हराएको ३० वर्षपछि दाहसंस्कार

0
Shares

गंगा बराल, काठमाडौं
सुन्दा अचम्म लाग्ला, हराएको ३० वर्षपछि दाहसंस्कारसँगै काजकिरिया गरियो भन्दा । तर सत्य हो ताप्लेजुङको फुङ्लिङ–८ तिनधारेका घिमिरे परिवारले भर्खरैमात्र विधि पु¥याएर पितृ संस्कार गरेका छन् ।

गत आइतबार १३ दिनको काम सकिएको हो । १ श्रीमती, ४ छोरा र २ छोरीले धान्यप्रसादको मृत्यु संस्कार सकिएको छ । ‘जसरी अरु संस्कार गरिन्छ त्यस्तै नै भयो, कुशको शव बनाएर खोलामा लग्यौं’, छोरी चण्डिकाले भन्नुभयो– ‘बुबाको सम्झना नै हराइसकेको छ, कस्तो हुनुहुन्थ्यो बिर्सिसक्यौं ।’ चण्डिकाभन्दा सानी १ बहिनी र ३ भाइ छन् । कृषि सामग्री संस्थान ताप्लेजुङमा कार्यरत उहाँ बढुवा भएपछि चाँगे गाउँ विकास समितिमा जागिर खान जानुभएको थियो ।

नयाँ कार्यालयमा केही दिन काम गरेर फर्कने क्रममा उहाँ नाङ्गेमा एकजना प्याकुरेल थरका आफन्तकोमा १ रात बस्नुभएको थियो । पुरानो कार्यालयको काम बाँकी छ भन्दै तमोर पारि जाने भन्नुभएका उहाँ अहिलेसम्म भेटिनुभएको छैन । जेठा छोरा गंगाप्रसाद घिमिरे बुबा हराएपछि धेरै दिन खोज्दा पनि नभेटिएको बताउनुुहुन्छ ।

‘यहाँ खोज्न बाँकी छ भन्ने नै भएन, फिदिमसम्म नै खोज्यौं, भेटिएन’, गंगाप्रसाद भन्नुहुन्छ– ‘बुबाको निधनपछि दुःखले नै परिवार चल्यो, एकातिर पारिवारिक चिन्ता अर्कातिर घरधन्दा चलाउन समस्या ।’

२०४५ साल जेठ १४ गते हो धान्यप्रसाद बेपत्ता हुनुभएको । जेठ १४ लाई नै आधार मानेर यसपछिका सबै संस्कार गर्ने निर्णय भएको उहाँहरूको भनाइ छ । अघिल्लो मंगलबार १५ दिनको मासे सकिएको छ । ४ छोराले सेतो पोशाक लाउनुभएको छ ।

आफन्त, साथीभाइ र छरछिमेकीहरुले आएर समवेदनाका शव्दहरु प्रकट गरिसकेका छन् । पुरानै फोटो भए पनि बाहिर राखेर पुष्पगुच्छाले दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको थियो । ३० वर्षअघिको घटना भएकाले धेरैले धान्यप्रसादको हिजोको दिनको सामाजिक काम र त्यतिबेलाको इतिहास समेत बिर्सिए ।

माना चामल पनि ल्याइयो, गरुड पुराण भनेर यस्तै रहेछ मृत्युको पींडा भन्दै एकआपसमा दुःख साटियो । मलमासका कारण असार १७ गते तिथि परेको थियो तर फेरि जुठो परेकाले केही ढिलो गरी पितृ कार्य सकियो ।

काठमाडौंको वाल्मीकि क्याम्पसका धर्मशास्त्र विभागका प्रमुख प्रा.डा.देवमणि भट्टराई धेरै वर्षसम्म मानिस नभेटिएपछि कामकाज गर्न सकिने बताउनुहुन्छ । धर्म सिन्धुको तृतीय परिच्छेदमा भएको व्यवस्थाबारे उहाँ भन्नुहुन्छ– ‘अब नआउने नै भनेर टुंगो भएपछि सबैको सरसल्लाहमा पितृकार्य गर्न मिल्छ ।’

भट्टराईका अनुसार ३२ वर्षको भए २० वर्ष, ६४ वर्षभन्दा माथि भए १५ वर्ष र त्योभन्दा माथि भए १२ वर्षसम्म पर्खनुपर्छ । हराएको दिन वा त्यस्तो घटना भएको थाहा भए त्यसैलाई आधार मानेर तिथि गर्ने प्रचलन छ । यद्यपि कहिलेकाँही १ सय वर्ष पुगेपछि मात्र काजकिरिया गर्नुपर्ने तर्क पनि आउने गरेको पाइन्छ ।

Skip This