पुस्किनको सम्झनामा सुनौलो माछा



रुसी साहित्यकार अलेक्जेन्डर पुस्किनको सम्झनामा हरेक वर्ष जुन ६ मा विभिन्न कार्यक्रम गर्ने गरिन्छ। २ सय १९ वर्षअघि रुसमा जन्मेका पुस्किनको सम्झनामा राजधानीमा पनि एक कार्यक्रम भयो।

रुसी सांस्कृतिक केन्द्र र शैली थिएटरले संयुक्तरूपमा पुस्किनको कथामा आधारित नाटक माझी र सुनौलो माछा मञ्चन ग¥यो। नाटक मन्चनअघि पुस्किनसँग सम्बन्धित विभिन्न डकुमेन्ट्री र पुस्तक प्रदर्शनी गरिएको थियो।

अनावश्यक लोभले जीवनलाई संकटतर्फ लैजान्छ भन्ने सन्देश बोकेको यो नाटकमा माझी, उनकी श्रीमती र सुनौलो माछा मुख्य पात्र हुन्। माझीले समुद्रमा माछा मारेर बेची आफ्नो परिवारको आवश्यकता मुस्किलले पूरा गर्छ। एकदिन माछा मार्दा एक सुनौलो माछा फेला पार्छ। माछाले आफूलाई छाडिदिए उसले भनेको पूरा गरिदिने बाचा गर्छ।

मान्छेजस्तै गरी बोलेको माछालाई दयालु माझीले छोडिदिन्छ। तर उसको श्रीमतीले माझीलाई फेरि समुद्र गई घरमा आवश्यक कुरा माग्न लगाउँछिन्। सुनौलो माछाले उक्त आवश्यकता पूरा गरिदिएपछि माझीको श्रीमतीलाई लोभ पलाउँछ। अब पालैपालो आफ्नो श्रीमानलाई भनी ऊ आफ्ना लागि दरबार, अनि आफू धनी मान्छे र रानी बन्ने चाहना पूरा गराउँछिन्। अन्तिममा उनले सुनौलो माछालाई नै आफ्नो नोकर बनाउने चाहना राखेपछि प्राप्त सबै सुख सुविधा हराउँछ। उनीहरू फेरि पहिलेको अवस्थामा नै पुग्दछन्।

आर्यन न्यौपानेद्वारा निर्देशित अंग्रेजी भाषाको नाटकमा सशांक बोहोरा, स्नेहा पौडेल, श्रस्था घिमिरे, सुभम ज्ञवाली, रोविन तामाङ, सुवास सुवेदी, सदीन लुईंटेल, शिशिर अर्याल, देवेन्द्र बब्लु र दीपिका राईले अभिनय गरेका थिए। संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति सरुभक्तले नाटकको प्रशंसा गर्दै साहित्यिक कार्यक्रमका बीचमा थोरै सामग्रीको प्रयोगमा वास्तविक लाग्ने बिम्बको प्रयोग गरी मन्चन भएको बताए। कार्यक्रममा जंगम चौहान, डा. गीता त्रिपाठी, मोमिला, फ”लमान बल, आन्तोंन मास्लोलगायत अन्य कविले नेपाली र रुसी कविता सुनाए भने जुजुकाजी रंजित, रमेश मास्के, कुलबहादुर थापाले गीत संगीत प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्