एकवर्षे युवा नेतृत्व अध्ययन कार्यक्रम शुरू



लिडरसिप एकेडेमी र अमेरिकास्थित युनिभर्सिटी अफ सान्डिएगो क्रक स्कुल र क्रक इन्स्टिच्युट फर पिस एन्ड जस्टिसको संयुक्त आयोजनामा एकवर्षे राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रम २०१८ शुभारम्भ भएको छ। कार्यक्रममा देशका १४ अञ्चलबाट एक पुरुष र एक महिला गरी विभिन्न राजनीतिक पार्टी, अधिकारकर्मी, विभिन्न संघ–संस्थाका प्रतिनिधि गरी २८ जना सहभागी हुनुहुन्छ। देशको पूर्वदेखि पश्चिम तथा पहाड, हिमाल र तराई तीनै क्षेत्रबाट २५ देखि ४० वर्षसम्मका सहभागी छनोट गरिएको छ।

प्रशिक्षार्थीहरूलाई सहयोग तथा मार्गदर्शनका लागि अनुभवी नेता तथा विशेषज्ञ मार्गदर्शकको एक टिम पहुँचमा हुनेछ। साथै युवा नेता–नेतृहरूको कामलाई अझै प्रभावकारी बनाउन सुरक्षा विशेषज्ञ पूर्वआईजीपी ध्रुवबहादुर प्रधान, कानुनी विशेषज्ञ वरिष्ठ अधिवक्ता अवधेशकुमार सिंह र सञ्चार विशेषज्ञ निरञ्जन अधिकारी रहनुभएको छ।

पूर्वप्रधानमन्त्री तथा यस कार्यक्रमका सम्माननीय मार्गदर्शक लोकेन्द्रबहादुर चन्दले राष्ट्रलाई नेतृत्व गर्ने नेता⁄नेतृमा नेतृत्व क्षमताको विकास गर्नुपर्नेमा जोड दिँदै यस्ता खालमा कार्यक्रमले नेतृत्व विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। आफूले राजनीतिक करियर शुरु गर्दा नेतृत्व विकासका लागि कुनै संघ–संस्था तथा कार्यक्रम नरहेको स्मरण गर्दै उहाँले यस्तो अवसर पाउने नेता नेतृले राष्ट्रको विकासमा योगदान गर्न आग्रह गर्नुभयो। ‘राष्ट्रमा विभिन्न भूगोल, समुदाय, विभिन्न विचारका व्यक्तिहरूबीच सद्भाव बढाउन यस्तो कार्यक्रम सहयोगी हुने मेरो विश्वास छ–’ –उहाँले भन्नुभयो। नेपाली कांग्रेसकी नेतृ तथा पूर्वशिक्षामन्त्री चित्रलेखा यादवले नेता नेतृले जनचाहनालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिनुभयो। सही निर्णय गर्न सक्ने क्षमता नेतामा हुनुपर्छ। नेतृत्व कुनै क्षेत्र वा समुदायको मात्र हुनुहुँदैन। ‘नेता–नेतृले पहाडी, हिमाल, तराई सबै क्षेत्रका जनताको भावना र संवेदनशीलता बुझ्न सक्नुपर्छ।’ –उहाँले भन्नुभयो।

नेकपा माओवादी केन्द्रकी सांसद तथा पूर्वखेलकुदमन्त्री कमला रोक्काले नेपालमा राजनीतिक परिवर्तनसँगै महिलाहरू पनि राजनीतिको अग्रपंक्तिमा आउन थालेको र तर उहाँहरूमा नेतृत्व क्षमताको विकास आवश्यक रहेको बताउनुभयो। नेकपा एमालेकी नेतृ तथा पूर्वसांसद रत्ना गुरुङले नेपालका राजनीतिक दलको नेतृत्व वर्गमा उदीयमान नेता नेतृलाई अवसर दिनुपर्छ भन्ने सोचको अभाव रहेको अनुभव सुनाउँदै युवाहरूले आफूमा क्षमता अभिवृद्धि गरी आफैं अगाडि आउनुपर्ने बताउनुभयो।

यूएन ओमनका नेपाल प्रतिनिधि वेनी कुसुमाले नेपाल अहिले नयाँ संरचनामा प्रवेश गरिरहेकाले यो सममया युवा पुस्ता अगाडि आउनुपर्ने बताउनुभयो। विभिन्न मुलुकका युवासँग काम गरेको आफ्नो अनुभव सुनाउँदै उहाँले नेपाली युवा नेतृत्वमा आउनुपर्ने बताउनुभयो। ‘नेतृत्वले सधैं अरूको बारेमा सोच्नुपर्छ। तपार्इंले कतिलाई नेतृत्वमा ल्याउनुभयो भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ।’ –उहाँले भन्नुभयो।

अध्ययन कार्यक्रममा सहभागी हुन बझाङबाट आउनुभएकी पूर्वसांसद तथा नेपाली कांग्रेसकी नेतृ चन्द्रादेवी जोशीले कार्यक्रमबाट नेतृत्व विकासका धेरै कुरा सिकेको बताउँदै उहाँले अवसर पाए युवा नेता नेतृ मुलुकको नेतृत्वमा आउन धेरै समय नलाग्ने बताउनुभयो।

कार्यक्रमको शुभारम्भ काठमाडौंमा भएको छ भने तीन–तीन महिनाको अवधिमा हिमाल, पहाड र तराई क्षेत्रमा कार्यक्रम हुनेछ। दोस्रो कार्यक्रम हिमाली क्षेत्रमा, तेस्रो कार्यक्रम पहाडी क्षेत्रमा र चौथो कार्यक्रम तथा ग्राजुएसन तराई क्षेत्रमा हुनेछ। यस कार्यक्रमबाट सहभागीलाई राष्ट्रका विभिन्न क्षेत्र भ्रमणको अवसर मिल्नुका साथै आपसी सद्भाव पनि वृद्धि हुने विश्वास लिइएको छ।

नेपालका युवा नेतृत्वलाई अझै प्रभावकारी बनाउन र उनीहरूमा विकसित भइरहेको नेतृत्व क्षमताको विकास, विस्तार र अभिवृद्धिका लागि यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो। कार्यक्रमले समुदाय तथा सरकारी निकायसँग अझै प्रभावकारीरूपमा काम गर्नका लागि युवा नेतृत्वलाई मिडियासँग संलग्नता, सामुदायिक समस्याको वकालत, तथा सम्बोधनजस्ता विविध विषयमा तालिम प्रदान गर्छ। कार्यक्रमले पहाड, हिमाल र तराई, विविध जातजाति, भिन्न राजनीतिक मूल्य मान्यता बोकेका युवा नेता–नेतृको एक यस्तो ठोस संयन्त्रको निर्माण गर्दै छ, जसले ती समस्याको समाधान सामूहिक प्रयासबाट गर्नेछ। ग्रामीण तथा स्थानीयस्तरमा काम गरिरहेका २५ देखि ४० वर्षको एक विशेष उमेर समूहका राजनीतिक तथा गैरराजनीतिक युवा नेता–नेतृलाई राष्ट्रियस्तरमा पहिचान दिलाउने कार्य गर्नेछ। अमेरिकास्थित युनिभर्सिटी अफ सान्डिएगो क्रक स्कुलले नेपालको द्वन्द्व व्यवस्थापनका लागि नेपालका राजनीतिक दल, नागरिक समाज र महिला नेतृहरूसँग मिलेर सन् २००२ देखि काम गर्दै आएको छ। यसको नेपालमा औपचारिक कार्यालय छैन। द्वन्द्व व्यवस्थापनमा काम गरिरहेका संघ–संस्था तथा नेतृत्वदायी भूमिकामा रहेका र उदाउँदै गरेका नेतृत्व वर्गको क्षमता अभिवृद्धि तथा अनुभव आदान–प्रदानका लागि आईपीजे नेपालमा आउने गर्दछ।

प्रतिक्रिया दिनुहोस्