गान्धीको पत्र बिक्रीमा

0
Shares

नयाँदिल्ली, (एजेन्सी)

भारतीय राष्ट्रपिता महात्मा गान्धीले जिसस क्राइस्टका बारे लेखेको पत्र संयुक्त राज्य अमेरिकामा बिक्रीका लागि राखिएको छ। गान्धीद्वारा हस्ताक्षरित सो पत्र सन् १९२६ को अप्रिलमा अमेरिकास्थित धार्मिक व्यक्तित्व मिल्टन न्युवेर्री फ्रान्त्जलाई लेखिएको थियो।

त्यसमा गान्धीले जिसस मानवताका महान् गुरुहरूमध्ये एक हुन् भनी लेखेका थिए। त्यो पत्र लामो समयसम्म निजी संग्रहका रुपमा रहेको थियो। अहिले यो पेनसिल्भानियाको राब कलेक्सनलाई ५० हजार अमेरिकी डलरमा बिक्री हुन लागेको छ।

भारतको स्वाधीनताका लागि अहिंसावादी अभियानको नेतृत्व गरेका गान्धीलाई भारतमा निकै सम्मान गरिने गरेको छ। हिन्दूमार्गी गान्धीले धर्म र दर्शनका बारे धेरै पुस्तक लेखेका छन्।

इसाई धर्मसम्बन्धी एउटा लेख पढ्न गरिएको अनुरोधको सिलसिलामा गान्धीले पश्चिमी भारतीय राज्य गुजरातस्थित सावार्माती आश्रमको आफ्नो निवासस्थानबाट फ्रान्त्जलाई यो पत्र लेखेका थिए।