हवा हवाई गर्ल श्रीदेवीको आकस्मिक हृदयघातबाट दुबईमा निधन



बलिउडकी हवा हवाई गर्ल श्रीदेवीको शनिबार राति यूएईको दुबईमा आकस्मिक हृदयघातका कारण निधन भएको छ। उनी पति बोनी कपुर र छोरी खुसीका साथ भतिज मोहित मारवाहको विवाहमा सहभागी हुन दुबई पुगेकी थिइन्।

५४ वर्षकी उनी एमिरेट्स टावर होटलको बाथरुममा ढलेर बेहोस भएकी थिइन्। त्यसपछि त्यहींको रसिद अस्पताल लगिए पनि डाक्टरले उनी जीवित नरहेको पुष्टि गरेका थिए। उनको निधनले बलिउड नगरी शोकमा डुबेको छ भने उनको घरबाहिर उनका प्रशंसकको भीड लागेको भारतीय सञ्चारमाध्यमले जनाएको छ। पति र छोरीका साथ दुबई गए पनि श्रीदेवीको निधनको समयमा भने उनीहरू मुम्बई फर्किसकेका थिए। श्रीदेवी आफ्नी बहिनी श्रीलताको साथ सो होटलमा बसेकी थिइन्। खबरअनुसार उनको अन्तिम संस्कार भारतमा हुनेछ।


उनको परिवारमा पति बोनी र छोरी खुसीको अलावा अर्की छोरी जान्वी पनि छिन्। जान्वीको पहिलो फिल्म धडकको सुटिङ चलिरहेको छ तर श्रीदेवीले जान्वीको पहिलो फिल्म हेर्न नपाउँदै संसारबाट बिदा लिएकी छन्। श्रीदेवी बोनीको दोस्रो पत्नी हुन् भने बोनीको पहिलो पत्नी मोनाको पनि ४८ वर्षको उमेरमा मल्टिपल अर्गान डाइफक्सन नामक रोगका कारण सन् २०१२ मा निधन भइसकेको छ। मोनाबाट एक छोरा अभिनेता अर्जुन कपुर र छोरी अंशुला छन्। अफेयर्सकै क्रममा गर्भवती भएपछि उनले बोनीका साथ विवाह गरेकी थिइन्। शक्ति नामक फिल्ममा काम गर्ने क्रममा गर्भवती भएको थाहा भएपछि श्रीदेवीले त्यस फिल्ममा आफ्नो मनपर्ने नायिका काजोललाई काम गरिदिन अनुरोध गरेकी थिइन्। काजोल पनि व्यस्त भएका कारण अन्तिममा त्यस फिल्ममा करिश्मा कपुरलाई खेलाइएको थियो।

सन् १९९३ को अगस्टमा तामिलनाडुको एक सानो गाउँ मीनमपट्टीमा जन्मिएकी उनको नाम शुरुमा श्री अम्मा यंगेर ऐय्यपन थियो। हिन्दी फिल्ममा आउनुअघि तामिल, तेलगु, मलायलम तथा कन्नड फिल्ममा काम गरेकी श्रीदेवीले सन् १९७६ मा तामिल फिल्म मुदरु मुदिचीबाट हिरोइनको रूपमा डेब्यु गरेकी थिइन्। उनले ४ वर्षको उमेरमा तामिल फिल्ममा बाल कलाकारको रूपमा खेलेर फिल्मी करिअर शुरु गरेकी थिइन्। त्यसपछि उनले आफ्नो करिअरमा कहिल्यै पछाडि फर्केर हेर्नुपरेन।

फिल्म सोलहवा सावनबाट बलिउड फिल्ममा डेब्यु गरेकी उनको सदमा, चाँदनी, हिम्मतवाला, तोहफा, रूपकी रानी चोरोका राजा, लाडला, जुदाई जस्ता फिल्म सफल मानिन्छ भने पछिल्लोपटक मममा देखिएको उनले सोसहित ३ सय फिल्ममा अभिनय गरेकी थिइन्। ५ दशकसम्म बलिउड नगरीमा सक्रिय उनलाई मातृभाषा तामिल भएकाले शुरु–शुरुमा हिन्दी भाषा असहज हुने गथ्र्यो। त्यस कारण उनको फिल्ममा अन्यलाई डब गराइन्थ्यो। फिल्म आखिरी रास्तामा अभिनेतृ रेखाले डब गरेकी थिइन् भने चाँदनी उनको पहिलो डब फिल्म थियो। बलिउडमा कुनै बेला बक्स अफिस चल्नका लागि उनको नाम काफी मानिन्थ्यो।

८० र ९० को दशकमा बलिउडमा उनको जादु यस्तो थियो कि उनीदेखि अभिनेतृहरू मात्र होइन, अभिनेताहरू पनि असुरक्षित महसुस गर्थे। उक्त समय बलिउडमा अभिनेताहरू मोटो रकम लिने गर्थे। तर, त्यो समयमा १ करोड रुपियाँ पारिश्रमिक माग गर्ने र लिने उनी नै पहिलो अभिनेतृ थिइन्। उनको समयमा निर्माता तथा निर्देशक फिल्म हिट गराउने फर्मुलाको रूपमा श्रीदेवीलाई लिने गर्थे। बलिउडमा आफ्नै भ्यानिटी भ्यान राख्ने उनी पहिलो अभिनेतृ थिइन्। उनी भारतको प्रसिद्ध पद्मश्री पुरस्कारबाट पुरस्कृत भएकी थिइन् भने उनी सवोत्कृष्ट अभिनेतृका रूपमा ५ फिल्म फेयर अवार्ड जित्ने अभिनेतृ थिइन्।

प्रतिक्रिया दिनुहोस्