गायनमा वसन्तीको बहार



रश्मी थापा
११ वर्षकै उमेरमै स्टेजमा चढेर अरूणा लामा, तारादेवी, सुक्मित गुरुङलगायतका गायिकाहरूको गीत गाउने वसन्ती लामा यही गायनको रुचिका कारण नै अहिले गायिकाका रूपमा स्थापित नाम भएकी छन्।
२०४० सालमा दोलखाको घइङ सुकाथोकर–५ भन्ज्याङमा जन्मिएकी उनी स्कुलका कार्यक्रमहरूमा गीत गाउँदागाउँदै पहिलो र दोस्रो भएर पुरस्कार चुम्ने गर्थिन्। ‘आफ्नो स्कुलमा भएका सांस्कृतिक कार्यक्रममै राम्रो गीत गाउने भएकाले गुरुहरूले अन्य स्कुलमा पनि त्यस्ता कार्यक्रममा भाग लिन पठाउनुहुन्थ्यो’, वसन्तीले सुनाइन्– ‘म गायनमा मात्र होइन, खेलकुदमा पनि रुचि राख्ने भएकाले खेलकुदमा पनि भाग लिइरहन्थें। तर गायनमा रमाउँथे, जसले आज मलाई गायिका बनायो।’

वसन्तीका बुबा भारतीय सेनामा भएका कारण उनी पनि बुबाकै पछि लागेर ७ वर्षको उमेरमा भारत गएकी थिइन्। ‘मेरो बालापनको केही समय इन्डिया र केही समय नेपालमा बित्यो। तर जहाँ गए पनि मलाईचाहिँ गीत गाइहाल्नु पथ्र्यो’ –उनले भनिन्।

सानैदेखिको रुचि भए पनि २०६७ सालमा मात्र बुद्ध भजन रेकर्ड गरेर औपचारिक गायनको शुरुआत गरेकी उनले हालसम्म ४ दर्जन बढी भजन, आधुनिक तथा लोक तथा दोहोरी गीत, तामाङ सेलो र प्रहरीसम्बन्धी गीतहरूमा स्वर दिएकी छन्। उनले २०७२ सालमा सोलो आधुनिक गीती अडियो एल्बम वसन्ती बहार ल्याएकी थिइन्। जसमा रहेको तिम्ले मायामा सबै थोक पायौ मैलेचाहिँ गुमाए बोलेको गीतबाट उनले आधुनिक गीतका स्रोताको मनमा राज गरिन्। दोस्रो एल्बमका रूपमा त्रिशूली ककनी बोलको दोहोरी एल्बम ल्याएकी उनले तेस्रो एल्बमका रूपमा तामाङ सेलो एल्बम ल्याएकी थिइन्। तेस्रो एल्बमबाट उनले तामाङ सेलोप्रेमीलाई पनि खुसी बनाइन्।


संगीतको औपचारिक ज्ञान लिन २०५५ सालमा साधना कला केन्द्रमा गएकी उनले त्यहाँ संगीत सिकेको कही महिनामै कोरसमा गाउने अवसर पाएकी थिइन्। ‘मेरो स्वर राम्रो लागेर त्यहाँका गुरुहरूले कोरसमा गायन अफर गर्नुहुन्थ्यो, साधना कला केन्द्रपछि मैले अदरणीय गुरु पूर्ण परियारको चावहिलस्थित सुर श्रृंगार संगीत प्रशिक्षण केन्द्रमा पनि संगीतको प्रशिक्षण लिएँ’, वसन्तीले सुनाइन्– ‘हाल पनि म शास्त्रीय संगीतको ज्ञान लिइरहेको छु। संगीत भनेको सिकेर कहिल्यै नसकिने चिज हो। त्यसैले यसको साधना आफूले सकेसम्म गरिरहन्छु। आफूले सिकेका कुरा अरूलाई पनि सिकाउँदै जानेछु।’

स्टेज कार्यक्रमका लागि काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रौतहट, दोलखा, नुवाकोटजस्ता स्थानमा गएकी उनी आफू स्टेजमा चढेपछि दर्शकको फर्माइसअनुसारको गीत गाउने गरेको बताइन्। ‘स्टेज कार्यक्रमहरूमा प्रायः नाच्ने गीतहरू नै रुचाइन्छ। म स्टेजमा हुँदा तामाङ सेलोका फ्यानहरूले तामाङ सेलोको अफर गर्छन् भने दाहोरीका फ्यानहरूले दोहोरी गाइदिन आग्रह गर्छन्’ –उनले खुसी व्यक्त गर्दै भनिन्। उनका चर्चित गीतहरूमा तिम्ले मायामा सबै थोक पायौ, उलासी उदासीजस्ता आधुनिक, सयौंथरी कुरा गर्दै सेलो, खत्रा मेरो जोवन छ, लाको खाको सबले देख्छन्जस्ता लोकदोहोरी, नेपाली जात राष्ट्रिय गीत, मायाको देशको राजा फिल्मी गीत रहेका छन्। उनको अर्को चर्चित गीत नेपाल प्रहरीसम्बन्धी प्रहरी मेरो साथी रहेको छ।

उनलाई गीतसंगीतमा योगदान पुर्याएवापत् भन्दै विभिन्न संघसंस्थाले सम्मान पनि गरेका छन्। हाल विभिन्न गीत दर्शकमाझ लिएर आउने तयारी गरिरहेकी वसन्ती आफू गीतसंगीतबाट टाढा रहन नसक्ने भएकाले आगामी दिनमा पनि संगीत कर्ममै लाग्ने बताउँछिन्। ‘मेरो श्वास रहुन्जेल म यही गीतसंगीतमै लाग्ने प्रण गरेकी छु।आजसम्म गरेको संघर्षको प्रतिफलको कारण नै यहाँसम्म आएकी हुँ र यो संघर्षको पथमा म सधैं रहिरहनेछु। तर मैले अझै सांगीतिक क्षेत्रको लागि धेरै गर्न बाँकी छ। गाएरै खान त पुग्दैन त्यस कारण आफ्नो सानो व्यवसायको रूपमा जोरपाटीमा सानो क्याफे पनि सञ्चालन गरेकी छु’ –उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्