लमजुङबाटै पहिलो गुरुङ फिल्म

0
Shares

लमजुङ, (नेस)। लमजुङमा स्थापित पहिलो गुरुङ फिल्म कम्पनीद्वारा निर्माण गर्न लागिएको पहिलो गुरुङ फिल्मको बेंसीशहरमा शुभमुहूर्त गरिएको छ।

गुरुङको जातीय पहिचानका लागि विभिन्न योगदान दिँदै सामाजिक र शिक्षाका क्षेत्रमा समेत सक्रिय ७७ वर्षीय कप्तान रणबहादुर गुरुङले गुरुङ फिल्म मेदोंको शुभारम्भ गरे।

मेदों फिल्म प्रालि लमजुङले निर्माण गर्न लागेको फिल्मको नाम पनि मेदों नै राखिएको छ। मेदोंको नेपाली अर्थ सिटा भन्ने हुन्छ। उहिल्यै गाउँघरमा बिजुली बत्ती, लाल्टिन तथा अन्य प्रकाशको व्यवस्था नहुँदा मानिसहरूले रातको समयमा एक गाउँबाट अर्को गाउँ जानका लागि तथा अन्य विशेष कामले बाहिर जानु पर्दा उज्यालोका लागि सिटा बालेर हिँड्ने प्रचलन थियो।

कुनै बेला त्यो कार्य पनि संस्कृति जस्तै थियो। त्यस्तो कार्य पछिल्ला ३ दशकमा कम उमेरका लागि कथा जस्तो भएको छ भने त्यो उमेर समूह माथिकाका लागि पनि सम्झनामा मात्र छ। यस्तै लोपोन्मुख गुरुङ लोक संस्कृति, भाषा, कला आदिको संरक्षण र प्रबद्र्धन गर्ने हेतुले उक्त गुरुङ फिल्मको निर्माण गरिन लागेको कम्पनीका अध्यक्ष शंकर गुरुङ ‘बतासे’ले बताए। उनका अनुसार चलचित्रको पूरै छायांकन लमजुङमै हुनेछ। वैशाख २६ गतेका दिनदेखि २५ दिनभित्र छायांकनको काम सक्ने योजना छ।

२१ लाख रुपियाँको लागतमा निर्माण हुने फिल्म राजेश गुरुङले निर्देशन गर्दैछन्। फिल्ममा अधिकांश कलाकार लमजुङकै रहेको निर्देशक गुरुङले बताए। नायिका मञ्जु गुरुङ भने गोरखाकी हुन्। अर्की नायिकामा खिमा गुरुङ र नायकमा खेमराज गुरुङ रहेका छन्। जातीय विभेदलाई उजागर गर्ने चेतनामूलक फिल्ममा पूरै गुरुङ भाषाको प्रयोग गरिनेभएको छ।