पुरानो ऐन खारेज हुँदै, सबै जिवजन्तु संरक्षित सूचीमा

282
Shares

टीका बन्धन, काठमाडौं,
सबै प्रकृतिका वन्यजन्तु अब संरक्षित सूचीमा सूचिकृत हुने भएका छन् । वन्यजन्तु सम्बन्धी नयाँ ऐनले मुलुकमा अभिलेख भएका सबै जिवजन्तुलाई संरक्षित सूचीमा सामेल गर्न लागेको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ खारेज गरेर नयाँ बन्ने ऐन मार्फत सबै जिवजन्तु संरक्षित सूचीमा सूचीकृत हुने भएका हुन् । विद्यमान ऐनमा विभिन्न २७ प्रजातीका स्तनधारी वन्यजन्तु, ९ प्रजातीका चरा र ३ प्रजातीका सरिसृप संरक्षित सूचीको अनुसूची १मा सूचिकृत छन् ।

नेपालमा अहिलेसम्म विभिन्न २ सय १२ प्रजातीका स्तनधारी वन्यजन्तु, ८ सय ८७ प्रजातीका चरा, १ सय ४० सरिसृप विभिन्न ५५ प्रजातीका उभयचर अभिलेख भएका छन् । प्रस्तावित नयाँ ऐनमा वन्यजन्तुको वर्ग अनुसार ४ अनुसूचिमा विभाजन गरिएको छ । प्रस्तावित ऐनको अनुसूची १मा विभिन्न १५ स्तनधारी जन्तु, ४० प्रजाती पन्छी र ४ प्रजाती सरिसृप छन् ।

पाटे बाघ, हिउँ चितुवा, ध्वाँसे चितुवा, गौरी गाई, गैडा, सुनकन्ठे कस्तुरी, कालो कस्तुरी, सेतो कन्ठे कस्तुरी, जंगली हात्ति, सोंस (डल्फिन), तामे सालक, कालो सालक, जंगली चौरीगाई, हाब्रे र रातो भालु अुनसूची १मा समावेश गरिएको छ । त्यसैगरी पन्छीका काँडे भ्याकुर, डाँफे, मुनाल, चीर, खरमुजुर, गिद्ध र चिलका विभिन्न ९/९ प्रजाती, बाज र गरुडका विभिन्न ४÷४ प्रजाती, सारस र कालीकण्ठे सारस १ नम्बर सूचिमा छन् ।

पन्छीका धेरै प्रजातीको संख्या र अन्य वस्तुस्थिति नियमित अध्ययन अवलोकन भइरहेकाले ४० प्रजाती अनुसूची १ मा समावेश भएको पन्छीविद् डा. हेम सागर बरालले बताउनुभयो । वन्यजन्तु ऐन २०२९मा सुन गोहोरो, घडियाल, अजिंगार सामेल छन् भने प्रस्तावित नयाँ ऐनमा गोहोरो र घडियालसँगै बर्मेली र एसियाली अजिंगार समावेश छन् ।

ठूलो विरालो (लिङ्ग्स), हुडार, व्यासो, अर्ना, पुड्के बँदेल, लघुकर्ण खरायो, कृष्णसार, बाह्रसिंगा, चौका, चिरु, नायन, सिलु विरालो र चरिबाघ विद्यमान ऐनको पहिलो सूचीमा भएपनि प्रस्तावित नयाँ ऐनमा अनुसूचि २ मा सिफारिस गरिएको छ । नयाँ ऐनका लागि प्राकृतिक वासस्थानमा वन्यजन्तुको संख्या, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयूसीएन)को रेड लिस्ट, राष्ट्रिय सूचीलाई आधार मानिएको छ । त्यसै गरी विज्ञहरुसँग विभिन्न चरणमा भएको छलफल र सुझावका आधारमा वन्यजन्तुलाई ४ अनुसूचीमा बर्गिकरण गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

विद्यामान ऐन विभिन्न समयमा ५ पटक संशोधन भएपनि समय सापेक्ष नहुँदा ऐन खारेज गर्ने तयारी गरिएको विभागका उप–महानिर्देशक रामचन्द्र कँडेलले बताउनुभयो । ‘ऐन समय सापेक्ष बनाउनुपर्छ, संरक्षित वन्यजन्तुको सूची हेरफेर हुनुपर्छ भन्ने बहस एक दशक अघिदेखि चलेको थियो, ढिलै भएपनि अहिले प्रकृया अघि बढेको छ’–उहाँले भन्नुभयो ।

विद्यमान ऐनमा हात्ति, गैडा, बाघ, हिउँचितुवा, कस्तुरी मृग लगायतका जन्तुको चोरी शिकारी गरेमा ५ देखि १५ वर्षसम्मको कैद वा ५ देखि १० लाख रुपियाँ जरिवाना र दुवै सजाय गर्न सक्ने व्यवस्था छ ।

नयाँ ऐनमा सजायको अन्तर व्यवहारिक बनाउन र जरिवानालाई समय सापेक्ष बनाउन विज्ञहरुले सुझाएका छन् । तर ऐन खारेज हुने वा संशोधन हुने भन्ने अन्तिम टुङ्गो अझै नलागेको ऐन मस्यौदा निर्माण कार्यदलका संयोजक एवं वन मन्त्रालयका सह–सचिव डा. महेश्वर ढकालले बताउनुभयो ।

‘ऐन पुरै खारेज गर्ने भन्दा पनि संशोधन गर्न मिल्ने बुँदाहरु हेरफेर गर्ने सहमति कानून मन्त्रालयबाट प्राप्त भएको छ, उहाँले भन्नुभयो–‘विज्ञहरुसँगको विस्तृत छलफलबाट यो विषय टुङ्गो लाग्छ ।’

प्रस्तावित नयाँ ऐनको अनुसूची २मा विभिन्न २५ स्तनधारी, ८१ चरा, ९ सरीसृप र माछाका ३ प्रजाती छन् । त्यसैगरी अनुसूची ३मा ३५ स्तनधारी, ४० चरा, सरिसृप १९, उभयचर ३, माछा ६ र किटपतंङ्गका १४ प्रजाती छन् । अनुसूची ४ मा बाँकी सबै प्रजाती सामेल गर्न सुझाइएको छ ।