केकीको कोहलपुर एक्सप्रेसलाई करोड

0
Shares

नायिका केकी अधिकारीद्वारा पहिलोपटक निर्मित फिल्म कोहलपुर एक्सप्रेसले १ साता बित्दा नबित्दै १ करोड रुपियाँ बढी कमाइ गरेको छ। फिल्मले कम शो पाए पनि राजधानीका मल्टिप्लेक्स हलबाट १ करोड बढीको कमाइ गरेको हो।

नायिका तथा निर्मात्री केकीका अनुसार फिल्मले रिलिजको छैठौं दिन बुधबारसम्म १ करोड रुपियाँको व्यापार गरेको छ। ओपनिङमा आंशिक कमाइ गरे पनि फिल्मले पछि गएर पिकअप लिएको थियो। फिल्मले पछिल्लो समयमा राजधानीका मल्टिप्लेक्स हलमा हाउसफूलको व्यापार गरेपछि यसले करोड क्लबमा दर्ता हुने मौका पाएको हो।

विशाल भण्डारीको डेब्यु निर्देशनमा बनेको फिल्म महिलाप्रधान छ। यो फिल्मलाई ३ नायिका प्रियंका कार्की, केकी अधिकारी र ऋचा शर्माले हाँकेका छन्। कमेडी जेनेराको फिल्ममा यी ३ सुन्दरीका साथमा विनोद न्यौपाने, बुद्धि तामाङ, रवीन्द्र झा, कुशाग्र भट्टराईलगायतले अभिनय गरेका छन्।

फिल्म करोड क्लबमा प्रवेश गरेको अवसरमा केकीले केक काटेर खुसी सेयर गरेकी छिन्। बिहीबार राजधानीमा आयोजित एक समारोहका बीच केकीका साथमा प्रियंका र ऋचालगायतले केक काटेर खुसी सेयर गरे। केकीले फिल्मलाई दर्शकले साथ दिएको बताइन्। ‘रिलिजको शुरूआती दिनमा दर्शकको उत्साहजनक उपस्थिति नरहे पनि सोमबारबाट फिल्मले पिकअप लियो र ७औं दिनमा आइपुग्दा हामी करोड क्लबमा सामेल हुन सफल भयौं’, केकीले भनिन्– ‘दर्शकलाई हलसम्म तान्न मेल स्टार नै हुनुपर्छ भन्ने मान्यता महिलाकेन्द्रित कोहलपुर एक्सप्रेसले चिरेको छ।मेरो सोच ब्लकबस्टर फिल्म बनाउँछु भन्ने थिएन, ओपनिङ व्यापक हुन्छ भन्ने पनि थिएन। यतिका वर्ष यही फिल्म क्षेत्रमा बिताएपछि किन योगदान नगर्ने भन्ने हिसाबमा फिल्म निर्माण गरेकी थिएँ र आज सफल पनि भएँ।’