‘नेपाली जनतालाई गरिब हैन सम्पन्न बनाउ’ देउराली जनता फर्मास्युटिकल्सको २७औं वार्षिकोत्सव



भगवती तिमल्सिना

नेपाल एउटा शान्त, सुन्दर र समृद्ध बनाउनुपर्ने आम नेपालीको चाहनाको प्रतिनिधित्व गर्दै देउराली जनता फर्मास्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माले देउरालीको २७औं वार्षिकोत्सवमा बोल्दै उपराष्ट्रपति, सांसद, मेयरलगायत देशको मुहार फेर्न महत्त्वपूर्ण जिम्मेवारी पाएका व्यक्तित्वहरूलाई घचघच्याउँदै यस वर्षको वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको थियो। नेपालको निजी क्षेत्रबाट स्थापित गुणस्तरीय औषधि उत्पादनका लागि असल अभ्यास गर्ने र असल औद्योगिक व्यावसायिक संस्कृतिको विकास गर्ने लक्ष्य लिएको देउराली जनता फर्मास्युटिकल्सले आफ्नो २७औं वार्षिकोत्सव समारोह उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको थियो।

२७औं वार्षिकोत्सवको अवसरमा नेपालको निजी क्षेत्रबाट स्थापित र करिब तीन दशकको औषधि उत्पादनको अनुभव सँगालेको कम्पनीले आफ्नो उत्पादनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको गुणस्तरीयता कायम गर्दै औषधि उत्पादनमा देशलाई आत्मनिर्भताको बाटोमा अग्रसर गर्नसमेत कम्पनीले विज्ञान र प्रविधिको विकासलाई उच्च प्राथमिकतामा राखेको फर्मास्युटिकल्सका कार्यकारी निर्देशक शर्माले जानकारी गराउनुभयो।

उहाँले नेपाली जनतालाई आवश्यक पर्ने गुणस्तरीय औषधि स्वदेशमै उत्पादन गर्दै विदेशी कम्पनीहरूसँग प्रतिस्पर्धा गर्ने क्षमतासहितको व्यावसायिक विकास गर्न कुशल व्यवस्थापकीय नीति अवलम्बन गर्ने सत्प्रयास जारी रहेको समेत जानकारी गराउनुभयो।

२७औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा ‘देउरालीयन्स रन’ नामक म्याराथन दौड प्रतियोगिताको आयोजना गरिएको थियो। कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीको सहभागितामा काठमाडौंको हात्तीसार, कमलपोखरीबाट शुरू गरी कम्पनीको कारखाना कार्यालय, टोखा नगरपालिका वडा नं. ४ धापासीमा प्रतियोगिताको समापन गरिएको उक्त दौडमा प्रतियोगितामा कम्पनीका १ सय २५ कर्मचारीले सक्रिय सहभागिता जनाएका थिए।

सो प्रतियोगितामा पुरुषतर्फ सुरज खड्का र विवेकचन्द्र राई क्रमशः प्रथम एवं द्वितीय स्थान हासिल गर्न सफल भएका थिए भने महिलातर्फ दीपा श्रेष्ठ प्रथम र रूपा श्रेष्ठ द्वितीय स्थान हासिल गर्न सफल भएका थिए।नेपालका उद्यमीले पनि विश्वको बदलिँदो परिवेशअनुसार उच्चगुणस्तर कायम गर्न गुणस्तरीय औषधि उत्पादनका लागि असल अभ्यास गर्ने र असल औद्योगिक व्यावसायिक संस्कृतिको विकास गर्ने लक्ष्य लिएको देउराली जनता फर्मास्युटिकल्स प्रालिको आफ्नो २७औं वार्षिकोत्सवको पुनित अवसरमा नेपालको सरकारी, औद्योगिक, व्यवसायिक र अनौपचारिक क्षेत्रमा कार्यरत सम्पूर्णलाई सहयोग र सद्भावका लागि कम्पनीको तर्फबाट शर्माले आभार प्रकट गर्नुभएको थियो।

उहाँले कार्यक्रममा बोल्दै भन्नुभयो– ‘अब नेपालीलाई माग्ने हैन सक्षम बनाउ।’ कामका लागि खाडी मुलुक पठाउने नभई युरोप, अमेरिका पठाउ र नयाँ सीप सिकाएर देशमै स्वरोजगारको स्थिति सिर्जना गर्न उपराष्ट्रपति पुन र सांसद ईश्वर पोखरेललाई आह्वानसमेत गर्नुभयो।

उहाँले उद्योग व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउँदै नेपाल र नेपाली जनताको स्वाभिमानको सम्मान गर्नसमेत आगामी सरकारका लागि सुझाव दिनुभयो। अब नेपालीलाई गरिब हैन धनी कसरी बनाउने भन्नेबारेमा सरकाको ध्यान पुग्नुपर्ने कुरामा शर्माले जोड दिनुभयो। ‘हामी जस्ता देशकै लागि केही गरौं भनेर संघर्षरत युवा उद्यमीको जिम्मेवारीमा विकास सुम्पने हो भने आगामी १० वर्षभित्र कोही पनि व्यक्ति गरिब हुन्न र देशमा राजस्व नै बजेटको मूल आधार बन्नेछ।

शान्त, सुन्दर र समृद्ध नेपाल हामी सबैको चाहना हो’, शर्माले भन्नुभयो–
‘हाम्रो परिकल्पनाअनुसारको सभ्य, शालीन र समुन्नत नेपाल बनाउन श्रमको सम्मान गर्ने, स्वस्थ्य जीवनयापनको संस्कार विकास गर्ने र औद्योगिक लगानी प्रवद्र्धन गर्ने वातावरणको सिर्जना गर्नु अपरिहार्य रहेको यस ऐतिहासिक अवसरमा हाम्रो यो सानो प्रयत्नले हामी सबैलाई असल औद्योगिक सम्बन्ध र वातावरण कायम गर्न प्रेरणा मिलोस् भन्ने आशयले समेत हामी वार्षिकोत्सव समारोह आयोजना गर्ने गर्दछौं।

देशमा कामको सम्मान गर्न, उत्पादन र उत्पादकत्व बढाउन, कार्यथलोमा असल कार्य संस्कृतिको विकास गर्न र सम्पूर्ण कर्मचारिको सहभागिताको विकास गर्न एवं व्यावसायिक एकता र सहकार्यको माध्यमबाट दिगो औद्योगिक र आर्थिक विकासतर्फ अग्रसर हुन प्रेरणा मिलोस् भन्ने शुभ सन्देश संवाहन गर्ने थप अपेक्षाका साथ यो समारोह आयोजना गरिएको हो।

यस ऐतिहासिक अवसरले मुलुकका औद्योगिक प्रतिष्ठानहरूको प्रवद्र्धन गर्दै देश दु्रत गतिमा आर्थिक विकासतर्फ अग्रसर हुने र विकासको नयाँ चेतना प्रवाह गर्ने अपेक्षा गर्दछौं। नेपाल समुन्नत बनाउनका लागि लगानी प्रवद्र्धन गर्ने वातावरणको सिर्जना गर्नु अपरिहार्य रहेको यो ऐतिहासिक अवसरमा नेपालको औद्योगिक विकास र उत्पादन वृद्धि गर्ने, निर्यात प्रवद्र्धन गर्ने, उद्यमशीलताको विकास गर्ने र कुल गार्हस्थ उत्पादनमा आद्यौगिक क्षेत्रको अंश बढाउने दिशामा सहज वातावरण सिर्जना गर्न सहयोग पुग्ने कार्यमा सक्रिय होऔं भन्ने आह्वान गर्दछौं।’

नेपालमा औषधि उत्पादनको शुरूआत गरी नेपाली औषधि उद्योग देउराली जनता फर्मास्युटिकल्स प्रालीले नेपालको ठूलो धनराशी बिदेसिनबाट रोक लगाएको छ। नेपालमा देउराली जनता जस्तै झण्डै एक दर्जन औषधि उत्पादक कम्पनीहरू स्थापित भएको अवस्थामा देउराली जनताले बर्सेनि विशेष कार्यक्रम गरी कम्पनीको वास्तविकता सर्वसाधारण समक्ष प्रस्तुत गर्ने गरेको छ।

विसं २०४५ सालमा स्थापना भई २०४७ सालबाट औषधि उत्पाद शुरू गरेको देउराली जनताले २०५२ सालबाट अत्याधुनिक प्रविधिहरू भित्त्याउन शुरू गरेको थियो। यस कम्पनीले विसं २०६० सालको मंसिरमा नेदरल्यान्डको गुणस्तर निर्धारण गर्ने संस्था डीएनभीबाट आईएसओ १४००१ र आईएसओ ९००१ मा प्रमाणपत्र प्राप्त गरेको थियो।

नेपालमा अत्यावश्यक औषधिलगायत मुटु रोग, नसा रोग, चर्म रोगलगायत अन्य मानव रोगको उपचारमा आवश्यक औषधि उत्पादन गर्ने यस कम्पनीले अन्तर्राष्ट्रियस्तरको प्रविधि आईएसओ १४००१ र आईएसओ ९००१ तथा विश्व स्वास्थ्य संगठन जीएमपी प्रमाणीकरण गरी नेपालमा उच्च गुणस्तरका औषधिको उत्पादन गर्दै विगतका वर्षहरूमा उपलब्ध गरेको प्रगतिको झलक प्रस्तुत गरेको थियो।

आईएसओ १४००१ र आईएसओ ९००१
नेदरल्यान्डको डीएनभी नामक अन्तर्राष्ट्रिय संस्थाले हाम्रो कम्पनीको उत्पादन प्रविधि, गुणस्तर व्यवस्थापन प्रविधि एवं यस कम्पनीका सबै उत्पादन अन्तर्राष्ट्रियस्तरको गुणस्तरीयतालगायत कम्पनीको वातावरणीय व्यवस्थापन प्रविधि एवं त्यसको व्यवस्थापनको अवधारणाबमोजिम भएको व्यहोरा प्रमाणित गरी नेपालमा यस कम्पनीलाई पहिलोपटक मिति २०६० मंसिर २१ गतेका दिन आईएसओले दुवै प्रमाणपत्र प्रदान गरेको छ। यस कम्पनीको प्रयासले नेपाली उद्योगी पनि विश्वको बदलिँदो आर्थिक परिवेशमा उच्च गुणस्तर कायम गर्दै वातावरणको संरक्षणमा आफ्नो भूमिका निर्वाह गर्न समर्थ छन् भन्ने कुरा प्रमाणित गर्न सफल भएको छ।

विश्व स्वास्थ्य संगठन जीएमपी
यस कम्पनीले युगअनुसारको प्रविधि र उत्पादनलाई बहुराष्ट्रिय कम्पनीहरूसँग समेत प्रतिस्पर्धा गर्न सक्ने बनाई नेपाली जनतालाई उच्च गुणस्तरीय उत्पादन दिन सफल भई विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड विश्व स्वास्थ्य संगठन जीएमपी प्रमाणपत्र प्राप्त गरिसकेकोे छ। यस प्रमाणपत्रले विश्व परिवेशको तुलनामा नेपालमा पनि अन्तर्राष्ट्रियस्तरको औषधि उत्पादन हुन्छ भनी प्रमाणीकरण गरिदिएको छ।

उत्पादन कारखाना र प्रविधि
विश्व स्वास्थ्य संगठनको निर्देशनबमोजिमको कुशल औषधि उत्पादन प्रक्रिया पूरा भएको कारखाना भवनमा जडित अत्याधूनिक उपकरणबाट उच्च गुणस्तरीय विभिन्न ३ सय २० थरीका औषधि स्वदेशमै उत्पादन गरिरहेको छ। यसका साथै यस कम्पनीले मुटु रोग, नशासम्बन्धी रोग, मधुमेह, चर्म रो लगायत नेपालमा देखापर्ने सबैजसो सरुवा रोगको उपचारमा आवश्यक पर्ने उच्च गुणस्तरका औषधि उत्पादन गरिरहेको छ।

उत्पादन, विकास तथा अनुसन्धान केन्द्र
यस कम्पनीको अत्याधुनिक उच्च वैज्ञानिक उपकरणले युक्त अनुसन्धान तथा विकास विभागमा यस कम्पनीका सम्पूर्ण कच्चा पदार्थ, सहायक कच्चा पदार्थ र कम्पनीबाट उत्पादित औषधिको गुणस्तरको परीक्षण गर्नुका साथै नेपालमा अत्यावश्यक औषधिको विकास र अनुसन्धान गरिरहेको छ।

यस संस्था अनुसन्धानका कार्यक्रमहरूलाई औषधि उत्पादन तथा परीक्षण गरी उच्चगुणस्तरीय औषधिको अनुसन्धान र विकासमा एक नयाँ आयाम थप्न सफल भएको छ। नेपालमा औषधिको उत्पादन र विकास गर्न आवश्यक दक्ष जनशक्ति र प्रविधि विकास गर्ने उद्देश्यले यस कम्पनीले आफ्नो अत्याधुनिक उपकरणयुक्त नयाँ अनुसन्धानशाला निर्माण गरी आफ्नो व्यावसायिक सफलता वृद्धि गर्न प्रयत्न गरिरहेको छ।

यसका साथै नेपालमा विज्ञान र अनुसन्धानको विकासका लागि अविछिन्नरूपमा आफ्ना प्रयत्नलाई प्रयोग गर्दै औषधिको अनुसन्धान र विकासमा नयाँ आयाम थपेको छ। दक्षिण एसियामै उत्पादन नभएका औषधिसमेत यस कम्पनीले नेपाली जनमानस समक्ष प्रस्तुत गरिरहेको कुरा विदितै छ।

बजार व्यवस्थापन
हाल यस कम्पनीले आफ्ना विभिन्न ३ सय २० थरीका उत्पादनलाई नेपाली बजारमा बिक्री–वितरण गरिरहेको छ। यस उद्योगको जडित क्षमतालाई ६५ प्रतिशत मात्र उत्पादन कार्यमा प्रयोग भइरहेकाले सो बाँकी रहेको जगेडा ३५ प्रतिशत उत्पादन क्षमतालाई यस कम्पनीले हाल विकासको चरणमा रहेको विभिन्न अत्यावश्यक औषधि, नशा रोग, मनोचिकित्सालगायतका औषधिहरू उत्पादन गरी बिक्री–वितरण गर्ने लक्ष्य लिएको छ। देशको आयात नीति र सहजै विदेशी कम्पनीलाई बजार प्रवेश गर्न दिने सरकारी व्यवस्थाले एवं स्वदेशको कमजोर राजनैतिक तरल अवस्थाले गर्दा नेपालमा निर्बाधरूपमा छिमेकी तथा तेस्रो मुलुकबाट सरलरूपमा आयातित औषधिसँग स्वदेशी उद्योगले प्रतिस्पर्धा गर्न सकिरहेका छैनन्। नेपालबाट छिमेकी मुलुक तथा अन्य मुलुकमा निकासी गर्न धेरै नै जटिल भएकाले छिमेकी मुलुकबाट सजिलै भित्रिएका औषधिले हाम्रो बजारमा अधिपत्य जमाएको छ। छिमेकी मुलुकको नीति–नियमको आधारमा नेपालमा उत्पादित औषधि निर्यात गर्न असम्भव प्रायः भएको छ। यदि नेपाल सरकारले विदेशी मुलुकमा निर्यातको नीतिमा सरलीकरणका लागि पहलकदमी गरिदिए नेपालमा मात्र नभई तेस्रो मुलुकमा समेत गुणस्तरीय औषधि बिक्री–वितरण गर्नसमेत नेपाली कम्पनी सक्षम छन्। आशा गरौं अब बन्ने नयाँ सरकारले यसमा केही पहलकदमी कार्य गर्नेछ।

उद्देश्य र नीति
नेपाली बजारमा विदेशी औषधिले एकछत्ररूपमा बजार ओगटेको अवस्थामा ४५ प्रतिशत नेपाली औषधि रहेको यस अवस्थामा आयातलाई प्रतिस्थापित गर्दै नेपालमै निर्मित औषधिले करिब ४५ प्रतिशत आयातलाई प्रतिस्थापना गर्न सक्षम भएका छन्। बाँकी ५५ प्रतिशत अझै पनि विदेशी कम्पनीकै पोल्टामा राखिदिने सरकारी नीतिका कारणले नेपाली कम्पनीहरूले अन्तर्राष्ट्रिय बजारका औषधिलाई प्रतिस्थापित गर्दै अगाडि बढ्न धेरै समय लागिरहेको छ।

कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले नेपालका शहरी एवं ग्रामीण क्षेत्रमा देखापरेका विभिन्न प्रकारका रोग र तिनीहरूको उपचारका लागि, स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रमबाट विशेष गरी विपन्न वर्ग र दुर्गम भेगमा रहेका ग्रामीण जनतालाई समेत स्वास्थ्यको बारेमा जनचेतना तथा निःशुल्क स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि उपलब्ध गराई सहयोग पुर्याइरहेको छ।

मानवीय संसाधनको स्थिति
यस कम्पनीमा हाल विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट उच्च ज्ञान हासिल गरेका दक्ष जनशक्तिह सेवारत छन्। समय–समयमा कम्पनीले आफ्ना कर्मचारीको दक्षता, ज्ञान र सीपको वृद्धि गर्नका लागि कम्पनीको विभिन्न तहका कर्मचारीलाई तालिममा सहभागिता गराई (स्वदेश एवं विदेशमा सञ्चालित) कम्पनीको उत्पादनको गुणस्तर र उत्पादकत्व अभिवृद्धि गराउन कम्पनीले अनवरत प्रयत्न गरिरहेको छ।
हाल यस कम्पनीमा अतिदक्ष प्राविधिक कर्मचारीसहित कुल ४ सय ५० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका र हरेक वर्ष यो संख्या वृद्धि हुँदै जानु एउटा सुखद पक्ष रहेको कार्यकारी निर्देशक शर्मा बताउनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्