प्रअ नै राख्छन् खेताला शिक्षक



सुरेश तामाङ

पदः प्रधानाध्यापक पेसा व्यवसाय। उनी खेताला शिक्षक राखेर घरमा व्यवसाय गरिरहेका छन्। किन त यस्तो ? भन्ने प्रश्नमा उनी भन्छन्– ‘बिरामी छु काम गर्न नसकेर खेताला शिक्षक राखेको हुँ। बाग्मती गाउँपालिका–३ का डोलकेशर दाहाल जिल्लाको दक्षिणी भेगमा रहेको खानीखोला यास्पामा रहेको यास्पा आधारभूत तहका शिक्षक हुन्। करिब साढे दुई दशकदेखि उनी प्रधानाध्यापक पनि हुन्।

तर, पछिल्लोपटक झण्डै १ वर्षदेखि यास्पाका स–साना नानीबाबुले उही हेडमास्टरको क ख रा पढाउने आवाज सुन्न र अनुहार देख्नसमेत पाएका छैनन्। हो, उनलाई पछिल्लो १ वर्षदेखि सो विद्यालयमा देख्न मुस्किलै छ। विद्यालयको सट्टा उनलाई बिहानदेखि बेलुकीसम्म भट्टेडाँडामा रहेको एक पसलमा मात्रै देख्न सकिन्छ।

उनलाई पसलमा जाँड–रक्सी खाएर जुवा–तास खेल्दै हो–हल्ला गरेको अवस्थामा भने होइन। एक व्यापारीको रूपमा देख्न सकिन्छ, प्रअ दाहाललाई। उनी पछिल्लोपटक स्कुल पढाउन छाडेर किराना पसल चलाएर व्यापार गरिरहेको अवस्थामा उनलाई देख्न सकिन्छ।

विद्यालयमा प्रअ दाहाल उपस्थित नभएको र उनलाई जहिले पनि पसलमै देखिरहँदा चिन्ने जति सबैले आश्चार्य व्यक्त गर्छन्। एक स्थानीय आश्चर्य व्यक्त गर्दै भन्छन्– ‘स्कुलको हेडसर रे, बिहानदेखि बेलुकासम्म सधैं पसलमा देख्छु। स्कुलमा पढाउन जाने त कुन बेला होला खै ⁄ स्कुल र विद्यार्थीको अवस्था त बेहालै होला नि यस तत्थलाई पछ्याउँदै जाँदा विद्यालयमा आफ्नो सट्टा स्थानीय एक युवालाई खेताला शिक्षक राखेर आफू भने व्यापार गर्दै आइरहेको तथ्य खुल्यो। प्रअ दाहालले सो विद्यालयमा आफ्नो सट्टामा स्थानीय युवा केशरमान थिङलाई खेताला शिक्षक राखेको पाइयो।

प्रअ दाहालले महिनामा एकपटक मात्रै विद्यालय गएर एकैपटक महिना दिनकै हाजिरी गर्ने गरेको स्थानीयले बताए। ‘उहाँ १⁄२ महिनाको एकपटक स्कुल आउनुहुन्छ। पढाउनु हुन्न तर हाजिरी गरेर फर्किनुहुन्छ।’ –एक स्थानीयले भने। स्थानीय तह गठन भएपछि आफ्नो हाताभित्र पर्ने माध्यमिक तहको विद्यालयसम्मको अनुगमन सम्बन्धित स्थानीय तहले गर्नुपर्ने व्यवस्था छ।

लामो समयदेखि आफ्नै कार्यक्षेत्र हाताभित्र खेतला शिक्षकबाट पठनपाठन भइरहेको जस्ता गतिविधि भए तापनि स्थानीय तहको पदाधिकारीहरू थाहा नपाएको जस्तो गरिरहेका छन्।

स्थानीय अभिभावकले व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर घुम्बा र वडा–३ का वडा अध्यक्ष विष्णु तिमल्सिनाको मिलेमतो भएको आरोप लगाएका छन्। अध्यक्ष तिमल्सिनाले यस विषयमा आफू पनि जानकार रहेको बताए। उनले भने– ‘यो कुरा मकहाँ पनि आएको हो। मैले सरसर्ती बुझ्दा उहाँ बिमारी भएर आराम गरेको भन्ने कुरा बुझियो। आफू बिमारी बिदामा बस्दा स्कुलको पठनपाठनमा समस्या नहोस् भनेर आफ्नो सट्टा राखेको भन्ने भनाइ पाइयो।’


नियमअनुसार आफ्नो सट्टामा जस्तोसुकै अवस्था आए पनि कुनै खेताला शिक्षक राख्न पाइँदैन। जिल्ला शिक्षा कार्यालयले पनि जिल्लाभर सञ्चालनमा रहेको सबै विद्यालयमा कोही पनि शिक्षकले खेताला शिक्षक राखेको छैन भनेर दाबी गरेको छ।

तर, उही शिक्षक जो बिमारी भएको र आराम गर्ने नाममा व्यापार गर्दै आफ्नो सट्टा खेताला राखेको प्रअ दाहाल स्वीकार्छन्। उनले केसम्म भनेका छन् भने– आफू जिल्लातिर बैठकमा जाँदा पनि खेताला राख्ने
गरेको बताए।

‘स्कुलको पठनपाठनमा समस्या नआओस् भनेर म कतै निस्कँदा मेरो सट्टामा कसैलाई छोडेर जान्छु, उनले भने– ‘म जिल्लातिर बैठकमा जाँदा पनि सट्टामा दिएर जाने गरेको छु।’

६ महिनाअघि मात्रै पत्थरीको शल्यक्रिया गरेको र डाक्टरको सल्लाहअनुसार आरामका लागि बिदा बसेको बताउँदै उनले भने– ‘मेरो पत्थरीको अप्रेसन गरेको हो ६ महिनाअघि। डाक्टरकै सल्लाहमा आरामका लागि बिदामा बसेको हुँ।’ बिरामी परेर बिदामा बस्नुपरे जिल्ला शिक्षा कार्यालयको स्वीकृत लिनुपर्ने प्रावधान छ।

आफू बिदामा बस्दा विद्यालय व्यवस्थापन समितिले नै निर्णय गराएर आफ्नो सट्टामा शिक्षकका रूपमा स्थानीय एक युवालाई राखेको उनीले दाबी गरे। ‘विद्यालय व्यवस्थापन समितिले नै मेरो सट्टामा स्थानीय शिक्षक राखेको हो। स्नातक पास गरेका शिक्षकलाई समितिले नै राखेको हो।’ –उनले भने।

पछिल्लो समयमा भने उनले आफू गोल्डेन हेनसेकमा जाने निर्णय गरेकाले गर्दा २⁄३ महिनाका लागि स्कुल नजाने बताए। उनले भने– ‘२४ वर्षसम्म अस्थायी शिक्षक भएर काम गरें। रोगी पनि छु। अब सरकारको गोल्डेन हेन सेकमा जाने निर्णय गरेको छु।’

उनले आफूले सो निर्णय लिँदै राजीनामा गर्ने सोच बनाउँदा निर्वाचन आचार संहिता लागू भएकाले राजीनामा गर्न समय लागेको र त्यो समय पनि विद्यालय पढाउन नगएको बताए। उनले अब आचार संहिता फुकुवा भएको भन्दै चाँडै नै राजीनामा गर्ने बताए।

जिल्ला शिक्षा कार्यालय ललितपुरका जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनालले यस विषयमा बुझ्ने बताए। उनले भने– ‘यस विषयमा मलाई रिपोर्टिङ भएको छैन। के रहेछ विद्यालय निरीक्षक (विनि) मार्फत म बुझ्छु।’

त्यस्तै जिल्लाभरि सञ्चालनमा रहेको कुनै पनि विद्यालयमा खेताला शिक्षक नरहेको र भए खबर गर्न उनले सबैलाई आह्वान गरे । ‘जिल्लाभरिको कुनै पनि स्कुलमा खेताला शिक्षक छैनन् भनेर मैले बार–बार भनिरहेको छु, उनले भने– ‘खेताला शिक्षक भेटेमा खबर गर्नुहोस्। नियमअनुसार कारबाही हुन्छ।’

खानीखोलाको यास्पामा तामाङ बस्तीलाई लक्षित गर्दै सो विद्यालय सञ्चालनमा छ। २८⁄२९ घरधुरी रहेको बस्तीको २५ जना जति स–साना बालबालिका यसै विद्यालयमा पढ्छन्। ३ कक्षासम्म पठनपाठन हुने यस विद्यालयमा एक जना ईसीडी र अस्थायी शिक्षकको दरबन्दी रहेको छ। प्रअ दाहाल यस विद्यालयका अस्थायी शिक्षक हुन्।

प्रतिक्रिया दिनुहोस्