प्रियंका र प्रदीपको टर्की रोमान्स बाहिरियो



रिलिजको तयारीमा रहेको फिल्म लिली बिलीका लागि टर्कीको स्तानबुलमा गएर खिचिएको गीत सार्वजनिक गरिएको छ। आइतबार राजधानीमा आयोजित एक समारोहका बीच सार्वजनिक यो गीतसँगै लिली बिलीकी नायिका प्रियंका कार्की सावर्जनिक भएकी छिन्।

यसअघि सार्वजनिक यो फिल्मको दुई गीतमा प्रियंका देखिएकी थिइनन्। प्रियंका र प्रदीप खड्कालाई एकसाथ देखिने हावा सरी बोलको रोमाञ्चक गीत सार्वजनिक गरिएको हो र
यो वर्षकै अन्तिम दिन अर्थात् आगामी ३० चैतबाट अल नेपाल रिलिज हुने लिली बिलीको यो अन्तिम गीत हो।

गीतको भिडियोमा टर्कीको स्तानबुलको पुरातात्विक धरोहदेखि रमणीय दृश्यलाई छायांकार सुदीप बरालले खिचेका छन्। जर्नी भिडियोका रूपमा तयार गरिएको यसमा चरित्रसँगै स्थानलाई पनि त्यत्तिकै महत्व दिइएको छ। गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ।

दीपेन्द्र घिमिरेको रचना रहेको गीतमा एसडी योगीको संगीत छ भने मेनुका पौडेलसँग एसडीले गाएका छन्। भिडियो सार्वजनिक कार्यक्रममा फिल्मका तीन मुख्य कलाकार प्रियंका कार्की, प्रदीप खड्का र जसिता गुरुङले फिल्म र आफ्नो भूमिका तथा काम गर्दाको समयका क्षण शेयर गरेका थिए।

मिलन चाम्सद्वारा निर्देशित फिल्ममा प्रदीप, प्रियंका र सजितासँगै सविन श्रेष्ठ, मनीष श्रेष्ठ, धु्रव दत्त, अनुपविक्रम शाही, ऋतेश चाम्सलगायतले अभिनय गरेका छन्। फिल्म गोविन्द शाही, सुदीप खड्का र मिलन चाम्सले संयुक्तरूपमा निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्