काठमाडौं।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले फिफा विश्वकप फुटबल २०२६ का खेलहरू सामूहिक रूपमा ठूलो पर्दामा प्रत्यक्ष प्रसारण गर्नुअघि अनिवार्य रूपमा पूर्वअनुमति लिनुपर्ने जनाएको छ।
बिहीबार एक सूचना जारी गर्दै कार्यालयले अनुमति नलिई खेल प्रदर्शनका नाममा भिडभाड नगर्न तथा सार्वजनिक शान्ति र सुरक्षामा असर पुग्ने गतिविधि नगर्न सबै संघसंस्था तथा कम्पनीलाई आग्रह गरेको हो। विश्वकप प्रतियोगिता जेठ २९ गतेदेखि सुरु हुँदैछ।
प्रशासनका अनुसार काठमाडौं जिल्लाभित्र कुनै पनि संस्था वा कम्पनीले ठूलो पर्दामा खेल देखाउने योजना बनाएमा कार्यालयबाट स्वीकृति लिनुपर्नेछ। अनुमति प्राप्तिका लागि आवश्यक निवेदनको ढाँचा कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ।
कार्यालयले प्राप्त निवेदनका आधारमा सम्बन्धित स्थानको अवस्था, सुरक्षा संवेदनशीलता तथा अन्य आवश्यक पक्षहरूको मूल्यांकन गरी मात्र अनुमति प्रदान गर्ने स्पष्ट पारेको छ।
सूचनामा स्वीकृति नलिई रातिको समयमा खेल प्रसारण गरी अनावश्यक भिड जम्मा गर्ने, अमर्यादित वा गैरकानुनी गतिविधि सञ्चालन गर्ने जानकारी प्राप्त भएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ।











प्रतिक्रिया