कमला कार्की स्मृति प्रतिष्ठानको सम्मान



शिक्षासेवी स्वर्गीय कमला कार्की स्मृति प्रतिष्ठानले विभिन्न क्षेत्रका ४ जनालाई सम्मान गरेको छ। विसं २०४४ सालमा तीनथानास्थित ब्राइट फ्युचर बोर्डिङ स्कुल स्थापना गरेर सो क्षेत्रमा शिक्षाको शुरुआत गर्नुभएका कार्कीको दोस्रो स्मृति दिवसको अवसरमा ४ जनालाई सम्मान गरेको हो। सम्मानित हुनेहरूमा मातातीर्थ आश्रमका वसन्त गौचन र चन्द्रकला शाह, शुभेच्छा बिन्दु तुलाधार र अस्मिता खड्का रहेका छन्।

सम्मानितमध्ये गौचनलाई ६० हजार २ र अन्यलाई १० हजार १ रुपियाँबाट सम्मान गरिएको छ। काठमाडौंका पश्चिम भेगमा सञ्चालित विद्यालयमध्ये उत्कृष्ट सो विद्यालयले हालसम्म २३ ब्याचसम्म एसएलसी पूरा गरेको छ। हाल १ हजार ३ सय विद्यार्थी अध्ययनरत सो विद्यालयले पटक–पटक पश्चिम भेगकै उत्कृष्टताको पुरस्कार पाइसकेको छ।

सम्मान कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक एवं निर्देशक मोहन कार्कीले आमाको सम्झनामा स्थापित सो पुरस्कार शिक्षा र अन्य क्षेत्रमा समर्पित गरिने जानकारी दिनुभयो। साहित्यकार तुलसी दिवसको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उहाँले शिक्षा क्षेत्रमा ब्राइट फ्युचर स्कुलले गरेको योगदानको चर्चा गर्नुभएको थियो। काठमाडौं क्षेत्र नम्बर ९ का सांसद कृष्णगोपान श्रेष्ठ। क्षेत्र नम्बर ९ का प्रदेश सांसद केशव पोखरेल, पूर्वअर्थमन्त्री शंकर कोइराला, सम्मानित हुने वसन्त गौचन, चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, साहित्यकार डा. नवराज लम्साललगायतले कमला कार्कीले शिक्षा क्षेत्रमा गर्नुभएको योगदानको कदर गर्नुभएको थियो। कार्यक्रममा तीनथाना बाज खलःलाई विशेष सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्