बेलायतमा पढेर विराटनगरमा होटल



सरोज यादव, विराटनगर ।
विदेशमा गएर उच्च शिक्षा लिनेहरु उतै बस्ने गरेको धेरै पाइन्छ । तर विराटनगरकी एक युवती भने बेलायतमा उच्च अध्ययन गरेर आफ्नो ठाउँमा मात्र फर्किनन् कि आफ्नै लगानीमा होटल खोलेकी छन् । पढेको कुरालाई आफ्नै देशमा बसेर व्यवहारमा उतार्न सकिन्छ भन्ने आँट आएकोले होटल खोलेको उनले बताइन् ।

बेलायतको सण्डरल्याण्ड विश्वविद्यालय लण्डनबाट व्यवस्थापन संकाय अन्तरगत स्नातकोत्तर अन्तर्गत एमबीए गरेकी विराटनगरकी स्वेता तुलाधरले अहिले होटल खोलेकी छन् । आफू जन्मेको स्थानमा व्यवसाय सुरु गर्दा आफ्नो सीपको प्रयोगका साथै देशको पनि सेवा हुने भएकोले अहिले ‘होटल शुभ’ खोलेको उनले बताइन् ।

विराटनगरबाट नै कक्षा १२ सकी भारतमा बीबीए अध्ययन गरेको र त्यसपछि लण्डन गई एमबीए अध्ययन गरेको उनले बताइन् । लण्डनमा अध्ययनका साथै सुरुमा नेपाली होटलमा काम गरेको र पछि अर्को होटलमा क्यासियरको रुपमा काम गर्दा होटल सञ्चालनको ज्ञान पाएको उनले बताइन् ।

बेलायतले आफ्नो काम गर्दा कुनै लजाउनु नपर्ने सिकाएकोले विराटनगर आएर होटल सञ्चालन गरेको उनले बताइन् । बेलायतबाट नै कमाएर ल्याएको रकम लगानी गरेर असार ८ गतेदेखि होटल सुरुवात गरेको उनले बताइन् । होटलमा प्रारम्भिक लगानी १० लाख गरिएको छ । अहिले ६ जनालाई रोजगारी दिएको होटल शुभको १४ कोठाको गेष्ट हाउस पनि छ । गेष्ट हाउस चाहि तुलाधरको आमाबाबु हो ।

उनको होटलको विहान बेलुका नेपाली खानाको साथै पिज्जा, बर्गर, मम, केकका साथै चोकालाभा मेन्टडन लगायत विभिन्न भेराइटीका आइसक्रिम पनि छ । उनको होटलको विशेष भेराइटीको रुपमा खाजामा कट्टीरोल र आयसक्रिममा चोकालाभा मेन्टडन नयाँ भएको उनले बताइन् ।

बेलायतबाट पढेर आएको थाहा पाएपछि विराटनगरका विभिन्न कलेजले पढाउन आग्रह गरेपनि उनले पढेको कुरालाई व्यवहारिक रुपमा देखाउन नै होटल सुरु गरको दावी गरिन् । विराटनगर ट्राफिकचोक छेउ दुर्गा मार्केटमा रहेको उनको होटलमा अहिले भर्खरै एसईई दिएका र उत्तीर्ण गरेका विद्यार्थीलाई १० प्रतिशत छुट पनि दिइएको छ ।

सानैदेखि मोडलिङमा समेत रुची राख्ने उनले विराटनगर, देहरादुन तथा लण्डनमा भएको सुन्दरी प्रतियोगितामा भाग लिई उपाधि नजिते पनि अन्य विभिन्न विधामा अवार्ड हासिल गरेको बताइन् ।

यसका साथै उनले चार वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । लण्डनमा सुटिङ भएको गायक नविन के भट्टराईको मौन हुन्छु तिमिलाई देख्दा, आफ्नै आमा सरिता तुलाधरको रचना रहेको ए हावा लगायत चार म्युजिक भिडियोमा उनले अभिनय गरेकी छन् । होटल शुभलाई अझै विस्तार गरेर लाने सोच पनि रहेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्