हामीले विज्ञानका बारेमा धेरै कुराहरू सत्य ठानेर विश्वास गर्दै आएका हुन्छौं। तर केही यस्ता धारणा पनि छन्, जसलाई लामो समयसम्म वैज्ञानिक तथ्य मानिए पनि वास्तविकता फरक छ। यहाँ विज्ञानसँग सम्बन्धित पाँच चर्चित भ्रमबारे चर्चा गरिएको छ।
१. प्रकाशभन्दा छिटो केही पनि यात्रा गर्न सक्दैन – गलत
सामान्यतया प्रकाशको गति ब्रह्माण्डको सबैभन्दा उच्च गति मानिन्छ। निर्वातमा प्रकाश करिब ३ लाख किलोमिटर प्रक्षिणको गतिमा यात्रा गर्छ।
तर जब प्रकाश पानी, सिसा वा अन्य पदार्थभित्र प्रवेश गर्छ, यसको गति उल्लेखनीय रूपमा कम हुन्छ। वैज्ञानिकहरूले विशेष प्रयोगशालामा प्रकाशलाई हिँड्ने मानिसको गतिसम्म सुस्त बनाएका छन् र केही अवस्थामा अस्थायी रूपमा रोक्न समेत सफल भएका छन्। यस अर्थमा, उपयुक्त माध्यममा प्रकाशभन्दा छिटो अन्य वस्तुहरू चल्न सक्छन्।
२. स्पुतनिक अन्तरिक्ष पुगेको पहिलो मानव निर्मित वस्तु थियो – गलत
सन् १९५७ मा सोभियत संघले प्रक्षेपण गरेको स्पुतनिक–१ पृथ्वीको कक्षामा प्रवेश गर्ने पहिलो मानव निर्मित उपग्रह थियो।
तर अन्तरिक्षको सीमाभन्दा माथि पुग्ने पहिलो मानव निर्मित वस्तु भने त्यो थिएन। दोस्रो विश्वयुद्धको समयमा प्रयोग गरिएका जर्मन रकेटहरू स्पुतनिकभन्दा धेरै वर्षअघि नै अन्तरिक्षको मान्यता प्राप्त सीमाभन्दा माथि पुगिसकेका थिए। यद्यपि ती पृथ्वीको कक्षामा भने प्रवेश गरेका थिएनन्।
३. सिसा वास्तवमा तरल पदार्थ हो – गलत
पुराना भवनका झ्यालहरू हेर्दा सिसा तलतिर बाक्लो देखिन्छ। यसै आधारमा सिसा बिस्तारै बग्ने तरल पदार्थ हो भन्ने धारणा लोकप्रिय बन्यो। तर वैज्ञानिक रूपमा यो सही होइन। सिसा एक ठोस पदार्थ हो।पुरानो समयमा सिसा निर्माण प्रविधि कमजोर भएकाले झ्यालका पाटा असमान मोटाइका हुन्थे। झ्याल जडान गर्दा भारी भाग तल राख्ने चलन भएकाले आज पुराना झ्यालहरू तलतिर बाक्ला देखिन्छन्।
४. जमिनमा आउने पहिलो जनावर माछा थियो – गलत
जीवनको विकासबारे चर्चा गर्दा माछाले समुद्र छोडेर जमिनमा आउँदै क्रमशः उभयचर, सरीसृप, चराचुरुङ्गी र स्तनधारी बनेको कथा प्रायः सुनिन्छ। तर वास्तविकता के हो भने माछा जमिनमा आउनुअघि नै जमिनमा जीवनको अस्तित्व थियो। कीराफट्याङ्ग्रा, बोटबिरुवा र ढुसीजस्ता जीवहरू पहिले नै जमिनमा फैलिइसकेका थिए। त्यसैले माछा जमिनमा आउने पहिलो जीव थिएन।
५. तपाईंको शरीर पूर्ण रूपमा तपाईंकै हो – गलत
मानव शरीरका सबै कोष मानव मूलका हुँदैनन्। हाम्रो शरीरमा अर्बौँ ब्याक्टेरिया, ढुसी र अन्य सूक्ष्म जीवहरू बसोबास गरिरहेका हुन्छन्। यी जीवहरू विशेषगरी आन्द्रा, छाला र शरीरका विभिन्न भागमा पाइन्छन् र स्वास्थ्यका लागि महत्वपूर्ण भूमिका खेल्छन्। यसबाहेक, गर्भावस्थाको क्रममा आमाको शरीरमा बच्चाका केही कोषहरू बस्न सक्छन्। यी कोषहरू वर्षौँसम्म शरीरमा रहन सक्छन् र कहिलेकाहीँ अर्को सन्तानमा समेत सर्न सक्छन्। त्यसैले जैविक दृष्टिकोणले हेर्दा हाम्रो शरीर पूर्ण रूपमा केवल ‘हाम्रो’ मात्र हुँदैन।
(एजेन्सीको सहयोगमा)











प्रतिक्रिया