उठ्यो बुरुन्चुलीको मानेडाँडा बस्ती



सुरेश तामाङ
गुचुमुच्च परेको बस्ती। दायाँबाया घरबीचमा सडक आकारको गोरेटो बाटो। ढुंगा माटोको घरमा कुनै टायल त कुनै जस्ता पाताले छाएको छानोसहित लहरै पुराना घर भएको बुरुन्चुली मानेडाँडाको यो पुरानो बस्ती २०७२ वैशाखमा आएको विनाशकारी भूकम्पबाट जोगिन सकेन। क्षणभरमै मानेडाँडा बस्तीका घर ढले।

तामाङ जातिको बाहुल्यता रहेको बुरुन्चुलीको मानेडाँडामा आफ्नो घर बस्ती ढलेपछि त्यहाँको माहोल फेरियो। त्यहाँ क्षणभर मै सन्नाटा छायो। यसबीचमा विभिन्न दुःखकष्ट, यहाँका बासिन्दाले झेले। सन्नाटा, दुःखकष्ट, आहातबाट विस्तारै तंग्रिदै गरेका मानेडाँडावासीको मुहारमा भूकम्प गएको ३ वर्ष बित्नै लाग्दा भने खुसी देख्न सकिन्छ।

खुसी यस अर्थमा पनि हो, उनीहरूले नयाँ घर पाउँदै छन्। बुधबारबाट उनीहरूले विधिवत्रूपमा आफ्नो बस्तीमा बनेका नयाँ घरमा सधैंका लागि बस्न पाउनेछन्।

चार कोठे घर, त्यसमा पनि भूकम्पप्रतिरोधी। सुन्दर र चिटिक्क परेका एकैखाले घर उनीहरूले पाउँदैछन्। भूकम्प जानुअघि र पछि यो बस्तीमा आकाश पातालको फरक छ। संरचनामा पूरै परिवर्तन आएको छ।
बुधबार बस्ती हस्तान्तरण हुने स्थानीय रमेश तामाङले जानकारी दिनुभयो। ललितपुरको साविक छम्पी पर्ने यस मानेडाँडा हाल गोदावरी नगरपालिका वडा ९ मा बस्ती हस्तान्तरण हुन लागिरहेको हो।

दातृ संस्थाले मानेडाँडाको पूरै बस्तीमा नयाँ घर बनाइदिएपछि स्थानीयमा खुसीको रौनक छाएको छ। नयाँ सफा र चिटिक्क घरमा बस्न पाउँदा खुसीको सीमा नरहेको स्थानीय लक्ष्मीबहादुर गोलेले बताउनुभयो।
उहाँले भन्नुभयो– ‘भूकम्पले घर ढल्यो। नयाँ घर बनाउन सक्ने अवस्था थिएन। संस्थाले नयाँ घर बनाएपछि खुसी लागेको छ।’ आफूले बनाउनुपरेमा यस्तो राम्रो घर बन्छ भनेर कहिल्यै नसोचेको उहाँले बताउनुभयो। ‘मैले बनाउनुपर्यो भने यस्तो राम्रो घर बन्नै सक्दैन। मेरो क्षमताले पनि नसक्ने कुरा हो’, उहाँले भन्नुभयो– ‘सहयोगमा नयाँ घर पाउँदा खुसी लागेको छ।’

भूकम्पले आफ्नो घर ढलेपछि सोही बस्तीका तिलबहादुर थिङ आफ्नो पालामा राम्रो र सुरक्षित घर बन्न नसक्ला भनेर चिन्तामा हुनुहन्थ्यो। चिन्तामै रहिरहँदा नयाँ राम्रो र भूकम्पबाट सुरक्षित घर बनाइदिने सहयोगी दाता आफ्नो दैलोमै आइपुगेपछि उहाँको मुहारमा अलिकति भए पनि खुसीको रंग देखियो।

सहयोगी दाताले चिटिक्क परेको आफूले कल्पना गरेजस्तै घर बनाइदिएपछि त हिजोआज उहाँको अनुहारमा खुलेको खुसी देख्न सकिन्छ। उहाँ भन्नुहुन्छ– ‘आफूले घर बनाउन नसकिने भनेर धेरै चिन्तामा थिएँ। सोचेको जस्तो घर बनेको छ। अहिले भने धेरै खुसी लागेको छ।’

लक्ष्मीबहादुर र तिलबहादुर जस्तै मानेडाँडाका तामाङहरूले ४९ घर पाएपछि उनीहरूमा यतिखेर खुसीको सीमा नै छैन। उनीहरूले घर मात्रै पाएका छैनन्। स्वच्छ पानी पिउनका लागि स्वचालित प्रशोधन यन्त्रजडित धारा, ट्वाइलेट, बाथरुमसमेत पाएका छन्। अब उक्त बस्तीले निकट भविष्यमै ८० देखि १ सय जनासम्म अट्ने सामुदायिक भवनसमेत पाउनेछन्।

बस्ती हस्तान्तरणसँगै उक्त सामुदायिक भवन बस्तीलाई दिन योजनासहित काम भइरहेको बस्ती पुनर्निर्माणमा संलग्न संस्था क्रियसनका कन्सल्टेन्ट इन्जिनियर आनन्द गुप्ताले बताउनुभयो।
‘हामी बस्ती हस्तान्तरण गर्दैछौं। चाँडै यो बस्तीले सामुदायिक भवन पनि पाउनेछन्’, उहाँले भन्नुभयो– ‘यो हाम्रो योजनामा छ। काम पनि भइरहेको छ।’ हस्तान्तरण हुने यो बस्तीका घरमा चार कोठे, भूकम्पप्रतिरोधी रहेको उहाँले बताउनुभयो।

निर्माण थालेको १ वर्षभित्र सम्पूर्ण घरको पुनर्निर्माण कार्य सम्पन्न भए पनि फिनिसिङमा १ वर्ष लागेको उहाँको भनाइ छ। यो बस्ती उठाउन संस्थाले मानेगाउँ, बुरुन्चुली पुनर्निर्माण परियोजना नाम दिइएको छ। भने यस बस्तीलाई रोटरी मोडेल भिलेजका रूपमा अघि सारिएको छ।
बस्ती उठाउँदा स्थानीयलाई अपनत्वको भावना जागृत गराउन संस्थाले श्रमदानस्वरूप झ्याल ढोका आफ्नै लगानीमा खरिद गर्न लगाएको छ।

रोटरी इन्टरनेसनलले प्रत्येक घरका लागि साढे ५ लाख रुपियाँ गरेर ४९ वटा घरको २ करोड ६९ लाख ५० हजार रुपियाँ खर्चेको उहाँले बताउनुभयो। रोटरी क्लब अफ जावालाखेल मन्जुश्री र क्रियसनलगायत संस्थाले यस पुनर्निर्माणमा सहयोग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्