सर्वनाममा अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव



पछिल्लो समयमा नाटकसँगै कलामा समेत सक्रिय रहँदै आएको सर्वनाम थिएटरले अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव आयोजना गर्ने भएको छ। विगतमा पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्सवहरू आयोजना गर्दै आएको सर्वनामले आगामी अप्रिल २ देखि ५ तारिखसम्म एक साता अन्तर्राष्ट्रिय एकल नाटक महोत्सवको आयोजना गर्न लागेको हो।

महोत्सवमा बेलायत, फ्रान्स, भारत, बंगलादेश, हङकङ, जर्मनी, फिलिपिन्स, स्कटल्यान्ड, नेदरल्यान्डलगायत विश्वका विभिन्न देशका साथै नेपालका प्रस्तुतीहरू पनि रहने सर्वनामले जनाएाके छ। करिब १ दर्जन देशका ३ दर्जन रंगकर्मीकोे सहभागिता रहने महोत्सवमा रंगमञ्चसम्बन्धी अन्तरक्रिया, छलफल तथा कार्यशालासमेत गरिने भएको छ।

‘नाटक प्रस्तुतीका साथै उत्सव अवधिमा विश्वका प्रख्यात निर्देशकहरूबाट नेपाली रंगकर्मीका साथ तालिम तथा कार्यशाला पनि आयोजना हुनेछ।’ –महोत्सवको बारेमा जानकारी गराउँदै निर्देशक अशेष मल्लले बताए। ‘नेपालमा यही क्रममा विश्वमै हाल सक्रिय रंगकर्मीका प्रस्तुती र प्रयोगलाई नेपालका दर्शक तथा रंगकर्मीमा अवलोकन गर्न÷गराउन आवश्यक छ। विश्वकै रंगकर्मीलाई नेपाली रंगकला अवलोकनका साथै नेपालमा पनि विश्वका रंगकर्मीलाई भित्याउन सके मुलुकको पर्यटकीय गतिविधिमा समेत टेवा पुग्न सक्ने महसुस गरेका छौं’, मल्लले भने– ‘चुनौतीका हिसाबले सर्वनामले बिनाबजेट र बिनाप्रायोजक यो कार्यक्रमको आयोजना गर्नु आफैंमा एक चुनौती हो। हामीले यो महोत्सवलाई प्रयोगका रूपमा पहिलोपटक गरेका हांै।’ आगामी वर्षमा अझै परिमार्जित र व्यापकरूपमा महोत्सव गरिने सर्वनामका राज शाहले बताए।

महोत्सवमा १३ नाटक मञ्चन हुनेछन्। नाटक हरेक दिन बिहान ११ बज शुरु हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्