो पटक मृगौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा सघाईरहँदा बाहिर धेरै मानिसले अब के हुन्छ भनेर हेरिरहेका थिए । सोचे भन्दा राम्रो सफलता मिल्यो ।

त्रिवि शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपणका लागि अहोरात्र खटिने टीम नेतृत्व लिनुभएका प्रा.डा.दिब्या सिंह शाह भन्नुहुन्छ–मृगौला प्रत्यारोपणका लागि स्वीकृति लिनै २ बर्ष सघर्ष गर्नुपर्यो । उपकरण, औषधि, जनशक्ति, सहयोग, शल्यक्रिया कक्ष सबैको अभावै अभावमा मृगौला प्रत्यारोपण शुरु गरियो । अहिले १० बर्षमा ५ सय ६ जना मृगौला रोगीको सफलतापुर्वक मृगौला प्रत्यारोपण कार्य सम्पन्न हुँदा नयाँ युगको थालनी भएको महसुस भएको छ र निकै खुशी लागेको छ ।


कार्यक्रममा बोल्दै प्रा.डा.उत्तम कुमार शर्माले भन्नुभयो–मृगौला प्रत्यारोपणमा पनि लैगिक विभेद छ । अहिले सम्म ८५प्रतिशत पुरुषले अंग लिएका छन् भने ८ जना बालबालिका सहित महिलाको संख्या १५ प्रतिशत मात्र छ । दाता हेर्ने हो भने ६८ प्रतिशत महिला र ३२ प्रतिशत पुरुष रहेका छन् । श्रीमतीले श्रीमानलाई, आमाले छोरालाई र केही श्रीमानले श्रीमतीलाई दिएका छन् । यसका बाबजुद काठमाडौ महानगर पालिका वडा नं २ का वडा अध्यक्ष राजेश श्रेष्ठकी आमाले भने बुहारीलाई अंगदान गर्नुभएर नमूना बन्नुभएको छ ।

मन्त्री यादवले त्रिवि शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपणको शुरुवात गर्ने चिकित्सक तथा नर्सलाई सम्मान गर्नुभएको थियो । सम्मानित हुनेमा प्रा डा भोलाराज जोशी, प्रा डा महेश खकुरेल, प्रा डा कनकबहादुर रावत, प्रा डा गुणकुमार श्रेष्ठ, प्रा डा दिव्यासिंह शाह, प्रा डा प्रेमराज
ज्ञवाली, प्रा डा उत्तमकुमार शर्मा, प्रा डा लोकराज मरहठ्ठा, प्रा डा डेभिड फ्रान्सिस, डायलाइसिस सुपरभाइजर ज्ञानु गुरुङ र उपप्रशासक कृष्णदेव पन्त छन् ।

अस्पतालले लामो समय सघर्ष र अभावमा विताउँदा बिरामीका लागि सहज बनाउन प्रत्यारोपणका लागि आवश्यक परीक्षण गर्ने प्रयोगशाला (एचएलए) स्थापना नहुँदा अस्पताल बाहिर या भारतमा पठाउनुपर्ने बाध्यता रहेको पनि डा.शाहले औल्याउनुभयो ।