रक्तकाली शिक्षण प्रतिष्ठानको ३८औं वार्षिकोत्सव



विसं २०३७ सालमा स्थापित रक्तकाली शिक्षण प्रतिष्ठान एउटा शैक्षिक उद्देश्य बोकेको शिक्षण संस्था हो। झण्डै साढे ३ दशक इतिहास बोकेको यो संस्थाले आफ्नो उद्देश्यअनुसार लामो फड्को मारिसकेको छ। प्रतिष्ठानअन्तर्गत हाल ह्वाइटफिल्ड विद्यालय, ह्वाइटफिल्ड कलेज, सेन्ट्रल कलेज अफ बिजिनेस मेनेजमेन्ट, स्राइन प्रि–स्कुल, ह्वाइटफिल्ड आवासिय मावि जस्ता शैक्षिक संस्थाबाट विद्यार्थीलाई शिक्षा दिइरहेको छ। विसं २०५३ बाट प्लस टु, २०५९ बाट बीबीएस र २०६८ बाट प्रतिष्ठानले बीबीएसमेत सञ्चालन गरिरहेको छ। यस प्रतिष्ठानका संस्थापक निर्देशक गोपालकृष्ण श्रेष्ठ र दुर्गा श्रेष्ठको पहलमा आजभन्दा ३८ वर्षअगाडि स्थापित यो संस्था पूर्णतः शिक्षा विकासमा अहिले पनि तल्लिन छ। स्थापना दिवसको अवसरमा प्रतिष्ठानले आफ्नो ३८औं वार्षिकोत्सव मनायो। कार्यक्रमको उद्घाटन संस्थापक निर्देशक गोपालकृष्ण श्रेष्ठ र विद्यालयकी संस्थापक प्रिन्सिपल दुर्गा श्रेष्ठले गरेका थिए। यस अवसरमा प्रतिष्ठानले अभिभावकको समुपस्थितिमा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो। जसमा विद्यार्थीले वर्षभरि सिके⁄गरेका अतिरिक्त क्रियाकलापमा आधारित सबै विषयका विषयगत स्टल राखेका थिए। कार्यक्रमको पहिलो चरणमा विद्यार्थीबाट तेक्वान्दो खेलको प्रदर्शन गरेका थिए ।


दोस्रो चरणमा विद्यार्थीहरूका नृत्य, गीत, नाटक तथा अर्केस्ट्राको प्रस्तुति रहेको थियो। विद्यार्थीले संगीत शिक्षकको सहायताले पाकिस्तानी, भुटानी, बंगलादेशी आदि सार्क राष्ट्रिय संस्कृति झल्किने नृत्य प्रस्तुत गरेका थिए। यस्तै यनीहरूले बालविवाहमा आधारित मार्मिक गीतिनाटक ‘ठूली’ समेत प्रस्तुत गरेका थिए। ‘हामी अहिले पनि यस संस्थामा काम गरिरहँदा जवान छौं जस्तो लाग्छ, जीवनमा हरेस खानुहँुदैन, सधैं सक्रिय रहनुपर्छ, बदलिँदो समय र परिस्थितिसँगै प्राविधिक शिक्षा पद्धतिअनुसार विद्यार्थीलाई शिक्षा दिनु हाम्रो कर्तव्य हो’, संस्थापक श्रेष्ठले भने– ‘यो विश्वव्यापीकरणका कारण देश–विदेश सबै ठाउँमा बिक्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नु कुनै पनि शैक्षिक संस्थाको कर्तव्य हो।’ वर्षभरि विद्यार्थीले गरेका नयाँ–नयाँ रचना समेटेर वार्षिक पत्रिका ‘द रुट’ को पनि सार्वजनिक गरिएको थियो, जसमा विद्यार्थीले तयार पारेका कविता, कथा, जीवनी, अन्तरवार्ता, नाटक, गीत, गजल, चुट्किला, चित्र, रोचक जानकारी आदि विविध विधाका रचना प्रकाशित छन्।

वार्षिकोत्सवको अवसर पारी विद्यालयले देशका विभिन्न भागमा पुगेर शिक्षा विकासका लागि सहयोग पनि गर्ने गरेका छन्। सुन्दरीजल, खोकना, लुभुआदि ठाउँका विद्यालयमा छात्रामैत्री शौचालयको व्यवस्था, जुम्लाका सरकारी विद्यालयमा कम्प्युटर वितरण, पुस्तकालयमा पुस्तकको व्यवस्था तथा खेलकुदका सामग्रीसमेत वितरण गरेको छ।

विद्यालयले गीत–संगीत तथा खेलकुद (बास्केट बल, टेबुलटेनिस, हेन्डबल, जुडो, कराँते, तेक्वान्दो आदि) अतिरिक्त क्रियाकलापमा संलग्न गरी अतिरिक्त ज्ञानको क्षेत्रलाई पनि फराकिलो पार्ने काम गरिरहेको छ।

यूएस ओपन तेक्वान्दो च्याम्पियनसिपमा सहभागी

अमेरिकाको लस भेगसमा भइरहेको यूएस ओपन तेक्वान्दो च्याम्पियनसिपमा विद्यालयबाट छनोट भएका विद्यार्थीको टिमलाई गत बिहीबार वार्षिकोत्सवकै अवसरमा बिदाइसमेत गरियो। टिममा काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिका महासचिव तथा यसै विद्यालयका तेक्वान्दो प्रशिक्षक कुमार लामासहित विद्यार्थीहरू जम्याङ शेर्पा, सुप्रिया तिमल्सिना र सितु सिंह मास्के सहभागी छन्। सो च्याम्पियनसिपमा जम्याङ शेर्पा पुंसेमा खेल्दै छन् भने सुप्रिया तिमल्सिना र सितु सिंह मास्केले पनि पुंसे तथा क्रमशः गेगोरी ३८ केजी र ४१ केजीमा सहभागिता जनाउने छन्। बिदाइको क्रममा महासचिव लामाले विद्यार्थी तथा अभिभावकलाई हौसला प्रदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्