‘वार्ताका लागि अमेरिकाले सर्त कम गर्नु पर्छ’

0
Shares

सोल, (एजेन्सी)
दक्षिण कोरियाका राष्ट्रपतिले उत्तर कोरियासँग वार्ताका लागि अमेरिकाले सर्त कम गर्नुपर्ने र दुई देशले चाँँडो वार्ता थाल्नुपर्ने बताएका छन्। राष्ट्रपति मुन जेइ इनले उक्त कुरा चीनका उपप्रधानमन्त्री लीयु याडाङसँगको बैठकमा राखेको हुन्।

गत आइतबार उत्तर कोरियाका एक वरिष्ठ अधिकारीले मुनलाई उनको देश अमेरिकासँग वार्ताका लागि तयार रहेको जानकारी दिएका थिए। ती अधिकारीहरू दक्षिण कोरियाको प्योङचोङ शीतकालीन ओलम्पिकको समापन समारोहका लागि दक्षिण कोरियामा थिए।

मुनले अमेरिका–उत्तर कोरियाबीच वार्ताका लागि चीनको समर्थन मागेकामा याडाङले चीनले मद्दत गर्ने जवाफ दिएको बताइएको छ। मुनले उत्तर कोरियाले परमाणु हतियार बनाउन बन्द गर्नुपर्ने पनि बताए। तर उत्तरले त्यसलाई पटकपटक अस्वीकार गर्दै आइरहेको छ।

यसअघि अमेरिकाले जबसम्म उत्तर कोरियाले परमाणु हतियार कार्यक्रम परित्याग गर्दैन त्यसबेलासम्म अन्तर्राष्ट्रिय समुदायले उसमाथि सकेसम्म धेरै दबाब बनाइराख्नु आवश्यक भएको बताएको थियो ।