श्रीदेवीको निधन जटिल बन्दै



बलिउड अभिनेत्री श्रीदेवीको निधनको कारणबारे नयाँ तथ्य बाहिर आएको छ। आफन्तको वैवाहिक समारोहका लागि यूएईको दुबई गएका बेला आकस्मिक हृदयघात भएको भनिए पनि यो विषय रहस्यमय बन्दै गइरहेको छ।

यूएईको स्थानीय अखवार खलिज टाइम्सको खबरअनुसार उनको निधन नशाको हालतमा होटलको बाथटबमा दुर्घटनावशः डुबेर भएको र टाउकोमा चोटको गहिरो निशाना भेटिएको छ। समाचारमा श्रीदेवीको केसलाई भीआईपी ट्रिटमेन्ट नदिइए पनि दुबईको आम कानुनअनुसार सारा प्रक्रिया पूरा गरिएको छ। सोमबार उनको परिवारलाई डेथ सर्टिफिकेट दिइए पनि यसबारे विस्तृत रिपोर्ट अझै बाहिर आएको छैन।

प्रहरीले उनका पति बोनी कपुरसँग तेस्रो पटक सोधपुछ गरेको थियो भने बोनीसँगै श्रीदेवीकी बहिनी श्रीलतासँग पनि प्रहरीले बयान लिएको थियो।

खबरअनुसार दुबईको सरकारी वकिलले उनको पार्थिव शरीर भारत लैजान मञ्जुरी दिइसकेको छ। जाँच पूरा नहुञ्जेलसम्म बोनी र श्रीलताको पासपोर्ट प्रहरीले राखेको थियो। त्यस्तै पुलिस अफिसरको साथ एक मेडिकल टिम पनि काम गरिरहेको थियो। साथै होटलको सीसीटीभी फुटेज पनि प्रहरीले जफत गरेका समाचारमा जनाइएको छ। बेलुका साढे ५ बजे होटलको बाथटबमा अचेत अवस्थामा भेटिएकी श्रीदेवीको निधन अस्पताललले १० बजेर १ मिनेटमा भएको जानकारी दिए पनि यूएई पुलिसले भने उनको निधनको खबर ९ बजे नै दिएको थियो। मृत्युभन्दा एक घण्टाअघि नै कसरी मृत्युको खबर बाहिरियो भन्ने विषयमा पनि प्रष्ट जानकारी आउन नसकेको समाचारमा जनाइएको छ।

आफ्नो भतिज मोहित मारवाहको विवाहमा सरिक हुन पति र छोरी खुसीसहित दुबई पुगेकी श्रीदेवीलाई किन परिवारले एक्लै छोडे? भन्ने प्रश्न पनि उठेको छ। पछिल्लो खबरअनुसार बोनी भतिज मोहितको विवाहमा सामेल हुन फेब्रुअरी १८ मा दुबई पुगेका थिए भने विवाहमा सरिक भएर २१ तारिखमा छोरी खुसीको साथमा भारत फर्केका थिए। उनी लखनउमा भएको एक कार्यक्रममा सहभागी हुन फर्केका थिए। उनी पत्नी श्रीदेवीलाई सरप्राइज डिनर डेट लैजान चाहन्थे। त्यस कारण २४ तारिखमा उनी फेरि दुबई प्रस्थान गरेका थिए। भारतीय अनलाइन पत्रिका वेब दुनियाका अनुसार बोनी बेलुकी साढे पाँच बजे श्रीदेवी बसेको होटलमा पुगेका थिए। १५ मिनेट बोनीसँग कुराकानी गरेपछि श्रीदेवी बाथरुम गएकी थिइन्। १५ मिनेटसम्म बाहिर नआएपछि बोनीले ढोका ढकढक्याएको समाचारमा उल्लेख गरिएको छ। ढोका नखुलेपछि ढोका फोरेर भित्र पस्दा श्रीदेवी अचेत अवस्थामा बाथटबमा डुबेको भेटिएपछि बोनीले उनलाई होटलका स्टाफको मद्दतले उनलाई तुरुन्तै रासिद अस्पतालमा लगिएको थियो र उनलाई अस्पतालले मृत घोषणा गरेको थियो।

बोनीकी दोस्रो श्रीमतीतर्फका छोरा तथा अभिनेता अर्जुन कपुर आफ्नो बुवा बोनी कपुरलाई मद्दत गर्न दुबई पुगेका थिए। केही समयअघि एक अन्तर्वार्तामा अर्जुनले श्रीदेवी र उनका दुई छोरीले मेरो जीवनमा कुनै अस्तित्व राख्दैनन् । श्रीदेवी आमाजस्तो लाग्दैन र आमाजस्तो पनि कहिल्यै हुन सक्दिनन् भनेका थिए। तर यो दुःखको घडीमा उनले पितालाई सहयोग गरेका थिए। उनको निधनको खबर सुनेपछि अर्जुन सुटिङ छोडेर दुबई पुगेका थिए।

उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समवेदना प्रकट गरेका छन् भने बलिउड हस्तीहरूले उनको निधनप्रति दुःख व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्