अमेरिका र उत्तर कोरिया वार्ताप्रति गुटेरस उत्साहित

0
Shares

न्युयोर्क, (एजेन्सी)
लामो समयदेखि तनावपूर्ण सम्बन्धमा रहेका संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच अन्ततः प्योङयाङको विवादास्पद आणविक कार्यक्रमलाई लिएर वार्ता हुने खबरबाट संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस उत्साहित भएका छन्। गुटेरसका प्रवक्ता स्टेफन डुजारिकले शुक्रबार एक वक्तव्य जारी गर्दै यो जानकारी दिएका हुन्।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावअनुसार कोरियाली प्रायद्विपमा शान्ति स्थापनाका लागि भएको प्रयासमा सहभागी नेताहरूको प्रशंसा गर्दै गुटेरसले उक्त कदमप्रति आफ्नो पूर्ण सर्मथन जनाएको वक्तव्यमा उल्लेख छ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले दक्षिण कोरियाका वरिष्ठ प्रतिनिधिमण्डलमार्फत अमेरिकासँगको वार्ताका लागि गरेको प्रस्तावमा बिहीबार ट्रम्पले सहमति जनाएका थिए। साथै आगामी मे महिनामा वार्ता गर्ने ट्रम्पले घोषणा गरिसकेका छन्।

शुक्रबार नै चिनियाँ राष्ट्रपति सी जिन पिङ र अमेरिकी राष्ट्रपति ट्रम्पबीच कोरियाली प्रायद्विपको समस्या समाधानका बारेमा हटलाइनमार्फत वार्ता भएको थियो। वार्ताका क्रममा चिनियाँ राष्ट्रपति सीले कोरियाली प्रायद्विपको समस्या समाधानका लागि अमेरिका र उत्तर कोरियाबीच वार्ता हुने कुरामा आफ्नो सहयोग र समर्थन रहने कुरा बताएको चिनियाँ सरकारी सञ्चारमाध्याम सिन्ह्वाले जनाएको छ।

यसैबीच मे महिनामा नै उत्तर र दक्षिण कोरियाका नेताद्वयबीच पनि वार्ता हुने भएको छ। ट्रम्पले यस वार्ताको परिणाम विश्वकै लागि सुखदायी हुने प्रतिक्रिया दिएका छन्। तर, किमले भने यसबारे केही बोलेको छैनन्।

Skip This