जनकपुर–जयनगर रेलवे निर्माणमा ढिलासुस्ती



सुरेश तामाङ

जनकपुर–जयनगर ३५ किमि खण्डमा निर्धारित समयमै रेलगाडी गुडाउन नसकेपछि थप अन्योल थपिएको छ। निर्माण पक्षले यही फागुनभित्रै यस खण्डमा रेल बनाउने काम सम्पन्न गरेर रेलगाडी गुडाउने समयसीमा तोक्यो।

तर, यस खण्डमा तोकिएकै समयभित्र रेल गुडाउने काम मात्र नभई रेल बनाउने कामसमेत सकेको छैन।

रेल विभागले यस खण्डमा रेल बनाउने काम भइरहेको जानकारी दियो। विभागका अनुसार हालसम्म रेल बनाउने काम ९० प्रतिशत सम्पन्न भइसकेको छ।

इन्जिनियरिङ भाषामा सतहमा बनाइने लिगलाई नै रेल भनिने र रेलमाथि गुड्ने भएर रेलगाडी भन्ने गरिन्छ। तर, हाम्रो समाजमा अझै पनि उक्त रेललाई नै गाडी भन्ने बुझाई छ। इन्जिनियरिङ भाषामा यो गलत हो। विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्यायले काम द्रुत गतिमा भइरहेको बताउनुभयो। ‘काम दु्रत गतिमा भइरहेको छ’, उहाँले भन्नुभयो– ‘हालसम्म ९० प्रतिशत काम सकियो।’

ढुंगा, माटो बिछ्याउने, स्टेसन भवन बनाउने काम सम्पन्न गरेर अहिले रेल निर्माणको काममा निर्माण पक्ष रहेको उहाँले बताउनुभयो। निर्माण पक्षले यही फागुनभित्र रेल गाडी गुडाउने समयसीमा तोकेपछि सबैमाझ उत्साह थप्यो। तर, केही कारणले तोकिएको समयसीमाभित्र उक्त खण्डमा रेलगाडी गुडाउन नसकेको विभागले जनायो।

तराईमा आएको बाढी, डुबान र निर्वाचनले गर्दा सीमा बन्द भएर सामग्री ल्याउन नसक्नुले तोकिएको समयसीमाभित्र रेलगाडी गुडाउन नसकेको विभागले स्वीकारेको छ। तोकिएको समयसीमाभित्र रेलगाडी गुडाउन नसकेपछि विभागले निर्माण पक्षलाई २०७५ कात्तिक दोस्रो सातासम्म अन्तिम म्याद थप गरेर त्यो अवधिभित्र रेलगाडी गुडाउन सहमति गरेको छ। यता भारतीय निर्माण पक्षले रेल बनाउने काम अन्तिम चरणमा पुर्याए पनि नेपाल पक्षले भने रेलगाडी किन्न छलफल मात्रै गरिरहेको जनाएको छ।

विभागका सिनियर डिभिजनल इन्जिनियर उपाध्यायले कस्तो प्रकारको र कसरी खरिद गर्ने छलफल भइरहेको तर टुंगोमा पुगिनसकेको जानकारी दिनुभयो। सम्झौताअनुसार रेल बनाउने जिम्मा भारतीय पक्षको हो भने उक्त रेलमा गाडी गुडाउन रेलगाडी नेपाली पक्षले खरिद गर्नुपर्ने हुन्छ। नेपाली पक्षले खरिद गर्ने भने पनि नेपालमा वि.सं. १९९४ मा भारत सरकारकै सहयोगमा रामजानकी विवाह महोत्सवको अवसर पारेर जनकपुर–जयनगर रेलवेको सञ्चालन गरिएको थियो। नेपालको एकमात्र रेलवे सेवा विविध कारणले ३ वर्षअघिदेखि बन्द भएको छ।

रेल सञ्जाललाई नेपालमा विस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा भएको द्विपक्षीय सम्झौता भएको थियो। सोहीअनुसार २०११ माघ महिनामा निर्माणको थालनी भएको थियो। भारत सरकारको आर्थिक सहयोगमा भइरहेको निर्माणका लागि शुरुआतमा भारत सरकारले भारतीय रुपियाँ ५ अर्ब ३९ करोड सहयोग गरे पनि पछि त्यो रकम परिमार्जित भएर हाल ७ अर्ब २० करोड भारतीय रुपियाँ खर्चिने जनाइएको छ।

विभागका अनुसार पहिलो चरणमा जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर, दोस्रो चरणमा कुर्थादेखि भंगहासम्म र तेस्रो चरणमा बर्दिबाससम्म गरी जम्मा ७० किलोमिटर ब्रोडगेज निर्माणको काम भइरहेको छ। विभागले पहिलो चरणअन्तर्गत जयनगरदेखि कुर्था ३५ किलोमिटर खण्डमा फागुनसम्ममा रेल चलाउने लक्ष्य लिई काम गरिरहेको थियो। तर, देशको तराई भेगमा आएको विपत्तिले गर्दा लक्ष्य पूरा हुन सकेन।
नयाँ निर्माण भइरहेको रेलको लिक पहिलेभन्दा ठूलो (ब्रोडगेज) रहेको छ। सानो आकारको रेलको लिकलाई विस्थापित गरेर ठूलो आकारको लिक निर्माण गरिएको विभागले जनायो। जनकपुर–जयनगर रेलवेमा कस्तो किसिमको रेल सञ्चालनमा ल्याउने भन्ने विषयमा नेपाल र भारत दुई देशबीच छलफल हुने भएको छ। रेल विभागका अनुसार जनकपुर–जयनगर रेलवेमा कस्ता रेल सञ्चालनमा ल्याउने भन्ने विषयमा छलफलका लागि दुवै देशका रेल प्राविधिकको भेला बस्न लागिएको हो। विभागका महानिर्देशक अनन्त आचार्यले जनकपुर–जयनगर रेलवेमा रेल सञ्चालन गर्न दुवै देशका प्राविधिकहरू भेला भई छलफल गर्न लागिएको बताउनुभयो।

उहाँले समय सान्दर्भिक र यात्रुको सुविधालाई ध्यान दिई रेल सेवा सञ्चालन गर्न लागिएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘समय सान्दर्भिक र यात्रुको सेवा सुविधालाई ध्यानमा राखी रेल चलाउन लागेका छौं। कस्ता खालका रेल त्यस क्षेत्रमा समय र यात्रुको सेवालाई म्याच हुन्छ, त्यसैअनुसारको रेल चलाउने हो।’

यसका लागि दुई देशबीचको प्राविधिक टोली बनाएर छिट्टै भेला भई छलफलबाट टुंगोमा पुग्ने उहाँले बताउनुभयो। ‘यस विषयलाई टुंगोमा पुर्याउन भारतले प्राविधिक टोली बनाइसकेको छ। हामी पनि बनाउँदै छौं। अबको १ हप्ताभित्र भेला भई छलफल हुनका लागि हामी प्राविधिक टोली बनाउँदै छौं।’ –उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्