स्वास्थ्य मन्त्रालय सुधारको अवसर कि परीक्षा ?

एक सचिव, एक जिम्मेवारी

564
Shares

काठमाडौं ।

सरकारले मन्त्रालयहरूको संख्या २२ बाट १८ मा झार्दै प्रशासनिक संरचना पुनर्गठन गरेसँगै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा अब एक जनामात्र सचिव रहने व्यवस्था लागू गरेको छ । यसअघि स्वास्थ्य सेवातर्फ र प्रशासनतर्फ दुई सचिवले नेतृत्व गर्दै आएको मन्त्रालयको सम्पूर्ण जिम्मेवारी अब स्वास्थ्य सचिव डा. विकास देवकोटाले सम्हाल्नेछन् ।

सरकारले स्वीकृत गरेको नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३ अनुसार मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ मा झारिएपछि सचिवहरूको दरबन्दी पुनर्मिलान गरिएको हो । सोही क्रममा प्रशासनतर्फका सचिव डिल्ली शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

सरकारले यो कदमलाई प्रशासनिक चुस्तता, खर्च कटौती र निर्णय प्रक्रियालाई छिटो बनाउने सुधारका रूपमा प्रस्तुत गरेको छ । दुई सचिवबीच कार्य विभाजन हुँदा हुने समन्वयका जटिलता हट्ने र निर्णय एकीकृत रूपमा हुने अपेक्षा गरिएको छ । यसले मन्त्रालयको नेतृत्वलाई थप स्पष्ट र जवाफदेही बनाउने विश्वास सरकारको छ ।

तर, स्वास्थ्य क्षेत्रका विज्ञहरूले यसलाई अवसरसँगै चुनौतीपूर्ण परीक्षणका रूपमा हेरेका छन् । नेपालमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय, महामारी नियन्त्रण, औषधि आपूर्ति, स्वास्थ्य पूर्वाधार विकास, स्वास्थ्यकर्मी व्यवस्थापन, स्वास्थ्य बिमा तथा खाद्य स्वच्छताजस्ता बहुआयामिक जिम्मेवारी एउटै मन्त्रालयअन्तर्गत छन् । यसअघि प्रशासनिक सचिवले कर्मचारी, बजेट र प्रशासनिक काम सम्हाल्दा स्वास्थ्य सचिवले नीति तथा प्राविधिक पक्ष हेर्थे । अब यी सबै जिम्मेवारी एकै व्यक्तिमा केन्द्रित भएका छन् ।

विज्ञहरूका अनुसार संरचना सानो बनाउनुमात्र सुधार होइन, सेवा प्रवाहमा प्रत्यक्ष परिणाम देखिनु नै वास्तविक सफलता हो । अहिले पनि दुर्गम क्षेत्रमा चिकित्सक अभाव, औषधिको अनियमित आपूर्ति, उपकरण कमी तथा सहरी अस्पतालहरूमा अत्यधिक बिरामीको चापजस्ता समस्या कायमै छन् । स्वास्थ्य बिमाको जटिल प्रक्रिया र अस्पतालमा लामो लाइनले नागरिकको सास्ती बढाइरहेको छ ।

यही कारण मन्त्रालयले अब पाँच क्षेत्रमा विशेष ध्यान दिनुपर्ने सुझाव दिइएको छ — संघीय स्वास्थ्य प्रणालीको प्रभावकारी समन्वय, दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मी उपलब्धता, नसर्ने रोग नियन्त्रण, खाद्य स्वच्छता र पोषण सुरक्षा सुदृढीकरण तथा महामारी र विपद् व्यवस्थापनका लागि आधुनिक जनस्वास्थ्य निगरानी प्रणाली निर्माण आदि रहेका छन् ।

स्वास्थ्य क्षेत्र अहिले बजेट अभाव, जनशक्ति पलायन, पूर्वाधार असमानता र बढ्दो उपचार खर्चको दबाबमा छ । यस्तो अवस्थामा एक सचिवको नेतृत्व सफल हुन व्यवस्थापन प्रणाली, जनशक्ति र कार्यप्रणाली पनि समानान्तर रूपमा बलियो बनाउनुपर्ने देखिन्छ ।

सरकारले संरचना घटाएर सुधारको आधार तयार गरेको छ । अब यसको सफलता मन्त्रालयले नागरिकलाई गुणस्तरीय, सुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा दिन सक्छ कि सक्दैन भन्ने परिणामले निर्धारण गर्नेछ । यदि, सेवा सुधारमा ठोस उपलब्धि देखियो भने यो प्रशासनिक सुधारको नमुना बन्न सक्छ, अन्यथा अत्यधिक जिम्मेवारी केन्द्रीकरणको जोखिमपूर्ण प्रयोगका रूपमा स्मरण गरिनेछ ।