काठमाडौं ।
इजरायल र इरान समर्थित हिजबुल्लाहबीच आक्रमण रोक्ने संकेत सार्वजनिक भएको एक दिन नबित्दै इजरायलले लेबनानमाथिको सैन्य कारबाहीलाई निरन्तरता दिएको छ। इजरायली सेनाले दक्षिणी लेबनानको ऐतिहासिक बन्दरगाह सहर टायर (Tyre) तथा आसपासका क्षेत्रमा हवाई आक्रमण गर्दा कम्तीमा २९ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार इजरायली लडाकु विमानहरूले टायर सहरको पूर्वी क्षेत्र र वरपरका बस्तीहरूलाई निशाना बनाएका थिए। केही दिनयता टायर क्षेत्रमा लगातार आक्रमण भइरहेका छन् भने हजारौं स्थानीय बासिन्दा विस्थापित भएका छन्। यसैबीच, हिजबुल्लाहले सोमबार राति दक्षिणी लेबनानमा अघि बढिरहेका इजरायली सैनिकहरूलाई लक्षित गरी रकेट प्रहार गरेको दाबी गरेको छ।
इजरायली पक्षले भने आफ्ना कारबाहीहरू हिजबुल्लाहका सैन्य संरचना र कमाण्ड केन्द्रहरूविरुद्ध केन्द्रित रहेको बताएको छ। गत मार्च २ देखि चर्किएको इजरायल–हिजबुल्लाह संघर्षले हालसम्म भयावह रूप लिएको छ। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो युद्धमा लेबनानतर्फ मात्रै ३,६०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने लाखौं नागरिक विस्थापित भएका छन्। अमेरिकी मध्यस्थतामा युद्धविराम तथा तनाव कम गर्ने प्रयासहरू भइरहे पनि दुवै पक्षबीचको अविश्वासका कारण संघर्ष रोकिएको छैन। पछिल्ला आक्रमणहरूले मध्यपूर्वमा थप क्षेत्रीय युद्धको जोखिम बढाएको भन्दै अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेको छ।











प्रतिक्रिया