थाहानगरलाई २३ लाखको स्वास्थ्य सामग्री



रोशन पराजुली⁄हेटौंडा

अपांग बाल अस्पताल तथा पुनःस्थापन केन्द्र बनेपाले मकवानपुरको थाहानगरका तीन वडाको स्वास्थ्य चौकीलाई मेडिकल उपकरण र हस्पिटल फर्निचर हस्तान्तरण गरेको छ।

आइतबार जिल्ला जनस्वास्थ्य कार्यालयमा केन्द्र निर्देशक विकासमान सिंहले जनस्वास्थ्य प्रमुख रामचन्द्र पाठकलाई २३ लाख ३० हजार बराबरका साम्रगी हस्तान्तरण गर्नुभएको थियो।

थाहानगरका चित्लाङ, आग्रा र नामटार स्वास्थ्य चौकीको क्षमता अभिवृद्धिका लागि तथा सर्वसाधारण र अपांगता भएकालाई लक्षित गरेर सामग्री हस्तान्तरण गरिएको निर्देशक सिंहले बताउनुभयो। यसबाट करिब ५ हजार सर्वसाधारण लाभान्वित हुने अपेक्षा राखिएको सिंहले जानकारी दिनुभयो। केन्द्रले गरिबीको रेखामुनि रहेका शारीरिक अपांगता भएका बालबालिकालाई यसअघि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोगमा आवश्यक शल्यक्रियासहित पुनःस्थापना र सामाजिकीकरण सेवा पुर्याउँदै आएको छ। मध्यमाञ्चल स्वास्थ्य निर्देशक मदनकुमार उपाध्यायको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौंडा अस्पताल विकास समिति अध्यक्ष रमेश गिरीलगायतको उपस्थिति थियो।

पुनःस्थापना केन्द्रले बनेपामा रहेर लामो समयदेखि दीन–दुःखीका लागि सेवा प्रदान गर्दै आएको छ। यस क्षेत्रको स्थापना कालदेखि नै वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्राडा अशोक बास्कोटालगायतको विज्ञ समूहले नेतृत्व गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्