फान अवार्ड चैत १६ मा

0
Shares

नेपाल चलचित्र कलाकार संघले यस वर्ष पनि फिल्म अवार्ड आयोजना गर्ने भएको छ। संघले २०७३ सालमा रिलिज भएका फिल्मलाई सामेल गरी फान अवार्ड २०७३ गर्न लागेको हो।

सोमबार पत्रकार सम्मेलन आयोजना गरी संघका अध्यक्ष रामकेशर बोगटीले आगामी चैत १६ गते फान अवार्डको दोस्रो संस्करण गरिने जानकारी गराए। बोगटीका अनुसार यस वर्ष पनि विभिन्न २४ विधामा फान अवार्ड प्रदान गरिने छ। कि एड्भरटाइजिङ एजेन्सीको सहकार्यमा हुने अवार्ड समारोह भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुनेछ। यो अवार्डमा सर्वोत्कृट फिल्म, निर्देशक, नवनिर्देशक, अभिनेता, अभिनेतृ, नवअभिनेता, नवअभिनेतृ, चरित्र अभिनेता, चरित्र अभिनेतृ, सहअभिनेता, सहअभिनेतृ, खलपात्र, हास्य कलाकार, कथा, पटकथा, संवाद, गीत, संगीत, गायक, गायिका, नृत्य निर्देशक, द्वन्द्व निर्देशक, छायाँकार, सम्पादक विधामा अवार्ड प्रदान गरिनेछ।

सोही अवसरमा चलचित्रकर्मी कल्याण कोषको अध्यक्षमा नियुक्त वसुन्धरा भुसाल, चलचित्र विकास बोर्डको सदस्यमा नियुक्त विजय देउजा, केन्द्रीय चलचित्र जाँच समितिमा नियुक्त उमेश खड्का, नेपाल विज्ञापन संघका नवनिर्वाचित अध्यक्ष रवीन्द्र (शशि) रिजाल तथा कार्यसमिति पदाधिकारीलाई बधाई र शुभकामना दिइएको थियो।