टु ह्विलका रेसर महर्जन



फिरोज राजोपाध्याय
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राखेप च्याम्पियनसिपमा साइकललाई पनि स्थान दिएको छ। माउन्टेन बाइक क्रस कन्ट्री च्याम्पियनसिप गत पुस २९ गते शनिबार सम्पन्न भएको थियो। फर्पिङको हात्तीवनमा भएको माउन्टेन बाइक प्रतिस्पर्धामा पुरुषतर्फ काठमाडौंका नारायणगोपाल महर्जनले स्वर्ण पदक जितेका छन्।

पुरुषतर्फ ९ ल्यापको ३६ किलोमिटर उनले २ घण्टा १० मिनेट ३१ सेकेन्डको समयमा पूरा गरेका थिए। काठमाडौंका साइक्लिस्ट महर्जनले विभागीय टोली नेपाली सेनाका ओकेसराज वज्राचार्य र प्रताप थापालाई पछाडि पारेर स्वर्ण जितेका हुन्। उनीहरूले क्रमशः रजत र कांस्य पदक हासिल गरेका थिए। ३२ जनाले सहभागिता जनाएको प्रतियोगितामा याक एट्याकमा उपाधि जितिसकेका अजय पण्डित क्षत्री र राजकुमार श्रेष्ठ जस्ता बाइकर पनि महर्जनभन्दा पछि परे।

नेपालमा राष्ट्रियस्तरबाट माउन्टेन बाइकको प्रतियोगिता आयोजना भएको यो नै पहिलो अवसर हो। नेपालमा माउन्टेन बाइकका लागि उत्कृष्ट वातावरण भए पनि सरकारीस्तरबाट यसअघि कुनै प्रतियोगिता आयोजना गरेको थिएन। सम्भवतः यसले आगामी दिनमा माउन्टेन बाइकरहरूलाई हौसला प्रदान गर्ने खालका प्रतियोगिता राज्यबाट हुने आशा गर्न सकिन्छ।

विजेता महर्जनले नेपाल समाचारपत्रसँगको कुराकानीमा यो राम्रो शुरुआत भएको पनि बताए। महर्जनले बताए– ‘यसअघि कुनै पनि प्रतियोगिता आयोजना गर्न राज्यबाट पहल नै भएको थिएन। अब भयो, यसका लागि राज्यलाई र राखेपलाई धन्यवाद छ। आगामी दिनमा यस्तै कार्यक्रम राख्न पनि अनुरोध गर्छु।’

महर्जनले थुप्रै प्रतियोगितामा सहभागिता जनाइसकेका छन्। उनले सन् २०१२ मा भारतको हिमाञ्चल प्रदेशमा आयोजित क्रस कन्ट्रीमा पहिलो स्थान हासिल गरेका थिए। यो नै उनको अन्तर्राष्ट्रियस्तरमा ठूलो उपाधि पनि हो। मनाङमा २०१३ मा आयोजित याक एट्याकमा पहिलो स्थानसमेत उनले हासिल गरेका थिए। याक एट्याकलाई विश्वका शीर्ष १० माउन्टेन बाइक रेसमध्ये उत्कृष्ट एकमा मानिन्छ।

२००६ देखि माउन्टेन बाइक रेसमा लागेका महर्जनको करिअर १२ वर्षमा पुगिसकेको छ। यति लामो समयमा उनले दक्षिण अफ्रिका, ताइवान, बंगलादेश, चीन, मलेसिया, भुटान र भारतमा भएका प्रतियोगितामा सहभागिता जनाइसकेका छन्। हाल उनी इन्डोनेसियामा हुने एसियन माउन्टेन बाइक च्याम्पियनसिपका लागि तयारीमा छन्।

टु ह्विल राइडर महर्जन नेपालमा सन् २०१९ मा आयोजना हुने १२औं दक्षिण एसियाली खेलकुद (साग) र इन्डोनेसियामा २०१८ मा हुने एसियन गेम्सका लागि पनि तयारीमा रहेको बताउँछन्। उनी राम्रो ट्रेनर पाएमा नेपालका लागि स्वर्ण पदक ल्याउन सकिने दाबी गर्छन्। महर्जनले बताए– ‘हामीकहाँ माउन्टेन बाइक रेसर धेरै छन्। हामीले राम्रो कोच पाएमा र राम्रो वातावरण पाएमा स्वर्ण जित्ने सम्भावना छ।’

नेपालमा सिस्टम नभएको, राज्यले सहयोग नगर्ने र प्रायोजक आफैं खोज्नुपर्ने भएकाले माउन्टेन बाइकरका लागि प्रतिस्पर्धा गर्न पनि गाह्रो भइरहेको महर्जनको भनाइ छ। उनले बताए– ‘हाम्रो नेपालमा कस्तो प्रवृत्ति विकास भएको छ भने प्रतियोगिता आउन लागेपछि क्याम्प शुरू हुन्छ। १५⁄२० दिनको क्याम्पले केही हुनेवाला छैन। कमसेकम १–२ वर्षको क्याम्प हुनुपर्छ। कोच राम्रो भएको हुनुपर्छ। बाहिर देशमा यस्तो हुँदैन। कसमेकम उनीहरूले प्रतियोगितामा प्रतिस्पर्धा गर्न ५–६ वर्ष अगाडिदेखि तयारी शुरू गर्छन्।

यसमा नयाँ पुस्ता पनि धेरै आइरहेका छन्। आफ्नै बलले यो धेरै दिगो नहुने पनि महर्जनले चिन्ता व्यक्त गरेका छन्। उनले बताए– ‘प्रायोजक आफैंले खोज्नुपर्ने हुन्छ। यदि सरकारले लगानी गरेको भए सायद हामी आफैंले प्रायोजक खोज्नु आवश्यक हुँदैन। नयाँ पुस्ता आएका छन् पक्कै। तर, उनीहरूले घर चलाउन प्रायोजक खोज्ने कि प्रतिस्पर्धा गर्ने त्यो पनि समस्याको विषय बनेको छ।’

उनले थपे– ‘बाहिरको प्रायोजक पनि आउँछन्। प्रायोजनपछि हामीले उनीहरूले भनेजस्तै लुगा र लोगो प्रयोग गर्नुपर्ने हुन्छ। देशबाट प्रतिनिधित्व गरिरहेका हुन्छौं तर देशको संकेत गर्ने खालको केही चिह्न नहुने हुँदा अप्ठइरो परेको छ।

प्रतिक्रिया दिनुहोस्