भूकम्पपीडितको गुनासो घर बनाउनभन्दा अनुदान लिन समस्या



चिरञ्जीवी मास्के, दोलखा

विनाशकारी भूकम्प गएको झण्डै तीन वर्ष बित्न लागेको छ। भूकम्पपछि टहरामा बस्दै आएका दोलखाका भूकम्पपीडित अहिले भने धमाधम घर बनाउन व्यस्त भएका छन्। तर समस्या छ सरकारी अनुदानको रकम लिन।

सरकारले दिने अनुदान रकम लिने प्रक्रिया झन्झटिलो भएकाले कतिपयले पहिलो किस्ता लिएर घर बनाउन थाले पनि बाँकी रकम लिन नसक्दा घर नै अलपत्र राख्नुपरेको गुनासो गरेका छन्। कतिपयको भने घर बनिसके पनि प्राविधिकको अभावमा नापजाँच नभएकाले समस्या भएको छ।

पुनर्निर्माण प्राधिकरणका तत्कालीन सीईओ सुशील ज्ञवालीबाट पहिलो किस्ता ५० हजार लिएर घर बनाएका दोलखा विगु गाउँपालिका वडा नम्बर ४ सिंगटीका जगतबहादुर खत्री बाँकी अनुदान रकम नपाएको गुनासो गर्छन्।

घर बनिसके पनि विभिन्न समस्याका कारण अनुदानको बाँकी रकम लिन नसकेको बताउने खत्री घर बनाउनभन्दा सरकारी अनुदानको रकम लिन कठिन भएको गुनासो गर्छन्। सरकारले घर भूकम्पप्रतिरोधी भए नभएको जाँच गरेर अनुदान रकम सहजै उपलब्ध गराउनुपर्ने खत्रीको माग छ। अनुदान रकम लिन सदरमुकाम धाउँदा पाउने रकमभन्दा बढी खर्च हुने हो कि भन्ने चिन्ता रहेको खत्रीले बताए।

दोलखा विगु गाउँपालिकाका पदम पाण्डेले पनि पहिलो किस्ताको ५० हजार लिएर घर बनाउन शुरू गरेका छन्। तर बाँकी रकम लिन झन्झटिलो प्रक्रिया भएकाले उनले पैसाकै अभावमा घर पूरा गर्न सकेका छैनन्। सरकारले अनुदान दिने भएपछि झन्झटिलो प्रक्रिया नगरी वास्तविक पीडितलाई रकम दिनुपर्ने पाण्डे बताउँछन्।

दोलखा जिल्लाका ६२ हजार ८ सय ३३ लाभग्राही रहेकोमा हालसम्म २७ हजार ६ सय ५ जनाले घर निर्माणको काम शुरू गरेको पुनर्निर्माण प्राधिकरणले जनाएको छ। १५ हजार ८ सय ७८ वटा घर भने निर्माण भइसकेको प्राधिकरणको दाबी छ। प्राधिकरणले उपलब्ध गराएको विवरणअनुसार दोलखा जिल्लाका ४४ वटा सरकारी भवनमा क्षति भएकोमा १० वटा भवन मर्मत गरिएको छ भने १७ वटा भवन नयाँ निर्माण भइरहेको छ।

त्यसै गरी भूकम्पले ३ सय ६६ वटा विद्यालयमा क्षति पुर्याएकोमा जिल्ला शिक्षा कार्यालय मातहत गत वर्ष र यस वर्ष गरी १ सय ४७ वटा विद्यालय भवन निर्माणको काम शुरू गरिएको छ। जसमा ५६ वटा भवन निर्माण गरी हस्तान्तरण गरिएको छ। त्यसै गरी भूकम्पबाट क्षति भएका ५५ वटा स्वास्थ्य चौकी भवनमा विभिन्न गैरसरकारी संघसंस्थाले २९ वटा भवन निर्माण गरिदिएका छन् भने ७ वटा भवन निर्माण भइरहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ।

निर्माण कार्य अन्य जिल्लामा भन्दा सन्तोषजनक
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति दोलखाका प्रमुख सागर आर्चाय भूकम्प प्रभावित अन्य जिल्लाको तुलनामा दोलखामा पुनर्निर्माणको काम सन्तोषजनक ढङ्गले भइरहेको दाबी गर्छन्। कतिपय जिल्लामा पुनर्निर्माणको काम खासै राम्रोसँग अगाडि नबढेको अवस्थामा दोलखामा भने सन्तोषजनक ढंगले पुनर्निर्माणको काम भइरहेको आचार्यको दाबी छ।

अनुदान रकम दिन केही समस्या रहेको भए पनि कतिपय अवस्थामा आफैं स्थलगतरूपमा गएर पनि प्रक्रियालाई सहज बनाएको आचार्यले बताए। शुरू–शुरूमा प्राविधिकको अभाव, कानुनी समस्यालगायतका कारण अनुदान रकम दिन ढिलाइ भए पनि अहिले धेरै हदसम्म समस्या समाधान भइरहेको र विगत दुई वर्षको तुलनामा यो वर्ष पुनर्निर्माणको काम निकै द्रुततर गतिमा अगाडि बढेको आचार्यको दाबी छ।

प्रतिक्रिया दिनुहोस्