सामान्य जीवनमा फर्कंदै दोलखाका भूकम्पपीडित



रामकृष्ण शर्मा

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले केही समयअघि मात्रै आफ्नो स्थापनाको दुई वर्ष औपचारिक कार्यक्रम गरी मनाएर पुनर्निर्माणको प्रगति अवस्थाको फेहरिस्त प्रस्तुत गरिरहँदा भूकम्प प्रभावित ग्रामीणस्तरमा पुनर्निर्माणका रोचक कथाहरू भेटिन्छन्। कतै डकर्मी अभावमा, कतै घरधनीको अनिच्छाका कारण, कतै भूकम्पप्रतिरोधी घर बनाउने तौर–तरिका थाहा नभएका कारण, कतै लाभग्राहीको सूचीमा नपरेका कारण, कतै आर्थिक तथा सामाजिक समस्याका कारण पुनर्निर्माणको गति निक्कै सुस्त छ। तर, कतै भने धमाधम घर निर्माण भएर बलियो गाउँ बनिसकेका छन्। निर्माण सम्पन्न भएका र निर्माणाधीन गरी प्राधिकरणको आँकडाअनुसार ४६ प्रतिशत आवासीय घरको पुनर्निर्माण भइरहेको परिप्रेक्ष्यमा निर्माण सम्पन्न भइसकेका घर र तिनका घरधनीको कथा उत्साहपूर्ण छ। घर निर्माण गर्दा व्यहोर्नुपरेको दुःखलाई बिर्संदै आनन्दित ढंगले घर व्यवहार चलाउन उनीहरू व्यस्त भइसकेका छन्।

भूकम्पप्रतिरोधी बन्दै विगु गाउँपालिका

४२ वर्षीय शान्ति भुजेल भटमास आँगनमा सुकाउँदै छिन्, पति गणेश भुजेल कामतिर गएका छन्। ठूली छोरीले आमालाई सघाइरहेकी छन्। माइली छोरी डोकोमा राखिएको तरकारी केलाउँदै छिन्। छिमेकीका छोरीहरू पनि त्यहीआएर यताउति गरिरहेका छन्। उनीहरूले भर्खरै कोदो भिœयाए। कोदोको भुस पन्छ्याउन बाँकी नै छ। चिसो ठाउँ, मध्याह्नको समय, पारिलो घामले न्यानो बनाएको छ।

छेउमा चिटिक्क परेको १ तले घर छ। सुख्खा ढुंगाको गारोमा काठको बन्धन लगाउँदा घर आकर्षक देखिएको छ। झ्याल र ढोकामा लगाइएको हरियो रंग, गारोमा रहेका ढुंगाको प्राकृतिक रंग, छानामा लगाइएको जस्ताले घरलाई साँच्चिकै सुन्दर बनाएका छन्। भर्खरै निर्माण सम्पन्न भएको यो घरको आँगनमा भुजेल परिवारको यो दैनिकी चलिरहेको छ। ‘२ वर्ष टहरामा बास भयो, जसोतसो गरेर यो नयाँ घर बनाइयो, घर नबन्दासम्म घरकै चिन्ता थियो, अब पुरानै दैनिकीमा फर्किएका छौं।’ –शान्तिले भनिन्। भूकम्पप्रतिरोधी बलियो घरमा बस्न पाउँदा परिवारमा खुसी फर्किएको उनको भनाइ छ।

सय मिटर पर अख्खलबहादुर मगर र अन्तरी मगरका त्यस्तै चिटिक्क परेको भर्खर निर्माण सम्पन्न घर छ। अन्तरी र उनका साथीहरू आँगनमा कोदो चुटिरहेका छन्। उनीहरूका श्रीमान् काममा गएका छन्। ‘आज हाम्रो घरमा कोदो चुट्ने बेला परेको छ, अर्मपर्म गरेर यसरी नै सबैको घरमा कोदो भिœयाउँदै छौं।’ –अन्तरीले भनिन्। चीनसँग सीमाना जोडिएको दोलखाको विगु गाउँपालिका–७ ग्याल्बासिंह गाउँ यस्तै दैनिकीमा व्यस्त छ। यातायातको दृष्टिकोणले धेरै दुर्गम ठाउँ विगुमा यातायातको सुविधा कमै छ। केही समय यतागाउँमा ट्रक आउ–जाउ गर्छन्। तर, मालसामान किनमेल गर्न बजारसम्म पुग्न प¥यो भने ५ घण्टा हिँडेर सिंगटी आइपुग्नुपर्छ।

साविकको विगु गाविस–५ र अहिलेको गाउँपालिका–७ मा पर्ने ग्याल्बा सिंहमा अधिकांशले काठको बन्धन राखेर भूकम्पप्रतिरोधी घर बनाएका छन्। ‘गिट्टीबालुवा र फलामे रड ट्रकमा बोकाएर लैजान तेब्बर जस्तो महँगो पर्छ, फेरि ट्रकबाट ओरालेर १५ मिनेट बोकेर घरसम्म पु¥याउनुपर्छ। त्यसैले यही ठाउँमा जे–जस्तो सामान उपलब्ध छ, त्यसैमा आधारित भएर भूकम्पपीडितले घर बनाइरहेका छन्। जुन सरकारले पनि प्रेरित गरिरहेको छ। काठको बन्धन पनि सिमेन्ट जत्तिकै बलियो हुन्छ तर दिगोपनका लागि उपचार गरेर राख्नुपर्छ है भन्दै हिँडेको छु।’ –एक वर्षअघि भूकम्प प्रतिरोधी भवन निर्माणसम्बन्धी तालिम लिएका स्थानीय डकर्मी डबलबहादुर श्रेष्ठले भने। गारोमा राखिने काठ सामग्रीमा मोबिल, मट्टितेल मिसाइएको अलकत्रा आदिले पोतेर पानीबाट जोगाउन र किरा लाग्नबाट जोगाउन सकिने श्रेष्ठको भनाइ छ।

गोरखा भूकम्पका कारण गाउँपालिकाको वडा नम्बर ७ मा ७ सय ७२ वटा घर पूर्णरूपमा क्षतिग्रस्त भए। अहिले २ सय १४ वटा घर बनिसकेका छन्। केही बन्ने क्रममा छन्। ‘यहाँका ३० प्रतिशत मानिसहरू कि अमेरिका छन्, कि युरोपतिर छन्, केहीको चरिकोट त केहीको काठमाडौंमा घर छ। त्यसैले भत्किएका जति सबै बन्दैनन्, तर जति बन्छन् भूकम्पप्रतिरोधी बन्छन् भन्ने देखिएको छ।’ –विगु गाउँपालिका–७ का अध्यक्ष निमछिरी शेर्पाले भने। सरकारले गाउँ–गाउँमा डकर्मीलाई तालिम दिएर भूकम्प प्रतिरोधी भवन निर्माणका लागि प्रेरित गरिरहेको छ। अमेरिकी सहायता नियोगको सहयोगमा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालद्वारा सञ्चालित ‘बलियो घर’ कार्यक्रममार्फत तालिम लिएकाले विगु गाउँलाई भूकम्प प्रतिरोधी गाउँ बनाउन लागिपरेका छन्।

विगु गाउँपालिकाकै वडा नम्बर ६ आलम्पुमा झुरुप्प एकैठाउँमा घर छन्। पहिले आलम्पु एक्लै गाविस थियो। पहाडको एक पाखोमा केन्द्रिकृत बस्ती जस्तो देखिने आलम्पुको फेदतिर पूर्ण थामी र उनकी श्रीमती सुखमाया थामी घरधन्दामा व्यस्त हुने गरेका छन्। भएको एउटा छोरो फ्रान्स पुगेका छन्। भूकम्प गएको साढे २ वर्ष अस्थायी टहरामा बसेका थामी परिवार अहिले सामान्य जीवनमा फर्किसकेको छ। ‘शुरूमा त भूकम्पप्रतिरोधी घर भनेको के हो के–जस्तो लागेर शुरू गर्नै सकिएन, गाउँमा डकर्मी तालिमहरू सञ्चालन हुन थालेपछि कुरा बुझियो, थोरै मात्रै विधि अपनाएर बनाउँदा घर त भूकम्प थेग्ने पो बन्दो रैछ।’ –पूर्णले भने। भूकम्प प्रभावित सरकारले दिएको ३ लाखमा घर बन्दैन भन्दै केही ठाउँमा बसिरहेको सन्दर्भमा पूर्णले भने– ‘सरकारले दिएको ३ लाख क्षतिपूर्ति होइन होला, थोरै सहयोग आएपछि पुरानै घरमा रहेका काठपात, ढुंगा जोडेर घर बनाउने हो भने के नै बढी खर्च लाग्छ र? कुरा बुझ्नचाँहि प¥यो।’ –पूर्णले भने।

उर्दी जारी गरेर बलियो गाउँ निर्माण

दोलखाको साविक चिलंखा गाविसको स्याँखु गाउँमा अहिले लहरै घरहरू बन्दै छन्। भूकम्प गएको एक वर्षसम्म यहाँ कुनै घर बनेनन् तर एक वर्षपछि गाउँमा डकर्मी तालिम भएपछि मात्रै घर निर्माणको क्रम शुरू भयो तर निकै ढिला गतिमा। गाउँमा डकर्मी तालिम लिएका स्थानीय डकर्मीहरू २÷३ सय बढी ज्याला अन्यत्र पाइने भएपछि गाउँ छोडेर हिँड्न थाले। यो क्रम २०७३ को अन्त्यसम्मै चल्यो। सोही गाउँका अगुवा लालबहादुर मगर चिलंखा पुनर्निर्माण समितिका संयोजक पनि हुन्। तालिम लिँदै गाउँका डकर्मी अन्यत्रै हिँड्न थालेपछि बलियो गाउँ निर्माणको उनको योजनामा चिन्ता थपियो। त्यसपछि उनले उर्दी जारी गरे– ‘डकर्मी तालिम लिएकाहरू गाउँ छोडेर अन्त कहीं नजानू, स्याँखु निर्माण सम्पन्न भएपछि जहाँ जाँदा हुन्छ।’ उनको उर्दीले काम पनि ग¥यो। २०७३ को अन्त्यदेखि स्याँखुमा धमाधम घरहरू बन्न थाले। ‘लालबहादुरको नेतृत्वले १ सय २५ घरधुरी रहेको यो गाउँमा अबको ४ महिनाभित्र लगभग सबै घर बन्ने भएका छन्।

उता आलम्पुमा पनि यसै गरी निर्देशनात्मक आग्रह गरेर पुनर्निर्माणलाई गति दिने प्रयास गरिएको छ। पुनर्निर्माणको गति ढिला हुनुमा तालिम प्राप्त डकर्मीले सोही स्थानमा काम नगर्नु प्रमुख कारण रहेको औंल्याउँदै वडा समितिले तालिम लिएर आलम्पुमा काम नगर्ने डकर्मीलाई सेवा सुविधाबाट वञ्चित गर्ने चेतावनीसहित गाउँमै बसेर पुनर्निर्माणलाई गति दिन आग्रह गरेको छ। वडा समितिको निर्णय अन्य वडा समितिले पनि अवलम्बन गर्ने तयारी गरिरहेको आलम्पुमा कार्यरत बलियो घर कार्यक्रमका सामाजिक विकास अधिकृत कृष्ण मोक्तानले बताए।

केही ठाउँमा अझै समस्या

सरकारले २०७५ असार मसान्तसम्म सरकारबाट उपलब्ध हुने सबै किस्ताको रकम प्राप्त गरी घर निर्माण गर्न गरेको आग्रहको प्रभावका कारण अहिले दोलखाका धेरै गाउँपालिकामा पुनर्निर्माणको गति ह्वात्तै बढेको छ। केही ढिला शुरू भएको पुनर्निर्माणको काम अहिले भने दु्रत गतिमा बढेको छ। नक्सापास र भूकम्प प्रतिरोधी घर निर्माणका लागि सुझाव माग्ने र गाउँपालिका कार्यालय तथा नगरपालिकाका कार्यालयमा आउनेको संख्या धेरै बढेको छ। यसमा सरकारले दिएको समयसीमाले ठूलो काम गरेको सो क्षेत्रमा कार्यरत इन्जिनियरहरू बताउँछन्। ‘पुनर्निर्माणको गति त बढेको छ तर समस्या रहित भने छैन’, भूकम्पप्रविधि राष्ट्रिय समाज नेपालका उपकार्यकारी निर्देशक डा. रमेश गुरागाईंले भने– ‘पुनर्निर्माणमा प्राविधिक सहयोग पुगेको ठाउँमा भूकम्प प्रतिरोधी भवन निर्माणको दर एकदमै बढी छ तर जहाँ सरकारी इन्जिनियरको

उपस्थिति न्यून छ, जहाँअन्य परियोजनाहरू सञ्चालित छैनन् र प्राविधिक सहयोग पुगेको छैन, ती ठाउँमा पुनर्निर्माणको गति अझै सुस्त छ।’

भूकम्प प्रभावितलाई बलियो घर बनाउने तरिका सिकाउने निकाय नहुँदा उनीहरू अन्योलमा जस्तै देखिन्छन् भने कतिपय ठाउँका घर निर्माण भए पनि मापदण्ड नपु¥याई निर्माण भएका छन्। कालिञ्चोक गाउँपालिका–८ सुनखानी यस्तै ठाउँ हो जहाँ बन्दै गरेका केही घरमा प्राविधिक त्रुटी पनि देखिन्छन्। ‘सुनखानीको भट्टेली गाउँका चेतबहादुर दर्जीको घर निर्माण कार्य भर्खर शुरू भएको छ। तर, ढोका राख्नुपर्ने स्थान र भुइँबन्धनमा केही प्राविधिक त्रुटी रहेको पाइएको छ’, पुनर्निर्माणमा खटिएका ओभरसियर किसानदानीले भने– ‘हामीले धेरै सम्झाउँदा पनि घर धनीहरूले नमानिराखेको अवस्था छ,यस्ता ठाउँमा सरोकारवाला सबैको ध्यानजान जरुरी छ।’

(शर्मा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालमा सञ्चार अधिकृतको रूपमा कार्यरत छन्।)

प्रतिक्रिया दिनुहोस्