इनिमाको क्यामेरा मोह



टीका बन्धन

उनी अरूले बोलेको अनुमान लगाउने प्रयास गर्छिन् तर सुन्न र बोल्न सक्दिनन्। परिवारका सदस्यबाहेक अरूले दोहोरो वार्तालाप गर्नुप¥यो भने कपी र डटपेनको सहारा पनि चाहिन सक्छ। यस्तै अवस्थाका बीच पनि उनी समाजको दुःखाइ, भोगाइ र जीवनशैली अनि प्रकृतिलाई नजिकबाट नियाल्न चाहन्छिन्। आफ्नो अनुभूतिलाई फरक ढंगले अभिव्यक्त गर्न चाहन्छिन्, फोटोग्राफी मार्फत।

उनी अर्थात् १७ वर्षीया इनिमा महर्जन। काठमाडौंको डल्लु चःमतिका इन्द्रमान र मथुरा महर्जनकी जेठी छोरी हुन् इनिमा। १०÷१२ शब्द मुस्किलले बोल्छिन्, जुन शब्द र शैली महर्जन परिवार र सो परिवारनिकट बाहेककालाई अनौठो पनि लाग्न सक्छ। अधिकांशलाई झनै अनौठो लाग्न सक्छ, इनिमाको फोटोग्राफी मोह र उनले खिचेका तस्वीरको कलेक्सन नियाल्दा। वर्षौैंसम्म फोटोग्राफीमा समय खर्चिएकाको भन्दा कमजोर छैन, छोटो अवधिको उनको फोटोग्राफी सीप र कला।

श्रवणशक्ति नभएकाका लागि उनी पक्कै पनि प्रेरणाकी स्रोत हुन् भने आम सर्वसाधारणका लागि झनै गज्जबकी ‘रोल मोडल’। डेढ÷दुई महिनाको छोटो अवधिमा इनिमाले आफ्नो सीप र कलालाई व्यवहारमा राम्रोसँग उतारिसकेकी छिन्। काठमाडौंका अधिकांश सम्पदा क्षेत्रका फोटो उनले क्यामेरामा कैद गरिसकेकी छिन्। गत महिना लुम्बिनीमा आफैंले खिचेका तस्वीरको एकल फोटो प्रदर्शनीसमेत भइसकेको छ। ‘आवाजबिनाको फोटो प्रर्दशनी’ ले पहिलोपटक उनलाई धेरै अपरिचित अनुहारसँग साक्षात्कार मात्रै गराएन, बाहिरी दुनियाँसँग साक्षात्कार हुने आत्मविश्वाससमेत बढायो।

गत महिना भृकुटीमण्डपमा भएको सोनाम ल्होसारको बृहत् जमघटको तस्वीर पनि विभिन्न एङ्गलबाट क्यामेरामा कैद गरेकी छिन्। ‘त्यस्तो ठूलो जमघट पहिलोपटक फेस गरेकाले होला उनलाई शुरुमा निकै डर पनि लागेको थियो रे’, बुबा इन्द्रमान सम्झन्छन्– ‘हामीले उनलाई हौसला प्रदान ग¥यौं, छोरीले त्यो ठूलो भीडमा पनि राम्रोसँग क्यामेरा चलाइन्।’ हिजो–आज पारिवारिक जमघट, आफन्तका विवाह, व्रतबन्धमा निर्धक्कसँग एडीएसएल क्यामेराका साथ उनी भेटिन्छिन्।

आम मान्छेको बुझाइ छ, राम्रो मोबाइल र क्यामेरा भएपछि फोटो त जसले पनि त खिचिहाल्छ नि⁄ तस्वीरले धेरै कुरा अभिव्यक्त गर्छ, गराउन सक्नुपर्छ भन्ने पक्षमा ध्यान दिँदैनन्। फोटोले अर्थपूर्ण भाव अभिव्यक्त गर्न सक्नुपर्छ भन्ने कुरा इनिमाले प्रोफेसनल क्यामेरा छुनुअघि नै बुझेकी थिइन्। एउटै मोबाइलले फोटो खिच्दा अरूले ठीकै मात्र खिच्ने तर उनले खिच्दा बेग्लै र आकर्षक फोटो कैद भएको देखेपछि महर्जन दम्पतीले छोरीलाई फरकरूपमा बुझ्ने मौका पाए।

छोरीको भित्री रहर बुझेपछि अभिभावकले डेढ महिनाअघि २ लाख रुपियाँ हाराहारीको क्यानोनको ८० डी मोडलको डीएलएलआर क्यामेरा किनिदिए। क्यामेरा मात्र होइन त्यसका लागि आवश्यक सम्पूर्ण सामग्रीसमेत छोरीकै लागि भनेर किनिएको छ। डीएलएलआर क्यामेरा आफ्नै लागि किनिएको भन्ने बुझेपछि छोरीको हर्षको सीमा रहेन। निकै पुराना प्रोफेसनल क्यामेरा पर्सनले झैं छोरीले क्यामेरा समाएर तस्वीर कैद गर्दा अभिभावको पनि हर्षको सीमा नै नाघेको थियो।

जुन दिन हातमा एडीएसएल क्यामेरा प¥यो त्यही दिनदेखि समाजसँग घुलमिल हुने आत्मविश्वास बढेको इनिमा बताउँछिन्। आफू जस्ता फरक क्षमता भएकाहरू पनि प्रोफेसनल फोटोग्राफर बन्न सक्ने उनको बुझाइ छ। विगत ३ दशकदेखि फोटोग्राफीका सैद्धान्तिक र व्यवहारिक ज्ञान बाँढेर दर्जनौं शिष्य जन्माएका पाटनका राजेन्द्र श्रेष्ठ इनिमाका होम टिचर बनेका छन्।

पाटनबाट चःमतिस्थित महर्जन निवास पुगेर फोटोग्राफी सिकाउने गरेका श्रेष्ठले भने– ‘हिजो–आज उनले फोटोग्राफीको प्राविधिक पक्ष सिकिरहेकी छिन्। खास गरी क्यामेरामा तस्वीर कैद गरेपछिका अन्य प्राविधिक पक्ष सिकाइरहेको छु।’ अग्रज फोटो पत्रकार मीन वज्राचार्य र राजभाइ सुवालका दौंतरी श्रेष्ठका अनुसार इनिमा उनका दर्जनौं चेलाभन्दा पृथक र लगनशील छिन्। हाल कम्प्युटरमा फोटोसप, फोटो कम्पोजिसन, सम्पादनलगायतका कुरा सिकिरहेकी छिन्।

भविष्यमा कुन क्षेत्रमा संलग्न हुने रहर छ भनेर सोधिएको जिज्ञासामा आमा मथुराको सहयोग लिएर आफ्नै शैलीमा उनले बताइन्– ‘मेरो आगामी दिन फोटोग्राफीमा बितोस् भन्ने चाहना छ, मेरो भित्रैदेखिको चाहना यहि हो। भविष्यमा प्रोफेसनल फोटोग्राफर बन्न चाहन्छु।’ ल्यान्डस्केप फोटोग्राफीबारेको प्रयोगात्मक अभ्यासका लागि यही फागुन अन्तिम साता उनका अभिभावक र शिक्षक श्रेष्ठसहितको टोली जोमसोम, कागबेनी र मुक्तिनाथको यात्रामा निस्किने तयारीमा जुटेको छ। ‘उनले फरक भू–बनोटलाई नजिकबाट अनूभूति गरिन् भने पक्कै पनि फोटोग्राफीमा परिपक्वता आउने उनका अभिभावक र मेरो विश्वास छ।’ –शिक्षक श्रेष्ठ भन्छन्।

कुनै एउटा पारिवारिक पार्टीले महर्जन परिवार पुराना फोटोग्राफर राजेन्द्रलाई पहिलोपटक भेटघाट मात्र गराएन, सो भेटघाटले नै इनिमाको जीवनको गोरेटो पनि मोड्यो। सो जमघटको फोटो इनिमाले आफ्नै ढंगले खिचिरहेकी थिइन्। राजेन्द्रका नजरमा भने उनको मोबाइल फोटोग्राफी पृथक थियो। त्यो फरकपनले राजेन्द्रको ध्यान खिच्यो। इनिमा र उनको भित्री रहरलाई पनि चिनायो। महर्जन दम्पतीका लागि राजेन्द्र ढुंगा खोज्दा देउता मिलेझैं भए, र अहिले फोटोग्राफी सिकाइरहेका छन्।

हाल कक्षा ११ मा अध्ययनरत उनको शैक्षिक नतिजासमेत प्रशंसनीय छ। एसईईमा ७९ प्रतिशत नतिजा ल्याएकी इनिमा हाल बिजेश्वरीस्थित बिजेश्वरी उच्च माविमा व्यवस्थापन संकायकी छात्रा हुन्। श्रवणशक्ति नभए पनि शिक्षक र सहकर्मीको साथ र सहयोगले अध्ययनलाई निरन्तरता दिइरहेकी छिन्। अहिलेसम्म बहिरा विद्यालय धाउनुपरेको छैन। विद्यालय तहदेखि नै अंग्रेजी माध्ययममा लेख्न–पढ्न रुचाउने, उनलाई नेपाली विषय भने धेरै गाह्रो लाग्छ रे।

प्रतिक्रिया दिनुहोस्