काठमाडौंमा ढलबाट बिजुली !



सुरेश तामाङ

हावा, ग्यास फोहोरबाट बिजुली उत्पादन भएको सुनेकै विषय हो। तर ढलबाट पनि बिजुली निस्कन्छ भन्ने धेरैलाई पत्यार नलाग्न सक्छ। तर अब राजधानी उपत्यकामा ढलबाट नै बिजुली निस्किने भएको छ। त्यसै खेर गइरहेको फोहोरबाट अब बिजुली निकाल्ने प्रक्रियासमेत अगाडि बढेको छ। तोकिएको समयभित्रै काम सम्पन्न भएको खण्डमा हामीले चाँडै यो पनि देख्न सक्छौं। काठमाडौं उपत्यकावासीका घरघरबाट निस्किएका फोहोर संकलन गर्दै बिजुली निकाल्ने योजनास्वरूप आयोजना कार्यान्वयन निर्देशनालयले काम अगाडि बढाएको छ।

सन् २०१८ सम्म यो योजना सम्पन्न गर्ने गरी एसियाली विकास बैंक र नेपाल सरकारको २ सय ३६ मिलियन अमेरिकन डलर बजेट विनियोजन भइसकेको छ। उपत्यकाको विभिन्न स्थानमा बनिरहेको ढल प्रशोधन केन्द्रमा विभिन्न प्रक्रियाबाट ढलको प्रशोधन हुनेछ। प्रशोधनकै क्रममा उत्पन्न हुने ग्याँसबाट बिजुली उत्पादन गर्ने योजना रहेको निर्देशनालयका प्रवक्ता लीला ढकालले बताउनुभयो।

निर्देशनालयले विभिन्न ठाउँमा ठेकेदार कम्पनी नियुक्त गर्दै निर्माणको काम पनि अगाडि बढाइसकेको जनाएको छ। यस योजना सम्पन्न भइसकेपछि उपत्यकावासीका घर–घरबाट निस्केको ढल सीधै खोलामा मिसिएको पाइनेछैन। विभिन्न प्रशोधन केन्द्रमा प्रशोधन भएर बिजुली निकालेमा मात्रै खोला र नदीमा मिसिनेछ।

गुह्येश्वरी, सल्लाघारी, कोड्कु, धोबीघाट र गोकर्णमा निर्देशनालयले ढल प्रशोधन केन्द्र बनाउने काम अगाडि बढाइसकेको हो। गुह्येश्वरी र धोबीघाट दुई ठूला प्रशोधन केन्द्र हुने र सल्लाघारी, कोड्कु र गोकर्णमा बन्ने प्रशोधन केन्द्रलाई भने विशेष युनिटका रूपमा निर्माण गरेको बिजुली निकाल्ने योजना निर्देशनालयले राखेको छ।

बिजुली निकाल्ने पनि दुई ठूला प्रशोधन केन्द्रबाटै गरिने निर्देशनालयले जनाएको छ। डिजाइन गर्दा सानो साइजको डिजाइन भएकाले अरूमा बिजुली निकाल्ने क्षमता नराख्ने र प्रविधि पनि जडान नहुने निर्देशनालयको दाबी छ।

निर्देशनालयले गुहेश्वरीस्थित प्रशोधन केन्द्रको क्षमतालाई अभिवृद्धि गरिरहेको छ गुह्येश्वरीको हाल १ करोड ६० लाख लिटर फोहोर पानी प्रशोधन गर्न सक्ने क्षमता रहेकाले पहिलेको क्षमतालाई दोब्बर बनाएर बिजुली निकाल्न निर्देशनालय तम्सिएको छ। निर्माण सम्पन्न भइसकेपछि सो केन्द्रले ३ करोड २० लाख लिटर फोहोर पानी प्रशोधन गर्नेछ।

यसै गरी, भक्तपुरस्थित सल्लाघारी, ललितपुर बालकुमारीस्थित कोड्कु र धोवीघाटमा गरी नयाँ कुल ६ करोड ८० लाख लिटर फोहोरपानी प्रशोधन गर्न सक्ने क्षमताको केन्द्र निर्माण गर्ने योजना लिएको छ। गुहेश्वरीस्थितको केन्द्रलाई पुनःनिर्माणको जिम्मा पाएको भारतीय कम्पनी भा टेक वा ब्याग लिमिटेड्स दुई वर्षभित्र काम सम्पन्न गर्ने र १० वर्षसम्म कम्पनीले सञ्चालन गरेर हस्तान्तरण गर्ने गरी सम्झौता भएको निर्देशनालयले जनाएको छ।

गुह्येश्वरी ढल प्रशोधन केन्द्र निर्माणको काम ४० प्रतिशत सकिएको छ। अन्यमा ५ प्रतिशत मात्रै प्रगति भएको छ।गुह्येश्वरस्थित ३ करोड २० लाख लिटर फोहोर पानी प्रशोधन गरेर करिब २ सय ४० किलोवाट र करिब ३ करोड ७० लाख लिटर फोहोर पानी प्रशोधन गर्ने धोबीघाटको केन्द्रबाटमात्रै २ सय ४ किलोवाट बिजुली निकाल्ने जनाएको छ।दुवै गरी झण्डै ४ सय ५० किलोवाट बिजुली उत्पादन गर्नेछ भने यो बिजुली भने यी उत्पादित बिजुली प्रशोधन केन्द्रमै खर्च गरिने निर्देशनालयको योजना छ।

केही समयपछि काठमाडौंमा मेलम्चीबाट पानीको आपूर्ति भएसँगै फोहोर पानीको मात्रामा हुने वृद्धिलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाका ढल व्यवस्थापन आयोजनाअन्तर्गत विभिन्न स्थानमा फोहोरपानी प्रशोधन केन्द्रको क्षमता अभिवृद्धि, पुनःस्थापना र निर्माण कार्यको प्रक्रियालाई प्राथमिकताका साथ अगाडि बढाएको हो। निर्देशनालयले ढल व्यवस्थापनका लागि विभिन्न स्थानमा आधुनिक फोहोरपानी प्रशोधन केन्द्रको निर्माण गर्ने र त्यहाँबाट विद्युत् निकाल्न मिल्ने गरी गृहकार्य थालेको हो।

प्रशोधन केन्द्रसम्म फोहोर पानी ढलमार्फत् पुर्याउन हनुमन्ते, मनोहरा र खसाङखुसुङ गरी १ सय १ किलोमिटरखोलाको किनारमा इन्टसेप्टर जोड्ने काम गरिरहेको छ। यो काम निर्देशनालय आफैंले गरिरहेको छ भने बागमती, विष्णुमती, धोबीखोला, मनमतिखोलालगायतमा भने आधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिले काम गरिरहेको छ।
निर्देशनालय र समितिले हाल विभिन्न खोला र नदीका कोरिडोरमा ढलका ठूला पाइप बिछ्याउने काम गरिरहेको छ। यो काम सकिएपछि काठमाडौंभरिको ढलहरू प्रशोधन केन्द्रसम्म पुग्ने गरी ढल प्रणालीमा जोडिनेछ। प्रशोधन केन्द्रमा ढल पुगेपछि त्यसलाई विभिन्न चरणमा प्रशोधन गरिनेछ। ढल प्रशोधन गर्दा त्यसबाट ग्यास निस्कनेछ। त्यो ग्यासलाई प्रयोग गरेर बिजुली निकालिने छ।

विभिन्न स्थानमा फोहोर प्रशोधन केन्द्रको निर्माणमार्फत् नागरिकले ढलको गन्धबाट मुक्त हुन पाउने, स्वच्छ वातावरणको प्रत्याभूति गर्न पाउने, फोहोरबाट हुने रोगको दर कम हुनेलगायतका फाइदा लिन पाउने निर्देशनालयको दाबी दाबी छ।प्रशोधन केन्द्रहरूलाई दुर्गन्धरहित र सफा बनाइने बताएको छ। त्यसका लागि केन्द्रभित्र हरियाली प्रबद्र्धन गर्ने र त्यसलाई पार्ककै रूपमा विकास गर्ने अवधारणा रहेको निर्देशनालयले जनाएको छ। आधुनिक प्रविधिमार्फत् प्रशोधन केन्द्रको निर्माण हुने भएकोले प्रशोधन केन्द्र वरपर बस्ने स्थानीय र बटुवाले असजिलो अनुभव गर्न पाउँदैनन्। निर्देशनालयका प्रवक्ता ढकालले भन्नुभयो– ‘प्रशोधन केन्द्र निर्माण सम्पन्न भएपछि यस वरपर निर्धक्करूपमा गन्धरहित तवरले स्वच्छ वातावरणमा मर्निङ वाक गर्न सकिन्छ।’

प्रतिक्रिया दिनुहोस्