नेपालले खोल्यो विश्वकपको ढोका



कविरस शर्मा
नामिबियामा भएको आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको खेलमा क्यानडालाई १ विकेट हराएर नेपालले विश्वकपको ढोका खोलेको छ। उक्त जितसँगै नेपालले आगामी महिना हुने वल्र्डकप क्वालिफायर्सका लागि स्थान पक्का गरेको छ। जहाँ नेपालले वेस्ट इन्डिज र जिम्बाबे सम्मिलित अन्य ९ टिमसँग विश्वकप पुग्नका लागि प्रयास गर्नेछ। जिम्बाबेमा हुन लागेको सो प्रतियोगितामा कुल १० टिमले प्रतिस्पर्धा गर्नेछ। जसमध्ये वेस्ट इन्डिजले पहिलोपटक विश्वकप क्वालिफायर खेल्नुपर्ने भएको हो। सो प्रतियोगितामा टप–२ भित्र पर्ने टिम आगामी वर्ष इंग्ल्यान्डमा हुने विश्वकप क्रिकेटका लागि छनोट हुनेछ।

क्यानडाविरुद्धको जित टर्निङ पोइन्ट
आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन–२ अन्तर्गत क्यानडाविरुद्धको जित नै नेपालका लागि टर्निङ प्वाइन्ट बन्यो। खेलको अन्तिम क्षणतिर ढुकढुकी बढाएको उक्त खेलमा क्यानडाले पहिले ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेट गुमाएर १ सय ९४ रन बनाएका थिए। लक्ष्यप्राप्ति गर्ने क्रममा नेपाल एक समय १ सय ४४ रनमा ९ विकेट गुमाउँदै हारको धेरै नजिक पुगिसकेका थिए। तर, कठिन घडीमा नेपालका दुई युवा खेलाडी करण केसी र सन्दीप लामिछानेले अन्तिम विकेटका लागि नटआउट ५५ रनको साझेदारी खेलेर जित मात्र होइन विश्वकपको होडमा समेत नेपाललाई उभ्याउन सफल भए। नेपालका लागि करनले ४२ र सन्दीपले ५ रनको इनिङ खेलेका थिए।

अन्तिम २ बलमा ८ रन बनाउने चुनौती
नेपाललाई जितका लागि अन्तिम ओभरमा १३ रनको आवश्यकता थियो। तर, क्यानडेली बलर परवेजले ४ बलमा नेपाललाई एक रन पनि नदिएपछि नेपालमाथि थप दबाब सिर्जना भएको थियो। जसका कारण नेपाललाई जितका लागि अन्तिम २ बलमा ८ रन आवश्यकता भएको थियो। जुन निक्कै मुस्किल नै थियो। अन्तिम ओभरको पाँचौं बलमा करणले छक्का प्रहार गरेर नेपालको आशालाई जीवितै राखेका थिए। अब भने जितका लागि अन्तिम बलमा २ रन आवश्यक परेको थियो। यथा क्यानडेली बलरमाथि भने दबाब बढेको थियो। दबाबमा आउँदै उनले वाइड बलिङ गरेपछि नेपालको बाटो झनै सहज बन्न पुग्यो। उक्त वाइड बलका कारण नेपालको खातामा थप एक रन जोडियो। त्यसपछि भने अन्तिम बलमा करनले आत्मविश्वास गुमाएनन् र एक रन जोडेर नेपालको जित सुनिश्चित पारे।

क्वालिफायरमा १० टिम
वल्र्डकप क्वालिफायर टुर्नामेन्ट जिम्बाबेमा ४ देखि २५ मार्चसम्म हुँदै छ। जसमा आईसीसी वान डे र्याकिङका अन्तिम चार टिमसहित आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपका टप–४ टिम र आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन–२ का टप दुई टोलीले प्रतिस्पर्धा गर्नेछ।

उक्त क्वालिफायरमा टेस्ट मान्यता प्राप्त राष्ट्रहरू वेस्ट इन्डिज, जिम्बाबे, अफगानिस्तान, आयरल्यान्डसँगै डब्ल्यूसीएलको शीर्ष चार स्थानमा रहेका नेदरल्यान्ड, स्कटल्यान्ड, हङकङ र पपुवा न्युगिनी सामेल छन्।

डिभिजन–२ बाट नेपाल र यूएईले पनि क्वालिफायरमा स्थान बनाएपछि कुल १० राष्ट्रबीच सन् २०१९ मा इंग्ल्यान्डमा हुने वान डे वल्र्डकपमा आवश्यक दुई स्थानका लागि प्रतिस्पर्धा हुनेछ। अहिले क्वालिफायरको समूह ‘ए’ मा आयरल्यान्ड, नेदरल्यान्ड, पपुवा न्युगिनी र वेस्ट इन्डिज छन्। यस्तै समूह ‘बी’ मा जिम्बाबे, अफगानिस्तान, स्कटल्यान्ड र हङकङ छन्।

प्रतिक्रिया दिनुहोस्