मौलिक नृत्यमा ईपीएस अब्बल



बेबिलोन नेसनल स्कुल शान्तिनगर, काठमाडौंले आइतबार आयोजना गरेको दोस्रो उपत्यकाव्यापी राष्ट्रिय नृत्य तथा वाद्यवादन प्रतियोगिताअन्तर्गत मौलिक नृत्य प्रतियोगितामा एनके सिंह मेमोरियल स्कुल ईपीएस प्रथम भएको छ।

त्यसैगरी गोल्डेन पीक हाइस्कुल द्वितीय, ग्लोबल पब्लिक स्कुल तृतीय र डिलाइट किन्डरगार्टेन मावि सान्त्वना भएको छ। प्रतियोगिताको अर्को चरणमा बागमती स्कुल, सुकेधारा पहिलो, ओडिसी इन्टरनेसनल एकेडेमी दोस्रो र डल्लु आवासीय मावि तेस्रो तथा डिलाइट किन्डरगार्टेन मावि स्कुल सान्त्वना भएको छ। विजयी विद्यालय तथा विद्यार्थीलाई राष्ट्रियगानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला), बेबिलोन एजुकेसन फाउन्डेसनका अध्यक्ष तेजबहादुर राई तथा संस्थापक प्रिन्सिपल राजु राईले ट्रफी र प्रमाणपत्र प्रदान गरे।

कार्यक्रममा ९९ वर्ष प्रवेश गरेका शताब्दि पुरुष एवं इतिहास तथा संस्कृतिविद् सत्यमोहन जोशीले संगीत नै अन्तर्राष्ट्रिय भाषा भएको चर्चा गरे। सो अवसरमा जोशीलाई १५ हजार ५ सय ५५ रुपियाँ नगद र ताम्रपत्रसहित बेबिलोन स्रष्टा सम्मान–२०७५ बाट सम्मान गरिएको थियो।

प्रतियोगितामा उपत्यकाका २२ विद्यालयका विद्यार्थी सहभागी थिए। कार्यक्रममा व्याकुल माइलाले नेपालका मौलिक कला संस्कृति बाजागाजा र नृत्य क्रमशः लोप हुन लागेको वर्तमान अवस्थामा बेबिलोन स्कुलले त्यसको संरक्षणको लागि आयोजना गरेको प्रतियोगिताको प्रशंसा गरे।

प्रतिक्रिया दिनुहोस्