सञ्जुको कमाइ पहिलो सातामै सर्वाधिक



बलिउड अभिनेता सञ्जय दत्तको जीवनमा आधारित फिल्म सञ्जु गत शुक्रबार रिलिज भयो। फिल्ममा सञ्जयको भूमिकामा रहेका नायक रणवीर कपुरको काम निकै मन पराइएको छ।

रिलिजको पहिलो दिन ३४ करोड भारतीय रुपियाँ कमाइ गरेको फिल्मले दोस्रो दिन ३८ करोडभन्दा बढी कमायो। यससँगै फिल्मले रिलिजको तेस्रो दिन नै सय करोड क्लबमा प्रवेश गरेको छ। एक सय १६ करोड कमाइ गरेर यस वर्ष पहिलो हप्ता सबैभन्दा बढी कमाइ गर्ने फिल्म पनि सावित भएको छ। यसका साथै रणवीर कपुरको सबैभन्दा बढी कमाइ गर्ने ओपनिङ फिल्म, राजकुमार हिरानीले निर्देशन गरेको सबैभन्दा बढी कमाइ गर्ने फिल्म, अस्टे«ेलियामा धेरै कमाइ गर्ने बलिउड फिल्म जस्ता रेकर्ड राख्न सफल भएको छ।

फिल्ममा सञ्जयको जीवनको जिन्दगीसँग जोडिएका अधिकांश किस्सालाई निर्देशक राजकुमार हिरानीले हुबहु पर्दामा उतारेका छन्। तर उनको जीवनसँग जोडिएका कतिपय कुराले भने फिल्ममा अलिकति पनि स्थान पाएको छैन। जस्तै सञ्जय दत्तको पहिलाका दुई पत्नीहरूको कुरा फिल्ममा कतै पनि छैन। मान्यता दत्तभन्दा अघि पनि सञ्जयको दुईपटक विवाह भएको थियो। पहिलो पत्नी ऋचा शर्माको ब्रेन ट्युमरको कारण मृत्यु भएपछि उनले रीया पिल्लाईसँग दोस्रो विवाह गरेका थिए। उनीसँग डीभोर्स भएपछि मात्र सञ्जयले मान्यतासँग विवाह गरेका हुन्। पहिलो पत्नीका तर्फबाट एक छोरी त्रिशाला छिन्, तर फिल्ममा यसबारे केही पनि समावेश छैन।

खबरअनुसार फिल्म सञ्जु इन्टरनेट तथा फेसबुकमा लिक भएको छ। एक युजरले अपलोड गरेपछि उक्त फिल्मलाई हालसम्म ५० हजार व्यक्तिले शेयर गरेको बताइएको छ। रणवीरका फ्यानहरू भने यसप्रति रिसाएका छन्। उनीहरूले हलमै गएर फिल्म हेर्न पनि अपिल गरेका छन्।

सञ्जुका लागि रणवीर कपुरले निकै मेहनत गरेका थिए। पोस्टरमा उनको लुुक्स हेर्दा पनि यो प्रस्ट हुन्छ। फिल्ममा उनको साथ परेश रावल, विकी कौशल, अनुष्का शर्मा, मनीषा कोइराला तथा दिया मिर्जाको मुख्य भूमिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्