प्रिज्मा एड्भर्टाइजिङका संस्थापक, प्रमुख कार्यकारी अधिकृत तथा क्रिएटिभ हेड रञ्जित आचार्य कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड २०२६ को निर्णायक मण्डल सदस्यमा मनोनित भएका छन्। विश्वकै प्रतिष्ठित कर्पोरेट फिल्म तथा भिजुअल स्टोरीटेलिङ अवार्डमध्ये एक मानिने यस अवार्डको जुरीमा स्थान बनाउने उनी पहिलो नेपाली सिर्जनशील व्यक्तित्व बनेका छन्।
सन् २०१० मा स्थापना भएको कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्डको मुख्यालय अष्ट्रियाको भियनामा रहेको छ। हरेक वर्ष फ्रान्सको कान्समा हुने महोत्सवले कर्पोरेट फिल्म, अनलाइन मिडिया, वृत्तचित्र र प्रतिवेदन निर्माणका क्षेत्रमा उत्कृष्ट कृतिलाई सम्मान गर्दै आएको छ। अवार्डमा प्रदान गरिने गोल्ड, सिल्भर, ब्ल्याक, ब्लु र ह्वाइट डल्फिन ट्रफीलाई कर्पोरेट फिल्म क्षेत्रको प्रतिष्ठित सम्मान मानिन्छ।
आयोजकका अनुसार आगामी १७औ“ संस्करणमा ६३ प्रतिस्पर्धात्मक विधा समावेश हुनेछन्। विश्वभरका फिल्म निर्माता, विज्ञापन एजेन्सी, प्रसारण संस्था, ग्राहक कम्पनी तथा विद्यार्थीले सहभागिता जनाउनेछन्। विज्ञापन, ब्रान्ड रणनीति, क्रिएटिभ निर्देशन, फिल्म निर्माण तथा जनसम्पर्क क्षेत्रमा ३५ वर्षभन्दा बढी अनुभव हासिल गरेका आचार्य नेपाली सञ्चार तथा विज्ञापन उद्योगका स्थापित नाम हुन्। उनको नेतृत्वमा प्रिज्मा एड्भर्टाइजिङले कृति अवार्डमा लगातार ४ पटक बेस्ट एजेन्सी अफ द इयर उपाधि प्राप्त गरेको छ।
विज्ञापन क्षेत्रबाहेक आचार्य नीलबाराही फिल्म्स्का प्रबन्ध निर्देशक, बाइस्कोप सिनेमाका संस्थापक निर्देशक, संस्कृति इन्टरनेसनल स्कुलका अध्यक्ष तथा डीएनए प्रालिका अध्यक्षका रूपमा पनि सक्रिय छन्।
आचार्यले सिर्जनशीलताका लागि कुनै सीमारेखा वा पासपोर्ट नहुने बताए। सत्य र उत्कृष्ट प्रस्तुतिसहित सुनाइने हरेक कथा विश्वमञ्चमा पुग्न योग्य हुने उल्लेख गर्दै उनले यो उपलब्धि आफू मात्र नभई ठूला सपना देख्ने सबै नेपाली सिर्जनशील व्यक्तिहरूको भएको धारणा राखे।











प्रतिक्रिया