“एकता त भयो काम धेरै बाँकी छ”

0
Shares

राम कार्की
स्थायी समिति सदस्य,
नेपाल कम्युनिस्ट पार्टी

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी बनेको छ। नयाँ पार्टी गठनसँगै नेकपाले आगामी नीति र कार्यक्रम कस्तो बनाउँछ भन्ने सर्वत्र चासो बढेको छ। नेकपाले ९ सदस्यीय सचिवालय, ४५ सदस्यीय स्थायी समिति र ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीको घोषणा गरेको छ। यसै विषयमा नेकपा पार्टीको आगामी बाटो, चुनौतीलगायतको विषयमा केन्द्रित भएर नेपाल समचारपत्रका लागि मधुसूदन रायमाझी र दीपेन्द्र थापाले गरेको कुराकानी:

लामो समयको उतारचढावपछि दुई पार्टी मिलेर नेपाल कम्युनिस्ट पार्टी गठन भएको छ। अबको यात्रा कसरी अगाडि बढ्छ?

–पार्टी एकता हुनुपूर्व विभिन्न कोणबाट आशंका थियो र अहिले पनि छ। कम्युनिस्ट पार्टीहरूबीचको एकता हुँदा आफ्नो वर्चस्व गुम्ने आशंका पाल्नेहरू पनि थिए। निर्वाचनमा मतदान गर्ने मतदाताले पनि आशंका व्यक्त गरेका थिए। मुख्यरूपमा अहिले आम जनता र कम्युनिस्ट समर्थन जनतालाई यो विश्वास दिलाउनुपर्छ कि तपाईंहरू निस्क्रिय रहेर मतदान गरेका भरमा समाजवादको लक्ष्यमा पुग्न सकिँदैन। तपार्इंहरू सदैव लाग्नुपर्छ। तपाईंहरूले सधैं खबरदारी र सजग गराउनुपर्छ। यी कुरा जनतालाई बुझाउनुपर्छ।

अर्को चिन्ता भनेको यसको वैचारिक राजनीतिक सिद्धान्त के त? कुन विचार राजनीतिको आधारमा एकता भएको छ। त्यसका लागि वैचारिक राजनीतिक आधार तयार गर्नुपर्छ। एउटा त विचारधारात्मक रूपमा स्पष्टता हुनुपर्छ। अर्को कुरा नेतृत्वको कुरा हो। संगठनको कुरा, अब पहिला–पहिला संगठनहरू नोकरशाही भए भन्ने कुरा आए।

त्यसले गर्दा संगठन र संगठनको बलमा प्राप्त हुने जति पनि उपलब्धि छन् त्यसलाई सधैंभरि जनताको निगरानीमा राख्ने संयन्त्र के हो? कस्तो संयन्त्र बनाउँदा जनताले त्यसलाई निगरानी गर्न पाइरहन्छन्? नत्र कम्युनिस्ट पार्टी स्वयं नै नोकरशाही संयन्त्र बनेर जनताले त्यसलाई मिल्काएको इतिहास देखेका छौं। अहिले एकता भएको छ तर धेरै कामहरू बाँकी छन्।

अहिले पनि किसानहरू ठूलो संगठितरूपमा आन्दोलन गरुन्। विद्यार्थी र शिक्षकले शिक्षाको स्तरोन्नती राम्रो बनाउनका लागि नेपालमा चाहिने शिक्षा पाठ्यक्रममा सुधार ल्याउन निजी सार्वजनिक अवधारणाको बारेमा आन्दोलन गर्नुपर्छ। त्यो आन्दोलनको जगमा शिक्षा नीतिमा ठूलो परिवर्तन ल्याउन सक्छ। तर किसान, विद्यार्थी आन्दोलित रहेनन् र उनीहरू निस्क्रिय बन्न पुगे भने एउटा मन्त्री छानिँदैमा समाजवादको पक्षमा परिवर्तन ल्याउन सक्दैन।

निकै ठूलो टुटफुट विभाजनको शृंखला पार गर्दै दुई कम्युनिस्ट पार्टीबीच एकता भएको छ। सैद्धान्तिक र वैचारिक रूपमा कम्युनिस्टले उठाउने कुरा र व्यवहारमा हेर्दा निकै फरक देखिन्छ नि किन होला?

–यो सबै कुरा सोचकै कुरा हो। हाम्रो सोच र चिन्तन हो। एउटै घरको मान्छे एउटा छोरो जीविकोपार्जनसँगै छोरा नातीका लागि कस्सिएको देखिन्छ। त्यही परिवारको अर्को सदस्य जोगी भएर हिँडेको देखिन्छ। यो चिन्तन हो। यो विषयमा छलफल हुन जरुरी छ। संघर्ष भनेको के हो? कम्युनिस्टले शसस्त्र संघर्षलाई एउटा मात्र विधि र पद्धतीमा बुझ्ने कुरा भयो। शसस्त्र संघर्ष त्यागेपछि अरू केही चाहिँदैन जस्तो भयो। संघर्षका विभिन्न रूपहरू हुन्छन्।

शसस्त्रको बाटो लिने कि शान्तिपूर्ण बाटो लिने? परिस्थिति, वर्गशत्रुको रणनीति तमाममा निर्भर रहने कुरा हो। त्यसैले संघर्षको जुनसुकै रूप अपनाए पनि कम्युनिस्टको नैतिक आचरण, विधि, जीवनपद्धती त रहिरहनुपर्छ नि? तर सशस्त्र संघर्षमा सामेल हुँदा सबै कुरा त्याग गर्न तयार हुने। नैतिकवान हुने मात्र होइन ज्यान पनि दिन तयार हुने। अनि संशस्त्र संघर्ष त्याग्नासाथ त्यही मान्छे अर्को रूप हामी देख्छौं। हामीले यो बुझाउन सकेनौं। संघर्षका विभिन्न रूप हुन्छन्। कम्युनिस्ट अभियानलाई पारदर्शी बनाएर लैजानुपर्छ। यो केबल मितव्ययीताको कुरा मात्र होइन। जनतालाई पनि के पर्यो भन्दा शुरूमा कम्युनिस्टको जुन रूप देखे। फाटेको लुगा फाटेको चप्पल, ननुहाएको त्यो खोलाको बिम्ब बनेर बस्यो।

जनतालाई हामीले के बुझाउनुपर्दथ्यो भने परिस्थितिमा फेरबदल आएको छ। फेरिएको परिस्थितिमा जीवनशैली, जीवनपद्धती पनि फेरिएको हुन्छ भनेर बुझाउन सकिएन। कम्युनिस्ट पनि मान्छे हो। उसको पनि व्यक्तिगत इच्छा चाहना हुन्छन् भन्ने बुझाएको भए जनताले बिस्तारै पछ्याउँदै लैजान्थे। अहिले पनि २०३४ सालको कम्युनिस्ट हेरेर अहिलेको कम्युनिस्टलाई हेर्ने गरिएको छ। हिजो माला पनि व्यवस्था नगरिकन विवाह गर्ने, अहिले १० लाख विवाहमा खर्च गर्ने, पार्टी पनि थरिथरिका गर्ने, यो खोलको पाखण्ड आउनुमा धेरै समस्या रहे। हिजो परिस्थिति थियो आज परिस्थिति फेरिएको छ। कोही साथी, आफन्त मर्छ। हिजो त्यसलाई शक्तिमा बदल्ने भनेर हिँडियो। आज कपाल काटेर जुठो बारेर बसेका छन्। यस्तो गतिछाडा ताल भयो। कम्युनिस्ट पार्टी पारदर्शी हुनुपर्छ।

कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताको जीवनबाट अरूले अनुकरण गर्ने हुनुपर्छ। १३ दिनलाई ३ दिनमा ल्याउनु पनि ठूलो कुरा हो। यसका लागि कम्युनिस्टले अर्को तरिका ल्याउनुपर्यो। शोक लाग्छ, आँसु त आउँछ, चिन्ता त हुन्छ। कसरी शोक मनाउने त भन्ने वैकल्पिक पद्धती त दिनुपर्यो नि।

पूर्व माओवादी केन्द्रले अडान राख्दै आएको बराबरी हैसियत छाडेको भन्दै असन्तुष्टि छ भने एमालेकै भित्र पनि सांगठनिक विषयलाई लिएर असन्तुष्टि देखिन्छ नि?

–यी पनि कुराहरू हुन्। तर यी धेरै महत्त्वका कुरा होइनन्। अरू धेरै महत्त्वका छन्। अब शसस्त्र संघर्षमा जाँदा चुनाव चिह्नको के मतलब? संघर्षको भोलि रूप फेरियो भने? हामीले शान्तिपूर्ण संघर्ष भनेका छौं। हाम्रो वर्गशत्रु हतियार बोकेर आयो भने के गर्ने? संघर्षको कुन रूप लिने भन्ने परिस्थिति तमाम कुराले तय गर्ने कुरा हो। हिजो उठाइएका जनताका पक्षका मुद्दाहरू छन्। त्यसमा अब नयाँ पार्टीले के गर्छ? त्यो महत्त्वपूर्ण कुरा हो।

हेडक्वार्टर जहाँ राखे पनि त्यसले अन्तर पार्दैन। तर, मुख्य अन्तर पार्ने भनेको यसले बनाउने कार्यक्रम, नयाँ पार्टीले लिने लक्ष्य, विकास रणनीति हो। अहिले विकासकै कुरा बढी चलिरहेको छ। विकास भनेको बाटोघाटो, पुल हो कि के हो? ती पनि विकासको संसाधन हुन्।

मुख्य विकास भनेको त मान्छे होला। समाजवादीले सबैभन्दा बढी ध्यान दिने भनेका सामाजिक वर्गलाई हो। उदाहरणका लागि झापामा १८ लेनको सडक बन्यो ठूला–ठूला गाडी गुडे। तर, त्यहाँ किनारामा चिया मजदुरको दैनिकीमा केही सुधार आएन भने के अर्थ? यी चिजहरू पार्टीको दस्ताबेजमा रहन्छ कि रहँदैन? जीवन व्यवहारमा लागू हुन्छ कि हुँदैन? त्यो प्राप्त गर्न पार्टीले प्रयत्न गर्छ कि गर्दैन? त्यो महत्त्वपूर्ण कुरा हो। कार्यकर्ता र समर्थन जनतालाई पनि अनुरोध छ, खबरदारी र निगरानी निरन्तर रहनुपर्यो। पार्टीले त्यो लाइन लिनुपर्यो।

पार्टी पुनर्गठन गर्दा नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारेको घोषणपत्रअनुसार अगाडि बढ्ला?

–पहिला कार्यक्रम तय भएपछि नारा तय गर्ने हो। अहिले त हामीले आपत् पर्दाखेरी कुशको ब्राह्मण बनाएर काम चलाएकोजस्तो गरेका छौं। मुख्यरूपमा हामीले बनाउने दस्ताबेज, कार्यक्रम, संगठनात्मक सिद्धान्तलाई त्यो कुरा महत्त्वपूर्ण हो।


अब नेपाल कम्युनिस्ट पार्टीले कस्तो कार्यक्रमका साथ जनताको बीचमा जान्छ?

–पहिलो महत्त्वपूर्ण कुरा प्राथमिकता छनोट गर्दा, नीति निर्माण गर्दा तल्लो तहको जनतालाई पनि सहभागी गराउनुपर्छ। अब नेपालको विकासको रणनीति के हुन्छ? दुईवटा एक्सपोर्ट र एउटा नेता विशेषले तय गर्ने कुरा होइन। यसमा ठूलो संख्यामा जनताको सहभागिता हुनुपर्छ। नेपालको शिक्षा कस्तो हुनुपर्छ भनेर गाउँघर, शहर टोलटोलमा बहस र छलफल हुनुपर्छ।

पार्टी कमिटी, जनवर्गीय संगठन त्यो काममा लाग्नुपर्यो। अहिले बाटोघाटो र पुलको माग बाकेर काठमाडौं आउने कार्यकर्ताले त्यो दस्ताबेज पनि लिएर आउनुपर्यो नेपालमा विकासको बाटो, शिक्षा, स्वास्थ्य यस्तो हुनुपर्छ भनेर।

नेपालमाा कति शिक्षित जनशक्ति चाहिएको छ? कति डाक्टर चाहिएको छ? नीति निर्माण तहमा कार्यकर्ता सहभागि हुन पाएनन् भने उनीहरूले छलफल गर्न पाएनन् भने बिस्तारै उनीहरूमा निराश तटस्थता, आत्मविश्वास र सिर्जनशीलता गुमाउँदै जान्छन्।

हाम्रो तीसौं हजार गाउँ, शहरका गल्लीहरुमा, विद्यालयमा, कारखानामा अस्पतालमा यो सब ठाउँमा छलफल गर्नुपर्छ। पहिलो र प्राथमिक कुरा यही हो। हामीले भन्छौं, इतिहासका निर्माता जनता हुन्। माक्र्सवादको सिद्धान्त पनि यही हो। चाहेअनुसार होइन, आवश्यकता र परिस्थितिअनुसार हुन्। ज्ञान र शक्तिका स्रोत जनता हुन् भने बुझाइ व्यवहारमा देखिनुपर्यो। ज्ञानको स्रोत जनता हो भनेर भटभट्याउने अनि ज्ञानको स्रोत जनताले के बुझेका हुन्छन् भनेर हामीले भन्ने गलत चिन्तन हटाउनुपर्छ।

समृद्धि र विकास नेकपा पार्टीको नारा नै बनेको छ। नेपालको शिक्षा र स्वाथ्य क्षेत्रमा देखिएको विभेद बढ्दो छ। यसरी समाजवादमा पुगिएला?

–विकास भनेको राजनीतिक कुरा हो। अर्थतन्त्र भनेको राजनीतिक एउटा सानो पाटो मात्र हो। माक्र्सवादलाई खुम्च्याएर अर्थशास्त्र बुझ्ने कुरा। माक्र्सले आधार र उत्पादन प्रमुख हो भनेर भन्नुभयो भन्ने, सिंगो माक्र्सवादलाई नबुझ्ने। माक्र्सले भनेको महत्त्वपूर्ण कुरा नै हो, आधार र परिसंरचनालाई मात्र समातेर हिँड्ने। मुख्य कुरा आर्थिक विकास हो। मुख्य कुरा अर्थतन्त्र हो।

आर्थिक विकास भनेको राजनीतिक कुरा हो। कम्युनिस्टले अर्थशास्त्र मात्र भन्दैनांै। राजनीतिक अर्थशास्त्र पनि भन्छौं किनकि राजनीतिकबाट गाइडेट हुन्छ। राजनीतिक क्रान्तिले पुरानो आधारलाई सिध्याउँछ र नयाँ आधारमार्फत अगाडि बढ्ने कुरा हो। यहाँ राजनीतिक सोझ्याउने कुरा नै प्रमुख हो। राजनीति छोडिदियौं, अहिले आर्थिक समृद्धि र विकासको मुद्धा प्रमुखरुपमा आएको छ।

दोस्रो कुरा व्यक्तिको आधारभूत स्वतन्त्रताको प्रक्रियालाई विकास भनिन्छ। हामी त्यो विकासमा जानु छैन। जहाँ शहरमा केही खर्बपतीहरू बढ्छन् र त्यसको परिणाम करोडौं जनताचाहिँ घरबारविहीन बन्न पुग्छन्। स्वास्थ्य र शिक्षाबाट वञ्चित बन्न पुग्छन्। त्यस्तो विकासको मोडल हामीलाई चाहिएको छैन। हामीले पहिलो कुरा स्वास्थ्य भनेको शरीर हो। शिक्षा भनेको मस्तिष्क हो। शरीर र मस्तिष्क नै अरूको उपनिवेश बन्यो भने अनि जग्गा जमिन इत्यादिको के कुरा हुन्छ र? पहिला हाम्रो आफ्नो शिक्षा हुनुपर्यो।

अहिले बिलम्ब नगरी के पत्ता लगाउनुपर्यो भने नेपालमा शिक्षित जनशक्ति कति छ? अब आगामी २० वर्षमा कस्तो शिक्षित जनशक्तिको आवश्यकता पर्छ? हामीलाई डाक्टर कति चाहिने हो? ईन्जिनियर कति चाहिने हो? पाइलट कति चाहिने हो? कृषि विशेषज्ञ कति चाहिने हो? हामीसँग योजना हुनुपर्यो। २० वर्षपछि उनीहरूलाई कहाँ–कहाँ रोजगारी दिन्छौं। सधैं भरि यो सोच्नु भएन कि हाम्रा युवा कतार मलेसिया जान्छन?

नेपालमा नै उनीहरूले भूमिका पाउने योजना बनाउनुपर्यो। आफ्नो स्वास्थ्य र शिक्षा हुनुपर्छ। उदाहरणका लागि झन्डै ७० वर्षको नाकाबन्दी झेलेर पनि क्युबा अहिले पनि समाजवादी देशको रूपमा बाँचिरहेको छ। त्यसको प्रमुख कारण उसको शिक्षा र स्वास्थ्य आफ्नो छ। उसले आफ्नै स्वास्थ्य भनेर शुरू गर्यो। क्युबाको शिक्षा र स्वास्थ्य उपचार पद्धतीलाई चुनौती दिने देश संसारमा नै छैन। हिजो विभिन्न देशलाई मुक्त गर्न बन्दुक दिएर गुरिल्ला पठाउँथ्यो। अहिले डाक्टर पढाउँछ। महिलाहरूको सहभागिता संसारमा नै त्यही छ। ५५ प्रतिशत महिला उच्च तहमा हावी छन्। उच्च तहमा पुरुषको सहभागिता ४५ प्रतिशत मात्र छ। त्यहाँ जातीय प्रश्न नै उठ्न छोड्यो।

क्युबाको समाजवादले सबैलाई मान्छेको व्यवहार गर्यो। उसले जात चिनेन। जो पिछडिएका जात थिए उनीहरूलाई वर्गको नाममा यसरी माथि ल्यादियो कि उनीहरूले पत्तो नै पाएनन्। यो सबै कुरा ख्याल गरेर हाम्रो संगठनात्मक कार्यदिशा तय गर्नुपर्छ।

नेपालमा स्वास्थ्य र शिक्षा निःशुल्क सम्भव छ कि छैन?

–हामी राजनीतिक, आर्थिक, शैक्षिक विकल्प चुन्न स्वतन्त्र हुनुपर्यो। हामीले विकल्प चुन्न पाउनुपर्यो। अरूले भनिदिएर भएन। हाम्रो घरको प्राथमिकता अरूले भनिदिनुभएन। हामीले नै निर्धारण गर्नुपर्छ। हामीले जनतालाई सहभागी गराएर निर्धारण गर्ने हो। अहिले नेपालको पहिलो प्राथमिकता जलस्रोत हो कि, कृषि हो कि, पर्यटन हो कि भन्ने कुरा कसले तय गर्ने? नेपाली जनतासँग हामीले छलफल गरेका छौ? नेपाली जनताले सबै कुरा तय गर भनेर भोट हालेका हुन्? सबै सोच्ने कुरा जिम्मा लगाएको त होइन होला।

त्यसैले उनीहरूलाई त्यसमा सहभागी गराउनुपर्यो। ४ वर्ष अमेरिका र अष्टे«लिया बसेर आएकाले दिने सल्लाह होइन। हाम्रो बानी छ विदेशमा भाँडा माझेर बसेको हुन्छ। नेपालमा आएर भाँडा माझेर बसेको अनुभव लेखिदिए त राम्रो हुन्थ्यो। तर शिक्षाको बारेमा लेख्छ। हाम्रो शिक्षाको आवश्यकता कस्तो हुने? हुम्ला र सप्तरीमा एउटै शिक्षा दिएर हुँदैन, फरक–फरक चाहिन्छ। हाम्रो स्वास्थ्य भारतीय कम्पनीको फर्मुलाले तयार गर्ने म्याच भइसकेको छ। भारतले तयार गरेको औषधि नखाएसम्म हाम्रो स्वास्थ्यले चिन्दैन। अब नेपालका भावी पुस्तालाई नेपालमा नै बन्ने औषधिले चिन्ने बनाउनुपर्यो। हाम्रो आवश्यकता नुन भुटुनको छ। अब छिमेकी फर्सी लिएर आइपुग्छ। उसको बारेमा फर्सी फल्यो। यसको दाम पछि दिए पनि हुन्छ। उसले फर्सी दियो भनेर हामी जहिले पनि निहुरिनु पर्ने यो गलत छ।

राजनीतिक दलका नेताहरू पारदर्शी हुनुपर्छ कि पर्दैन?

–राननीतिक दलका नेता पारदर्शी हुनुपर्छ। तर, मिडियाले पारदर्शी नै हुन दिँदैन। खाना खाएको विषयले चर्चा पाउँछ। सुत्ने खाटको अनावश्यक चर्चा गरिन्छ। करोडौंको खाटको चर्चा छैन, प्रचण्डले एक लाखको खाटमा सुतेको चर्चा हुन्छ। नेताले खोला नदी नखाओस्, देशको स्वाभिमान बेचेर नखाओस्, मासुभात खाओस्। अनि लुकाएर खाँदा त के के खान्छ खान्छ? यहाँ राजनीतिक पार्टीले राजनीतिकबाहेक सबै कुरा गरिरहेका छन्। अरू पेसाका मानिस सबै राजनीति गरेर बसेका छन्। राजनीतिक पार्टीले राजनीति गर्नुपर्छ। राजनीति नगर्नाले पनि बिग्रियो।

संविधानमा नै समाजवाद उन्मुख भनेर उल्लेख गरिएको छ। अब त्यसको आधार तयार भएको हो?

त्यो त एउटा संकल्पको कुरा हो। यत्रो जनताले भोट दिएको त समाजवादकै निम्ति हो। त्यसमा हामी कति खरोरूपमा उत्रिन्छौं। जनवादी केन्द्रीयताको सिद्धान्त अपनाउने भनिएको छ। मेरो ६० वर्षको अनुभवमा कम्युनिस्ट पार्टीले जनवादी केन्द्रीयता अपनाएको देखाएको छैन। त्यो लागू भएको देखिँदैन। जनवादी केन्द्रीयता लागू नै गर्न नसकिने भएर लागू नगरिएको हो कि? त्यो छलफलको विषय हो। लेलिनले जनवादी केन्द्रीयताको जुन सांगठनिक संरचना भनेका छन्– ‘विभिन्न देशका कम्युनिस्ट पार्टीले आफ्नै मौलिक संगठनात्मक सिद्धान्त तयार गर्नुपर्छ।’ हामी आफ्नै संगठनात्मक सिद्धान्त तयार नपार्ने, लेलिनवादी संगठनात्मक सिंद्धान्त अपनाउछौं भन्ने। लेनिनको पनि नअपनाउने यता आफ्नो पनि नबनाउने?

नेकपा पार्टीको अबको चुनौती के हो?

–यति ठूलो हाम्रो संगठन छ। यसलाई सैद्धान्तिक, राजनीतिक आधार प्रदान गर्नु र जग माथि उभ्याउन सबैभन्दा ठूलो चुनौती छ। जसले गर्दा हरेक मानिसले मैले भूमिका पाएको छु भन्ने बोध गरोस्। भूमिका नहुने म पार्टीमा छु भनेर हिड्ने अवस्था सिर्जना नहोस्।

५ वर्षको अवधिमा साँच्चिकै नेपाली जनतालाई अपेक्षाकृतरूपमा सकारात्मक सन्देश दिन सक्छ?

–दिन सक्नुपर्छ, प्रयास गर्नुपर्छ। २० वर्षपछिको नेपाल कस्तो बनाउने भन्ने लक्षण देखिनुपर्छ।

 

Skip This