फिल्म निर्देशक कृष्ण चापागाईंको निधन


काठमाडौं ।

नेपाली चलचित्रका निर्देशक, लेखक तथा निर्माता कृष्ण चापागाईंको हृदयाघातका कारण निधन भएको छ। लामो समयदेखि परिवारसहित अमेरिकामा बसोबास गर्दै आएका उनी तीन दिनअघि हृदयाघात भएपछि बोस्टनस्थित क्याम्ब्रिज हेल्थ एलायन्स एभरेट अस्पतालको आईसीयूमा उपचाररत थिए।

बुधबार बिहान उपचारकै क्रममा उनको निधन भएको अमेरिकामा रहेका नेपाली कलाकर्मीहरूले जानकारी दिएका छन्। चापागाईंले नेपाली फिल्म क्षेत्रमा महत्वपूर्ण योगदान दिएका थिए। उनले एक नजर, दिदीभाइ, चट्टान, इज्जतदार, दिवानापन र निखिल दाइ लगायतका चलचित्रको लेखन, निर्माण तथा निर्देशन गरेका थिए ।

फिल्म निर्माणका लागि आवश्यक पूर्वाधार विकासमा समेत उनको योगदान उल्लेखनीय रहेको छ। उनले काठमाडौंको जोरपाटीमा ‘चापागाईं सुटिङ स्टुडियो’ सञ्चालन गरेका थिए, जसले नेपाली चलचित्र निर्माणमा ठूलो सहयोग पुर्‍याएको थियो।